आज जुन किसिमले पुँजी बजारको विकास भएको छ, यो सामाजिक, आर्थिक राजनीतिक रूपमा आएकोे परिवर्तनको विकसित रूप हो । आधुनिक प्रविधिको विकासले पुँजी बजारलाई जसरी अघि बढाउँदै ल्याएको छ, सेयर बजारमा लगानीकर्ताको प्रवेश पनि त्यसैगरी बढ्दै गएको पाइन्छ । अन्तर्राष्ट्रिय देशमा पनि यसको प्रभाव र चासो बढ्दै गएको छ । बाहिरी देशमा प्रविधिको विकासलाई लिएर त्यहाँका नियामक निकाय गम्भीर त भएकै छन्, सोहीअनुसारको नीति निर्माण गर्न र ल्याउन पनि उत्तिकै अघि छन् । तर, नेपालमा पुँजी बजारको बारेमा र आगामी दिनमा हुने जोमिख र नीतिलाई लिएर गम्भीर नभएको देखिन्छ ।
हाम्रो देशमा लगानीकर्ता अघिअघि र जिम्मेवार निकाय प्रविधिको क्षेत्रमा पछि–पछि छौँ । यसले भोलिका दिनमा थपिने लगानीकर्ता र नियामक निकायले बनाएको नीतिले कति धान्न सक्छ भन्ने प्रश्न उठ्छ । साथै, अर्थतन्त्रमा आउने परिवर्तनलाई लिएर गम्भीर भएको पनि खासै देखिँदैन ।त्यसो त पुँजी बजारलाई सानो कुराले विशेष प्रभाव पारेको देख्दै र भोग्दै आएका छौँ । पछिल्लो समय राजनीतिमै आएको सामान्य परिवर्तनले पुँजी बजारलाई समेत प्रभावित गर्नुचाहिँ दुःखद कुरा हो । किनकि, कुनै एउटा दलका नेताले पुँजी बजारबारे सकारात्मक–नकारात्मक जुनसुकै टिप्पणी गर्दा पनि त्यसको प्रभाव पुँजी बजारमा पर्दै आएको छ । कुनै दलको नेताले पुँजी बजारलाई लक्षित गरेर बोल्दा महिनौँसम्म बजार घटेको रेकर्ड हामीसँग ताजै छ ।
यस्तो किन हुन्छ भने तिनै राजनीतिक दलहरूले कुनै न कुनै पदमा बसेर पुँजी बजारको नीति बनाउने हुँदा त्यसको प्रभाव सेयर बजारमा पर्दै आएको मान्न सकिन्छ । विगतका दिनले पनि त्यस्तो अभ्यास गरेको देखियो र अझै देखिने सम्भावना छ । यसका लागि पुँजी बजारका नियामक निकाय लगानीकर्तालाई नै फिल्टर गरेर अघि बढ्दा मात्र केही हदसम्म कम हुन सक्ने देखिन्छ ।
पछिल्लो समय पुँजी बजार राजनीतिक इगोको कारण बन्दा लगानीकर्ता सबैभन्दा बढी निराश छन् । अर्थ मन्त्रालयको सल्लाहकार भनेको राष्ट्र बैंक हुन्छ । राष्ट्र बैंकका प्रमुख एउटा पार्टीको वा एउटा दलको हुने, अर्थमन्त्री अर्को दलको हुने, राष्ट्र बैंकले अर्थमन्त्रीलाई दिने सल्लाह सुझाव गलत हुने र त्यसैअनुसार पुँजी बजार चल्दा त्यसको असर सेयर लगानीकर्तामा पर्दै आइरहेको छ ।
