मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
हदिश खुद्दार काठमाडाैं
२०७९ मङ्सिर १८ आइतबार ०८:२९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मधेसमा एमालेकाे जबर्जस्त ‘कमब्याक’ : अघिल्लो निर्वाचनमा दुई, अहिले जित्यो नौ सिट

Read Time : > 2 मिनेट
हदिश खुद्दार, काठमाडाैं
२०७९ मङ्सिर १८ आइतबार ०८:२९:००

०७२ मा जारी संविधानलाई अधुरो र संशोधनको माग गर्दै मधेसकेन्द्रित दलहरूले ६ महिने लामो मधेस आन्दोलन गरे । उनीहरूले एमाले अध्यक्ष केपी ओलीलाई मधेसमा निषेध नै गरे । त्यतिवेला मधेसमा कांग्रेसभन्दा एमालेप्रति ठूलो आक्रोश थियो । त्यसको प्रभाव ०७४ को निर्वाचनमा पनि देखियो । तर, हालै सम्पन्न निर्वाचनमा एमाले जबर्जस्त रूपमा अगाडि आएको छ ।

०७४ मा मधेसमा दुई सिटमा सीमित एमाले यसपटक प्रतिनिधिसभामा नौ र प्रदेश सभामा १५ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ । प्रत्यक्षमा मात्र नभई समानुपातिकमा पनि एमालेले मधेसबाट राम्रो भोट पाएको छ । मधेसमा प्रतिनिधिसभातर्फ ३२ सिट छ ।

०७४ को चुनावसम्म मधेस आन्दोलनको रापताप थियो । त्यसको फाइदा उठाउँदै तत्कालीन संघीय समाजवादी पार्टीले १० र राजपाले आठ सिट जितेका थिए । समानुपातिकमा पनि राम्रो सिट हात पारे । तर, ०७९ को निर्वाचनसम्म न मधेस आन्दोलनको रापताप रह्यो, मधेसको एजेन्डा नै । मधेसकेन्द्रित दलप्रतिको असन्तुष्टि र आक्रोशकै परिणाम हो अहिले एमाले र कांग्रेसले पाएको जनमत । 

चन्द्रकिशोर झा राजनीतिक विश्लेषक
एमालेलाई मधेसविरोधी बनाउन मधेसकेन्द्रित दलहरूको भूमिका ठूलो हुन्थ्यो । यो निर्वाचनमा जसपा नै एमालेसँग थियो । सुरुमा लोसपा पनि एमालेसँग थियो । अन्तिम समयमा लोसपा सत्तारूढ गठबन्धनमा गयो । त्यसकारण एमालेविरुद्धको न्यारेटिभ टिक्न सकेन । जसको फाइदा एमालेलाई भयो ।’

मधेस आन्दोलनमा सक्रिय जनकपुरका युवा नेता इन्द्रकुमार मधेशानन्द भन्छन्, ‘मधेसी जनताले मधेसकेन्द्रित दलका नेतालाई बिर्सेको होइन, मधेसीको दिलमा अझै मधेसवादी दल नै हो । तर, यो निर्वाचनमा मधेसको नाममा सत्ताको राजनीति मात्रै गर्ने नेताहरूलाई थ्रेट दिएको हो । तिमीहरू सुध्रिहाल नत्र योभन्दा पनि दयनीय अवस्था आउन सक्छ भन्ने सन्देश हो ।’ 

मधेसी जनताले मधेसको मुद्दाअगाडि बढाउन पटक–पटक मधेसकेन्द्रित दललाई मत दिए पनि उनीहरूले पूरा नगरेको उनको भनाइ छ । ‘यो निर्वाचनमा मधेसी जनताले आफ्नो मत मधेसकेन्द्रित दलमार्फत नभई सीधा केपी ओली र शेरबहादुर देउवाले नेतृत्व गरेका दललाई दिएका छन् । अब कांग्रेस र एमालेले कसरी मधेसको मुद्दा सम्बोधन गर्नछन्, त्यसले भविष्यको राजनीति केन्द्रित हुनेछ,’ उनले भने ।

