१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०७९ मङ्सिर २२ बिहीबार ११:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नरैनापुरमा पेट्रोल पम्प सञ्चालन : हट्यो भारत र नेपालगन्ज आउने बाध्यता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २२ बिहीबार ११:१६:००

नरैनापुर गाउँपालिकामा पहिलोपटक पेट्रोल पम्प सञ्चालनमा आएको छ । पेट्रोल पम्प सञ्चालनमा आएपछि त्यहाँका सवारीचालकलाई भारतीय र नेपालगन्जका पेट्रोल पम्पको निर्भरता हटेको छ । अब त्यहाँका सवारीचालकले आफ्नै ठाउँमा पेट्रोल, डिजेल हाल्न पाउने भएका छन् । 

स्टार रिफ्युलिङ सेन्टरले नरैनापुर गाउँपालिका–५ मटेहियामा पहिलोपटक पेट्रोल पम्प सञ्चालनमा ल्याएपछि नेपालगन्ज र भारतीय पेट्रोल पम्पमा धाउनुपर्ने बाध्यता हटेको स्थानीय विनय दीक्षितले बताए । ‘पेट्रोल भर्न नेपालगन्ज र भारतीय बजार धाउनुपर्ने र बोतलको पेट्रोल प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ,’ उनले भने । 

पेट्रोल पम्पको उद्घाटन गर्दै गाउँपालिका प्रमुख इस्तियाक अहमद साहले बाँकेको सबैभन्दा दुर्गम मानिने नरैनापुरमा शिक्षा, स्वास्थ्य, सडक र बिजुलीसँगै पछिल्लोपटक पेट्रोल पम्प पनि सञ्चालनमा आएको बताए । उनले पेट्रोल पम्प सञ्चालनमा आएपछि गाउँपालिका समृद्धिको एक खुड्किला माथि उक्लेको बताए । ‘समृद्धिको खुड्किलो एकपछि अर्को गरी उक्लिँदै गाउँपालिकालाई समृद्ध नरैनापुर बनाउने अभियानमा हामी दृढ भएर लागेका छौँ,’ उनले भने । पेट्रोल पम्पका सञ्चालक रिजवान अहमद खाँले पम्पमा डिजिटल प्रविधि प्रयोग भएकाले उपभोक्ताले परिमाण, कुल मूल्य र प्रतिलिटर मूल्यबारे सहजै जानकारी पाउने बताए । 

उनले आगलागीबाट जोगाउन पम्पमा विशेष किसिमको ‘अर्थिङ’ जडान गरिएको बताए । ‘हाल आयात भइरहेका युरो–६ मापदण्डको इन्धनमा प्रज्ज्वलनशील क्षमता बढी भएर आगलागी हुने सम्भावना रहन्छ । त्यसलाई रोक्न हामीले स्पार्क नहुने व्यवस्था मिलाएका छौँ,’ उनले भने ।