राष्ट्र बैंकले ल्याउने नीतिले बजारलाई प्रभाव पार्दै आइरहेको छ । मौद्रिक नीति ल्याउँदा लगानीकर्तालाई परेको प्रभाव हामी सबैले मूल्यांकन गरेका छौँ । यस्तो किन हुन्छ ? हेर्दा सामान्य लागे तापनि यसको प्रभाव दीर्घकालीन रूपमा पर्छ । मौद्रिक नीतिमा पनि सेयर धितो कर्जामा लगाइएको बन्धनले वा अन्य कुनै कारणले बजारलाई हस्तक्षेप गरेको छ । यस्ता कारणले लगानीकर्ता सुरुवातदेखि नै प्यानिक बन्न पुगेका छन् ।पुँजी बजारमा लगानी गर्ने सम्पन्न वर्गका मात्र हुन्छन् भन्ने छैन । सेयरबाटै लगानी गरेर जीविकोपार्जन गर्नेको संख्या ठूलो छ । त्यसलाई हेरेर मूल्यांकन किन गरिँदैन भन्ने मुख्य प्रश्नको विषय हो ।
पुँजी बजार भनेको अनुत्पादक क्षेत्र होइन, उत्पादनमूलक क्षेत्र हो । यसबाट लगानी बढाएर उत्पादनमूलक क्षेत्रमा पनि लगानी बढाएका छन् । यसलाई विकास गर्न सकेको खण्डमा अझै अघि बढ्न सकिन्छ ।
सेयर बजारलाई दरिलो र राम्रो बनाउने अर्को काम भनेको विदेशी लगानी भित्र्याउनु हो । जतिसक्दो छिटो यस्तो लगानी भित्र्याउनुपर्ने हुन्छ । राजनीतिक दलले पनि आफ्नो चुनावी घोषणापत्रमा बाहिरी लगानीलाई पुँजी बजारमा ल्याउनुपर्ने कुरा विशेष रूपमा उठाएका छन् । हुन त विगतका दिनमा यस्ता कुरा बजेट र घोषणापत्रमा नआएका होइनन् । तर पनि यसपटक अधिकांश राजनीतिक दलले पनि बाहिरी लगानीलाई विशेष मुद्दा बनाएका छन् । यसले भोलिका दिनमा सुधारको आशा गर्न सकिन्छ ।
त्यसैगरी, अहिलेका धितोपत्र बोर्ड अध्यक्षले लगानीकर्तामैत्री वातावरण बनाउन काम गरिरहनुभएको छ । नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर थप्ने र शाखा विस्तारजस्ता कुराले पूर्णता पाउँदै छ । यसले पुतलीसडक र सिंहदरबारवरपर मात्र रहेको पुँजी बजार गाउँगाउँ जोड्न सफल हुने कुरा नकार्न सकिँदैन । यस्ता सामान्य र दीर्घकालीन योजनाले पुँजी बजार सुधारलाई थप बलियो बनाउने नै छ ।
अर्कातर्फ, लगानीकर्तालाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउनुपर्छ भन्ने लाग्छ । लगानीकर्ता भनेको कम्प्युटरमा बसेर सेयर किनबेच गरेको भरमा पैसा कमाउँदै छन् । यसर्थ, यिनलाई सिध्याउनुपर्छ भन्ने देखिएको छ । पुँजी बजार भनेको अनुत्पादक क्षेत्र होइन, उत्पादनमूलक क्षेत्र हो । यसबाट लगानी बढाएर उत्पादनमूलक क्षेत्रमा पनि लगानी बढाएका छन् । यसलाई विकास गर्न सकेको खण्डमा अझै अघि बढ्न सकिन्छ ।
नियामक निकाय धितोपत्र बोर्ड, जसले लगानीकर्ताको लगानीलाई सुरक्षित राख्छ, नियामक कानुनको निर्माण गर्छ, त्यस्तो निकायले पनि लगानीकर्तालाई वेलावेला अप्ठेरो पार्ने गरेको छ । लगानीकर्तासँग समन्वय नगरी, एकतर्फी रूपमा आक्रामक हुँदा त्यसको असर लगानीकर्ताले लामो समयसम्म भोग्नुपर्छ । मानौँ, बजार ३२ सयसम्मको बिन्दुमा पुग्दा