Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ मङ्सिर २३ शुक्रबार १०:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

जनमत पार्टीले समानुपातिक सांसदको टुंगो लगायो

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २३ शुक्रबार १०:०४:००

जनमत पार्टीले समानुपातिकमा पाएको सिटमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको नामावली टुंगो लगाएको छ । काठमाडौंको कोटेश्वरस्थित होटेल तपोवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाउँदै तीनवटा विषयमा छलफल गरेको छ । 

केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँचजनाको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगमा पेस गरेको सांसदको क्लस्टरमा चारजना महिला समेटिएका छन् भने एकजना मुस्लिम समुदायका छन् ।

धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् । दुईजना आदिवासी जनजाति, एक मधेसी, एक खस–आर्य र एकजना मुस्लिम समुदायको प्रतिनिधित्व रहेको जनमत पार्टीका सचिव सञ्जयकुमार यादवले जानकारी दिए ।

यस्तै, केन्द्रीय समिति बैठकले मधेस प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँड गरी प्राप्त गरेको सिटमा नाम टुंगो लगाएको हो । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारकै आधारमा क्लस्टर छुट्याउँदै सातजनाको नाम टुंगो लगाएको हो । 

मधेसी महिलाबाट बिबता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चन्दन सिंह, दलितबाट रञ्जुकुमारी खंग (खत्वे), मधेसी महिलामा अनिताकुमारी साह, मधेसी पुरुषमा पार्टीका उपाध्यक्ष वसन्तकुमार कुशवाह, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातिमा भाग्यश्रीकुमारी चौधरीलाई पठाउने निर्णय गरेको केन्द्रीय सचिव यादवले बताए । यस्तै, लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पाएको दुई सिटमा खस–आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम टुंगो लगाएको छ । 

संसदीय दलको विधान पारित

यस्तै, जनमत पार्टीले संसदीय दलको विधान बहुमतले पारित गरेको छ । केन्द्रीय समितिको बैठकले तीनवटा विषयमा छलफल गरी संसदीय दलको विधान पारित गरेको केन्द्रीय समिति सदस्य निर्मल मण्डलले बताए ।

केन्द्रीय समितिको बैठकमा सचिव सञ्जयकुमार यादवले संसदीय दलको विधान, समानुपातिक उम्मेदवारहरूको नामावली र चुनावी समीक्षासँगै आगामी कार्यनीति सम्बन्धमा प्रस्ताव पेस गरेका थिए । पेस गरिएका प्रस्तावमा बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्दै बहुमतले पारित गरेको केन्द्रीय सदस्य मण्डलले जानकारी दिए ।

बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट जनमत पार्टीलाई राष्ट्रिय पार्टी बनाउन योगदान गर्ने आमनागरिक, शुभेच्छुक र पार्टी कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेको छ । त्यससँगै वडास्तरबाट चुनावी समीक्षा प्रतिवेदन लिँदै अर्काे बैठकमा व्यापक छलफल गर्ने निर्णय गरेको छ । 

केन्द्रीय समिति बैठकमा देशभरबाट ४५ जना केन्द्रीय सदस्य सहभागी भएको र सबैले आफ्नो धारणा बैठकमा राखेका थिए । बैठकमा पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले जनताको अपेक्षा जनमत पार्टीप्रति अत्यधिक देखिएकोले जनतासँग मिलेर पार्टीलाई जिम्मेवार रूपमा अगाडि बढाउँदै लैजानुपर्ने धारणा राखेको केन्द्रीय सदस्य मण्डलले बताए।