उपत्यकाका अधिकांश सडकमा जेब्राक्रस र सडक चिह्न भेट्न मुस्किल छ । फुटपाथविहीन सडकमा जेब्राक्रस र सवारीसाधन व्यवस्थित बनाउने लेन (मार्किङ)समेत मेटिएपछि सडक ओहोरदोहोरमा थप जोखिम बढेको छ ।
सडक विभागका अनुसार सहरी सडकमा वर्षमा दुईपटक जेब्राक्रस र लेन मार्किङ गर्ने नियम छ । राजमार्गहरूमा भने वर्षमा एकपटक मार्किङ गरिन्छ । तर, लामो समयदेखि उपत्यकामा थपिएका कालोपत्रेहरूमा मार्किङ भएको छैन । सडकमा जेब्राक्रस नहुँदा बटुवालाई सडक पार गर्न कठिन हुने गरेको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ ।
यस्तै, लेन मार्किङ र जेब्राक्रस स्पष्टसँग नदेखिँदा पैदलयात्रु र सवारीचालक झुक्किने गरेका छन् । तीव्र गतिका सवारीसाधनको पेलान छलेर सडक पार गर्न पैदलयात्रु बाध्य हुनुपरेको छ । जेब्राक्रस र सडक चिह्नको अत्तोपत्तो नहुँदा कहाँबाट सडक पार गर्ने भनेर यात्रु र चालक नै अलमलमा पर्ने गरेका छन् । ‘उपत्यकाका सडक पैदलयात्रुका लागि धरापजस्ता छन्, सवारीसाधन हुइँकिएर आउँछन्, कहाँनेर जेब्राक्रस छ, अत्तोपत्तो छैन,’ बानेश्वरका राजु अधिकारीले भने, ‘मुख्य सडकमा जेब्राक्रस, ट्राफिकबत्ती, सडकबत्ती र सडक चिह्न नै छैन ।’
उपत्यकाका अधिकांश जेब्राक्रस र सडक लाइन मेटिएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले भदौको पहिलो साता ठाउँको नामसहित सडक विभागलाई जेब्राक्रस र लेन लाइन कोर्न पत्राचार गरेको थियो । तर, हालसम्म पनि सडक विभाग र डिभिजन सडक कार्यालयले लाइन कोरेका छैनन् । ‘हामीले चार महिनाअघि नै जेब्राक्रम कोर्न भन्यौँ, तर सुनवाइ भएको छैन,’ ट्रापिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले भने, ‘जेब्राक्रस र सडक लाइन नहुँदा यातायात व्यवस्थापनमा सास्ती हुने गरेको छ ।’
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायण न्हुरेले सबै जेब्राक्रस बनाउने जिम्मा सडक डिभिजनको मात्रै नभएको बताए । जिम्मामा परेका जेब्राक्रस, सडक लाइन र सडक फर्निचर मर्मतका लागि टेन्डर आह्वान गरेको उनको भनाइ छ । ‘काठमाडौंको एक सय २५ किमि सडकमा हामीले चिह्न र जेब्राक्रस बनाउने हो,’ उनले भने, ‘तीन महिनाभित्रमा सबैतिर नयाँ सडक चिह्न कोरेर सकिन्छ ।’
उनका अनुसार केही सडकखण्डको जेब्राक्रस र लाइन कोर्ने जिम्मा सडक विभाग र काठमाडौं महानगरको हो । यी निकायलाई पनि ट्राफिक प्रहरीले ठाउँको नामसहित जेब्राक्रस र लाइन कोर्न आग्रह गरिसकेको छ ।
कालोपत्रेपछि कोरिएन जेब्राक्रस र सडक चिह्न
कोटेश्वर, तिनकुने, गैरीगाउँ, शान्तिनगर, नयाँ बानेश्वरमा जेब्राक्रस नै छैन । यस क्षेत्रमा सडक कालोपत्रे गरेपछि जेब्राक्रम कोरिएको छैन । यस्तै अनामनगरदेखि न्यु प्लाजासम्म पनि जेब्राक्रस कोरिएको छैन । बागमती, धोबीखोला, विष्णुमतीलगायत करिडोर सडकमा वारपार गर्न जेब्राक्रस नै छैन । यहाँ नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने नाममा ठाउँ–ठाउँमा सडक खाल्डा पारेको छ । हाल काठमाडौंका मुख्य सडकका चोक–चोकमा बनाइएका अधिकांश जेब्राक्रस खुइलिएका छन् । केही सडकमा खुइलिएर मधुरा छन् । कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म दुई साताअघि उक्त सडकमा कालोपत्रे थपिए पनि जेब्राक्रस र सडक चिह्न कोरिएको छैन । जसका कारण सवारी चलाउने र सडक वारपार गर्नेलाई जोखिम हुने गरेको छ ।