बोर्डले ५१ वटा कम्पनीले गैरकानुनी रूपमा सेयर किनबेच गरेको भन्दै सार्वजनिक भएपछि त्यसको असरले बजार माथिल्लो बिन्दुमा उक्लिन सकेको छैन । अर्थात्, कम्पनीले गलत तवरले काम गरिरहेको छ भने त्यसलाई गोप्य रूपमा कारबाही गर्नुपथ्र्यो । तर, यसरी सार्वजनिक गर्दा आमलगानीकर्ताको पुँजीमाथि धक्का लागेको छ । यस्ता गम्भीर विषयमा सोचेर मात्र निर्णय लिनुपर्छ । लगानीकर्तासँग ‘इगो’ साँध्दा मारमा लगानीकर्ता नै पर्छन् । यस्तो निर्णय लिँदा नियामक निकाय गम्भीर हुनुपर्छ ।
लगानीकर्ताको सेन्टिमेन्ट दरिलो हुन आवश्यक
लगानीकर्ताको सेन्टिमेन्ट भनेको जहिल्यै पनि दरिलो नै हुनुपर्छ । नेपालका लगानीकर्ताको मात्र होइन, जुनसुकै देशका लगानीकर्तामा केही सेन्टिमेन्ट रहेको हुन्छ । यसले धितोपत्र बजारको आधार तय गर्छ । हाम्रो अहिलेको बजार शिशु अवस्थाबाट फर्किने प्रयासमा देखिएको छ । यसलाई फर्किन दिनका लागि राम्रो पोलिसी र प्रविधिमैत्री रूपमा ल्याउनुपर्छ भन्ने हामी लगानीकर्ताको जोड हो । बजारलाई नियमन गर्ने बहानामा धेरैपटक नियन्त्रण गरिएको छ । लगानीकर्तालाई स–साना कुराले असर पारिरहेको हुन्छ । त्यसैले थोरै गुमाउँदा होस् वा धेरै, डुब्ने भनेकै लगानीकर्ता हुन् ।
हामीले पुँजी बजार सुधारका लागि बुझाएका ५८ वटा बुँदामध्ये अझै १२, १३ वटा बुँदा कार्यान्वयनमा आउन बाँकी नै छन् । मार्जिन टे«न्डिङको कुरालगायत सेयर खरिद गर्दा लाग्दै आएको करलाई केही घटाउन पनि हामीले माग गर्दैै आइरहेका छौँ । यस्तै, बुक बिल्डिङको कुरा लगातार उठाइरहेका छौँ ।
अर्कोतर्फ, लगानीकर्तालाई आकर्षण गर्न भए पनि प्रविधिको विकास र नीति बनाउनमा धितोपत्रका निकायले ध्यान दिनुपर्छ । अर्को समस्या भनेको लगानीकर्ताबीचमै पनि मतभिन्नता छ । दर्ता भएका वा नभएर पनि अनेकौँ संघसंस्था, पार्टीमा लागेका लगानीकर्ताले पार्टीको भाषा सेयर बजारमा ल्याउँदा
परम्पराले पनि प्रभाव पारेको छ ।
सेयर बजारलाई व्यवसाय बनाउनेको जमात ठूलो छ । सेयर बजार भनेको व्यावसायिक होइन, यसलाई साइट जब बनाउने काम गर्नुपर्छ भन्ने धारणा हो ।
लगानीकर्ता स्वयंले ध्यान दिनुपर्छकानुन निर्माण, प्रविधिको विकास आफ्नो ठाउँमा हुँदाहुँदै पनि लगानीकर्ता स्वयंले ध्यान दिई लगानी गर्नुपर्छ । लगानीकर्ताको लगानी निर्णय मात्र होइन, सेयर बजारको आकार र अर्थतन्त्रसँगको सम्बन्धसमेत परिभाषित हुने बजार पुँजीकरणको तथ्यांक शुद्ध र यथार्थ हुनु अति जरुरी छ । गलत तथ्यांकका आधारमा गरिने लगानी वा नीतिगत निर्णयहरूको परिणाम गलत नै हुन्छ ।