मधेसकेन्द्रित दलहरूप्रति वितृष्णा फैलिनुको पछाडि सत्तामा पुगेका ती दलका नेताहरूले आफन्त, नातेदारको मात्रै स्वार्थ हेरेको गुनासो गरेका छन् । यही कारण निर्वाचनको मुखमा मधेसकेन्द्रित दलका नेता तथा कार्यकर्ता एमालेमा बढी प्रवेश गरेका थिए । ‘मधेसकेन्द्रित दलहरू कहिले कांग्रेससँग त कहिले एमालेसँग सत्तामा बसिरहे, तर मधेसका एजेन्डा उठाउन सकेनन्, सत्ताको स्वार्थमा भुलेपछि जनता मधेसकेन्द्रित दलसँग चिढिएका हुन्,’ मधेशानन्दले भने ।

चुनाव जितेपछि मधेसकेन्द्रित दलका नेता आफ्नो निर्वाचन क्षेत्र नआएको, मधेस प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म भ्रष्टाचारको आरोप लागेको, मन्त्री बनेका प्रायः नेता विवादमा परेकाले पनि मधेसी जनता असन्तुष्ट बनेको राजनीतिक विश्लेषक रोशन जनकपुरीले बताए । ‘यिनै कारण आज मधेस प्रदेशमा मधेसकेन्द्रित दलहरूको नेतृत्वमा सरकार बन्ने अवस्था रहेन,’ उनले भने, ‘मधेसकेन्द्रित दलका शीर्ष नेताहरू आफ्नै कार्यकताको घेराबन्दीमा परे । मधेसी जनताको बीचमा आउन सकेनन् ।’ 

एमाले धनुषा अध्यक्ष राजकिशोर यादव पार्टी अध्यक्ष केपी ओलीले साढे तीन वर्ष प्रधानमन्त्री हुँदा मधेस प्रदेशमा गरेको विकासलाई देखेर जनताले मतदान गरेको बताउँछन् । ‘विपक्षीले एमालेलाई मधेसविरोधी पार्टीका रूपमा प्रचार गरे । तर, त्यो भ्रम चिर्न ओलीले मधेस प्रदेशका लागि विकासका विभिन्न प्याकेज ल्याउनुभयो । विकास योजनाका सामु उनीहरूको झुटो प्रचार टिकन सकेन, ओलीको भनाइ र व्यवहार सधैँ एकनासको रह्यो, त्यसकारण जनताले विश्वास गरेर एमालेलाई साथ दिए,’ उनले भने ।

०७४ को निर्वाचनमा एमालेलाई मधेसविरोधी पार्टीका रूपमा प्रचार गरिएको थियो । ‘एमालेलाई मधेसविरोधी बनाउन मधेसकेन्द्रित दलहरूको भूमिका ठूलो हुन्थ्यो,’ अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोर झा भन्छन्, ‘तर, यो निर्वाचनमा जसपा नै एमालेसँग थियो । सुरुमा लोसपा पनि एमालेसँग थियो । अन्तिम समयमा लोसपा सत्तारूढ गठबन्धनमा गयो । त्यसकारण एमालेविरुद्धको न्यारेटिभ टिक्न सकेन । जसको फाइदा एमालेलाई भयो ।’

मधेसको एक शक्ति जसपाको साथले फाइदामा एमाले 
सत्तागठबन्धनमा आफूले मागेजति सिट नपाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीसँग हात मिलाए । जसपा र एमालेबीच तालमेल भयो । तर, एमालेसँगको तालमेलका बाबजुद पनि यादव सप्तरी २ बाट भारी मतान्तरले पराजित हुन पुगे । सो क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउत विजयी भए । त्यहाँ एमालेले सहयोग नगरेको आरोप जसपाका नेता तथा कार्यकर्ताले लगाउँदै आएका छन् । 

‘मधेसमा जसपासँगको तालमेलले एमालेलाई फाइदा भयो । तर, जसपाले त्यसको फाइदा उठाउन सकेन । चुनावी गठबन्धन बनाए पनि यी दुवै दलबीचको सम्बन्ध बलियो हुन सकेको छैन,’ जनकपुरी भन्छन्, ‘एमाले अध्यक्ष ओलीले जसपा अध्यक्ष यादवसँग चुनावी तालमेल गरे पनि एमालेका नेता तथा कार्यकर्ताले त्यसलाई स्वीकार गर्न सकेनन् ।’ चुनावअघि नै एमालेले मधेस प्रदेशमा संगठन निर्माण र सुदृढीकरणमा धेरै ध्यान दियो । तर अन्य दलले त्यसतर्फ गम्भीर भएर सोचेनन् ।