सन् १९२२ मा १२ हजार वर्गकिलोमिटरमा फैलिएको खाडी देश बसोवासका लागि योग्यसमेत थिएन । अधिकांश मानिस माछा मार्थे, मोती खोज्थे ।
यतिवेला कतारमा फिफा विश्वकप–२०२२ चलिरहेको छ । तर, कतारमा यसरी विश्वकप हुन्छ भनेर केही समयअघिसम्म पनि कसैले पत्याउन सकेका थिएनन् । झन्डै एक शताब्दी पहिले सन् १९२२ मा १२ हजार वर्गकिलोमिटरमा फैलिएको यो खाडी देश व्यावहारिक रूपमा बसोवासका लागि योग्य मानिन्नथ्यो । यहाँका अधिकांश मानिस माछा मार्थे, मोती खोज्थे । यही सिलसिलामा उनीहरू अरब द्वीपमा घुमिरहन्थे ।
९० वर्ष पुगेका त्यहाँका मान्छेलाई अझै पनि सन् १९३०–४० को भयंकर आर्थिक मन्दी याद छ । यो त्यतिवेला थियो, जतिवेला जापानीले मोतीको खेती र यसको उत्पादन सुरु गरेका थिए, जसले गर्दा कतारको अर्थव्यवस्था धरमर बनेको थियो । यही दशकमा कतारबाट ३० प्रतिशत मानिस उत्तम विकल्प खोज्दै पलायन भए । संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँको बस्ती २४ हजारमा खुम्चियो । तर, कतारको अर्थतन्त्रमा ‘यू–टर्न’ आयो । र, विश्वको सबैभन्दा ठूलो तेल रिजर्भको रूपमा उदायो ।
२०औँ शताब्दीको मध्यतिर कतारको खजाना बढ्न थाल्यो । परिणामतः विश्वको सर्वाधिक समृृद्ध देशका रूपमा परिचित हुन थाल्यो । आज कतारमा कैयौँ गगनचुम्बी भवन छन् । कृत्रिम द्वीप र अत्याधुनिक स्टेडियम छन् । आखिर कसरी यस्तो भयो ?
तेलको खोज : जब कतारमा ‘ब्ल्याक गोल्ड’को खोज भयो, त्यतिवेला कतार स्वतन्त्र देश थिएन । सन् १९१६ बाट बेलायती उपनिवेश बन्यो । तर, जब कतारले कालो सुन अर्थात् तेलका कुवाको खोज गर्दैगर्दा यो देशका रूपमा अस्तित्वमा आएकै थिएन । यो त अंग्रेजको हातमा थियो ।
उनीहरूले सन् १९१६ मा यस क्षेत्रलाई नियन्त्रणमा लिए । वर्षौंको खोजपछि पहिलो भण्डारण सन् १९३९ मा देशको पश्चिमी तटमा दोहाबाट झन्डै ८० किलोमिटरको दूरीमा दुखान भन्ने ठाउँमा भेटियो । यद्यपि यो खोजलाई मूर्त रूप दिन केही थप वर्ष लाग्यो । अमेरिकाको बेकर इन्स्टिच्युटमा कतार मामलाविद् क्रिस्टियन कोट्सका अनुसार यो खोज दोस्रो विश्वयुद्धको सुरुवातताका भएको थियो । जसले गर्दा सन् १९४९ सम्म तेल निर्यात रोकियो र त्यसबाट फाइदा पनि भएन ।
तेल निर्यातले कतारमा अवसरको चाङ लगाइदियो । साथै, तीव्र रूपमा परिवर्तन र आधुनिकीकरण हुन थाल्यो । फल्दोफुल्दो तेल उद्योगबाट आकर्षित भएर प्रवासी र लगानीकर्ता कतार आउन थाले । यसले गर्दा त्यहाँको जनसंख्यामा पनि वृद्धि भयो । सन् १९५० मा कतारको जनसंख्या २५ हजारभन्दा पनि कम थियो भने सन् १९७० सम्म एक लाखभन्दा बढी भयो । जुन देश माछा मार्ने र मोती चुन्नका लागि चिनिन्थ्यो, त्यहीँको जिडिपी सन् १९७० मा तीस करोड अमेरिकी डलरभन्दा बढी भयो । एक वर्षपछि ब्रिटिस शासन अन्त्य भई कतार एक स्वतन्त्र देश बन्यो । साथै, नयाँ युगको सुरुवातसमेत भयो । यसले कतारलाई झनै समृद्ध देश बनाइदियो ।
