![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/collage2022-11-30-05-34-31.jpeg)
हेराल्ड कलेज काठमाडौंका तीन सय ९६ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजको दीक्षान्त समारोह–२०२२ मा स्नातक तह पूरा गरेका तीन सय ९६ जनालाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको हो ।
दीक्षितमध्ये तीन सय ६१ जना विद्यार्थी बिएससी (अनर्स) कम्प्युटर साइन्स र ३५ जना विद्यार्थी बिएससी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट विषयका रहेको कलेजले जनाएको छ । दीक्षित विद्यार्थीलाई बेलायतको उल्भर हेम्टन विश्वविद्यालयका सहउपकुलपति (प्रो भाइस चान्सलर) टिम स्टिलले प्रमाणपत्र प्रदान गरेको जनाइएको छ । कार्यक्रममा विद्यार्थीका अभिभावक, शिक्षकलगायतको उपस्थिति रहेको कलेजले जनाएको छ ।
कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल गु्रपले छात्रवृत्ति उपलब्ध गराएको जनाइएको छ । त्यसैगरी, हेराल्ड कलेजमा अन्तर्राष्ट्रिय एमबिए अध्ययन गर्नसमेत छात्रवृत्तिकोे व्यवस्था गरेको कलेजले जनाएको छ ।
दीक्षान्त समारोहमा कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश श्रेष्ठले नेपालमा उत्कृष्ट र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल रहेको बताए । यसैकारण कलेजमा अध्ययन गर्ने विद्यार्थीले भविष्यमा सजिलै रोजगारी हासिल गर्न सक्ने उनको दाबी थियो ।
कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका प्रो भाइस चान्सलर टिम स्टिलले भने, ‘म यो गौरव गर्न चाहन्छु कि विश्वविद्यालयको सोचअनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ ।’ दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उनले भविष्यमा देशका लागि उल्लेखनीय काम गर्न हौसला दिएका थिए ।
विदेशका कुनै पनि कलेजलाई सम्बन्धन दिँदा कलेजबारे अध्ययन गरेर मात्र दिने उनको भनाइ थियो । उनले भने, ‘हेराल्ड कलेज काठमाडौंलाई दिएको सम्बन्धन र यहाँको शिक्षाले नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान पुगेको मैले महसुस गरेको छु ।’
कलेजले चारवर्षे ब्याचलर अफ इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट, तीनवर्षे बिएससी (अनर्स) कम्प्युटर साइन्स र दुईवर्षे अन्तर्राष्ट्रिय एमबिए कक्षा सञ्चालन गरिरहेको जनाएको छ ।