सडकबत्ती नबल्दा अधिकांश सडक अन्धकार
राजधानीका मुख्य सडक रात परेसँगै अन्धकार बन्छन् । मुख्य सडकमा सडकबत्ती नराख्दा र पुरानो हुँदा सडक अन्धकार बनेका हुन् । सडकबत्तीका लागि ठाउँ–ठाउँमा पोल टाँगिएको भए पनि पछिल्लो समय अधिकांश बत्ती बल्दैनन् । कतिपय ठाउँमा बले पनि मधुरा छन् । उपत्यकाका मुख्य सडकमा झन्डै पाँच वर्षअघि सडकबत्ती जडान गरिएको थियो । तर, ती बल्ब पुरानो हुँदै गएपछि बिग्रिएका छन् भने कतिपय मधुरो बल्छन् । सडकबत्ती राख्ने जिम्मा नेपाल विद्युत् प्राधिकरण र काठमाडौं महानगरको हो । यी निकायले पुरानो सोलार ब्याट्री फेर्दा धेरै खर्च लाग्ने भएपछि नयाँ बत्ती जडान गर्ने योजना अघि सारे पनि काम गरेका छैनन् । अहिले चाबहिल, गौशाला, एयरपोर्ट, नयाँ बानेश्वर, तिनकुने, सिनामंगल, त्रिपुरेश्वर, कलंकी चोक, कोटेश्वरलगायत भित्री सडकका अधिकांश बत्ती बल्दैनन् ।
कोटेश्वर–भक्तपुर सडकखण्डका अधिकांश लाइट बिग्रिएका छन्, नबिग्रिएका बत्ती पनि मधुरो बल्छन् । सडकबत्ती नबल्दा रातको समयमा सवारी दुर्घटनाको जोखिम छ ।
तर, काठमाडौं महानगरका पूर्वाधार विभाग प्रमुख राम थापाले पुराना सडकबत्ती परिवर्तन गर्ने योजना अघि बढाइसकेको बताउँछन् । उनले विद्युत् प्राधिकरण र महानगरले सडकबत्ती परिवर्तन गर्ने योजना अघि बढाए पनि केही ठाउँमा मात्रै काम अघि बढेको जनकारी दिए ।
सिंहदरबारअगाडिकै जेब्राक्रस मेटिइसक्यो
कालोपत्रे थपिएका काठमाडौंका अधिकांश सडकमा जेब्राक्रस र सडक चिह्न छैन । पुतलीसडक–बागबजार क्षेत्रमा पनि अधिकांश जेब्राक्रस खुइलिएका छन् । यस्तै, लाजिम्पाट, बालाजु, भद्रकाली, सिंहदरबारअगाडि, प्रदर्शनीमार्ग, त्रिपुरेश्वर, थापाथली, कालिमाटी, कलंकी, चाबहिल, गौशाला, सिनामंगल, एयरपोर्टलगायत क्षेत्रमा पनि अधिकांश जेब्राक्रस मेटिएका छन् ।
ट्राफिकलाई पनि सास्ती
जेब्राक्रस र सडक चिह्न नहुँदा–मेटिँदा धुवाँ–धुलो र सडकको अस्तव्यस्तता खपेर ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीलाई सास्ती हुने गरेको छ । सडक चिह्न स्पष्ट नहुँदा पैदलयात्रु झुक्किने, चालकले लेन मिच्ने, जथाभावीबाट सडक पार गर्नेजस्ता समस्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जेब्राक्रस र सडक चिह्न नहुँदा ट्राफिक जाम बढेको बताए ।
‘रोड मार्किङ’ र जेब्राक्रस नहुँदा पैदलयात्रु जोखिममा
पैदलयात्रुलाई जेब्राक्रसमा पहिलो प्राथमिकता दिनुपर्ने विश्वव्यापी चलन नै हो । तर, नेपालमा भने जेब्राक्रसमै पैदलयात्रु असुरक्षित छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७८÷७९ मा उपत्यकामा चार हजार आठ सय ७२ सडक दुर्घटना हुँदा झन्डै एक सय २९ जनाको ज्यान गएको थियो । ज्यान जानेमध्ये ३९ जना पैदलयात्रु थिए । अधिकांश सडकमा जेब्राक्रस र अकासे पुल नहुँदा पैदलयात्रु जोखिममा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, सडक लेन स्पष्ट नहुँदा सवारीचालक झुक्किएर लेन मिच्ने गरेको छ । हाल उपत्यकामा लेन मिच्ने दैनिक तीन सय चालक कारबाहीमा पर्ने गरेका छन् ।