मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर ८ बिहीबार o६:o४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

५२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक : कांग्रेस २२ सिटसहित पहिलो कायमै, दोस्रोमा रहेको एमालेको १० सिट 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार o६:o४:oo

बुधबार मध्यरातिसम्म प्रतिनिधिसभाका ५२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउँदा कांग्रेसले २२ सिटसहित पहिलो स्थान कायमै राखेको छ । १० सिटसहित एमाले दोस्रो स्थानमा छ । प्रतिनिधिसभाका कुल १६५ सिटमध्ये १५९ मा गणना भएकामा कांग्रेसले ३५ र एमालेले ३३ सिटमा अग्रता लिएका छन् । 

पाँच सिट जितेको माओवादी १३ सिटमा अग्रता बटुल्दै तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चार सिटमा जित निकालेको छ भने अग्रता पाँच सिटमा छ । त्यस्तै, एकीकृत समाजवादीले दुई सिटमा जित्दा सात सिटमा अग्रता लिएको छ । 

जनता समाजवादी पार्टीले एक सिटमा जित र चार सिटमा अग्रता निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एक सिटमा विजयी भएको छ । उसले चार सिटमा अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले दुई सिटमा जित र एक सिटमा अग्रता लिएको छ । त्यस्तै,  नागरिक उन्मुक्ति पार्टीले एक सिटमा जित र एक सिटमा अग्रता हासिल गरेको छ । राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले एक–एक सिट जितेका छन् । जनमत पार्टीले अर्को एक सिटमा अग्रता पनि लिएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारले एक सिट जितेकामा चार सिटमा अग्रता लिएका छन् । 

बुधबार आएको अन्तिम नतिजामा झापा २ बाट एमालेका देवराज घिमिरे विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई पराजित गरेका हुन् । घिमिरेले २८ हजार ६९७ मत पाउँदा नेपालले २६ हजार ४४१ मत ल्याए । त्यस्तै, तनहुँ २ बाट कांग्रेसका शंकर भण्डारी निर्वाचित भएका छन् । उनले ३० हजार ६०४ मत ल्याउँदा एमालेका किरण गुरुङले २५ हजार १३० मत प्राप्त गरे । 

अछाम १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर र २ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका छन् । कुँवरले एमालेका झपट बोहरालाई पराजित गरेका हुन् । कुँवरले १९ हजार ५३४ र बोहराले १५ हजार ४५ मत पाए । त्यस्तै, अछाम २ मा कांग्रेसका शाहले २२ हजार ९५४ मत ल्याउँदा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत ल्याए । यसैगरी, कञ्चनपुर ३ बाट कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन् । उनले एमालेकी निरुदेवी पाललाई फराकिलो मतान्तरले पराजित गरे । लेखकले ३० हजार ५२३ र पालले १८ हजार ४४८ मत ल्याए । 

सुर्खेत २ बाट कांग्रेस नेता हृदयराम थानी विजयी भएका छन् । उनले एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसीलाई पराजित गरे । थानीले ३४ हजार ६२५ ल्याउँदा बिसीको पक्षमा १९ हजार ५५८ मत आएको छ । 

बाँके २ बाट राप्रपा महामन्त्री डा. धवलशमशेर राणा निर्वाचित भएका छन् । उनले जसपाका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई पराजित गरेका हुन् । राणाले २९ हजार ५७७ र राईले २३ हजार ५२० मत पाए । राणा यसअघि नेपालगन्ज उपमहानगर प्रमुख थिए ।

रुपन्देही ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । उनले कांग्रेसका प्रमोदकुमार यादवलाई पराजित गरेका हुन् । शुक्लाले २८ हजार र यादवले २२ हजार ७०४ मत प्राप्त गरेका छन् । त्यस्तै, गुल्मी २ बाट एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ३४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् । विष्टले २८ हजार ४८५ र झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरे ।

बारा ४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) विजयी भएका छन् । उनले एमालेका एकवाल मियाँलाई पराजित गरे । श्रेष्ठले २९ हजार ५०५ मत ल्याउँदा मियाँले १९ हजार ४३९ मत प्राप्त गरे । 

डिल्लीबजार कारागारमा कैद जीवन बिताइरहेका रेशम चौधरीका बुबा लालवीर चौधरी बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका चौधरी २६ हजार ५२० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका सुरेश पन्थले २६ हजार ३८४ मत पाएका छन् ।

त्यसैगरी, बाग्लुङ २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल विजयी भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पौडेल २४ हजार सात सय ७९ मतसहित लगातार दोस्रोपटक विजयी भएका हुन् । उनले एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गरे । चालिसेले २० हजार एक सय ८० मत पाइन् ।
रुकुमपूर्वको प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती विजयी भएका छन् । उनले एमालेका कैलाशकुमार मल्ललाई सात हजार ५१ मतान्तरले हराएका हुन् । घर्तीले १२ हजार २६२ मत पाउँदा मल्लले पाँच हजार २११ मत पाए । 

प्रदेश सभामा पनि कांग्रेस नै पहिलो, अग्रता लिएका सिटमा एमाले अगाडि
३३० प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजामा पनि कांग्रेस नै पहिलो स्थानमा छ । २९६ सिटको गणना हुँदा कांग्रेसले ४५ मा जित निकालेको छ भने ४४ मा अग्रता लिएको छ । त्यस्तै, २१ स्थानमा जित निकालेको एमालेले ७३ सिटमा अग्रता कायम गरेको छ । माओवादीले भने १३ सिटमा जितेको छ । उसले ३४ सिटमा अग्रता लिएको छ । 
राप्रपा र जनमत पार्टीले चार–चार सिट जितेका छन् । उनीहरूले क्रमशः आठ र दुई सिटमा अग्रता बनाएका छन् । तीन सिट जितेको जनता समाजवादी पार्टीले १० सिटमा अग्रता लिएको छ भने तीनवटै सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले चार सिटमा अग्रता बनाएको छ । एकीकृत समाजवादीले दुई सिटमा जित निकाल्दै ११ सिटमा अग्रता लिएको छ । नागरिक उन्मुक्ति पार्टी दुई सिटमा विजयी भएको छ भने तीन सिटमा अगाडि छ । पाँच सिटमा स्वतन्त्रले जित निकालेका छन् भने पाँच सिटमै अग्रता लिएका छन् ।