प्राकृतिक ग्यासको खोज : सन् १९७१ मा इन्जिनियरले कतारको पूर्वोत्तर तटदेखि टाढा नर्थ फिल्डमा विशाल प्राकृतिक ग्यास रिजर्भको खोज गर्दा निकै कम मान्छेले यसको महत्व बुझे । नर्थ फिल्डको भूमि प्राकृतिक ग्यासको क्षेत्र हो भन्ने पत्ता लगाउन १४ वर्ष र दर्जनौँ अभ्यास लागेको थियो । यसमा विश्वकै ग्यास भण्डारणको कुल १० प्रतिशत हिस्सा पत्ता लागेको थियो ।
यसबाट थाहा हुन्छ कि इरान र रुसपछि कतार प्राकृतिक ग्यास भण्डारणमा ठूलो देश हो । नर्थ फिल्डको क्षेत्रफल झन्डै ६ हजार वर्गकिलोमिटर छ, जुन कतारको झन्डै आधा भाग हो । सर्वाधिक तरल प्राकृतिक ग्यास उत्पादन गर्ने कतार ग्यास कम्पनीले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निभाउँदै आइरहेको छ । तर, तेलझैँ ग्यासबाट हुने आम्दानीले पनि समय लियो । कोट्सका अनुसार लामो समयसम्म खासै माग नहुँदा त्यसलाई विस्तार गर्ने कुनै रुचि पनि थिएन । यद्यपि, ८० को दशकमा केही परिवर्तन देखिन सुरु भयो । पूर्वाधार तयार गर्न थालिएपछि देशभित्रै यसलाई वितरण गर्न थालियो । र, ९० को दशकमा निर्यात गर्ने व्यवस्थासमेत गरियो । यसले अर्थतन्त्रलाई अगाडि बढाउने इन्जिनको काम गर्यो ।
कतारको आर्थिक विकास दरको ग्राफले २१औँ शताब्दीको सुरुवातसँगै ठूलो छलाङ मार्न थाल्यो । सन् २००३–००४ मा कतारको जिडिपी ३.७ बाट बढेर १९.२ प्रतिशत पुग्यो । दुई वर्षपछि अर्थात् सन् २००६ मा २६.२ प्रतिशत पुग्यो । यसरी बढ्दो जिडिपी दर धेरै वर्षसम्म कतारको सामर्थ्य रहिरह्यो ।
ग्यास र तेल निकाल्नमा गरिएको लगानी, तरलीकरण र यसको निर्यात गर्न तयार पारिएको पूर्वाधारले देशलाई विदेशसम्म जोड्ने काम गरेको छ । सन् १९९६ मा तरल प्राकृतिक ग्यासले भरिएको जहाज जापान प्रस्थान गर्यो । यो नै कतार ग्यासको पहिलो ठूलो निर्यात थियो । साथै, अर्बौं डलरको उद्योगको सुरुवात यहीँबाट भएको थियो । सन् २०२१ मा कतारको प्रतिव्यक्ति आय ६१ हजार २७६ अमेरिकी डलर थियो ।
अर्थतन्त्रका चुनौती : हालका वर्षमा कतारको अर्थतन्त्रलाई केही क्षति पुगेको छ । थोरै सुस्त पनि भएको छ । तर, भविष्यमा यसका सामु थुप्रै चुनौती छन् । फोसिल इन्धनमा निर्भरता र वर्तमानमा जलवायु प्रभावलाई लिएर कडा निगरानी झेलिरहेको छ, कतारले । सइदीका अुनसार सन् २०१३ र ०१४ मा तेलको मूल्यमा गिरावट आयो । यसले आयको स्रोतमा परिवर्तनको मुख्य चर्चाको विषय बन्यो ।
कतारसँगको राजनीतिक विवादले साउदी अरब, युएई, बहराइन र इजिप्टले सन् २०१७ र २०२१ बीच नाकाबन्दी गरे । यसले अर्थतन्त्रलाई चुनौती दिएको थियो । कोट्सका अनुसार कतारले ग्यास र तेलबाहेक आर्थिक कमाइको अन्य स्रोत खोजेको छैन । यसकारण उसले अब निजी क्षेत्रलाई फैलाउन चाहेको छ, लगानी गरिरहेको छ, ताकि हाइड्रोकार्बनमा उसको निर्भरता कम होस् । यस्तै, कतारले दोहालाई इभेन्ट, कन्फ्रेन्स आदिको हब बनाउनेतिर जोड दिइरहेको छ । विश्वकपको आयोजना यसकै ठूलो उदाहरण हो । कतारले विश्वकप आयोजनका लागि दुई लाख मिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ, जुन इतिहासमै अहिलेसम्मको महँगो विश्वकप हो ।