१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २ शुक्रबार
  • Saturday, 28 September, 2024
२o७९ मङ्सिर २ शुक्रबार १o:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिराहामा एक सय ७० अति संवेदनशील मतदान केन्द्र

सेना र म्यादीबाहेक दुई हजार एक सय सुरक्षाकर्मी परिचालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २ शुक्रबार १o:४५:oo

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा सिराहामा कायम गरिएका दुई सय २१ मध्ये एक सय ७० मतदान केद्र अति संवेदनशील सूचीमा राखी सुरक्षा प्रबन्ध गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा जिल्लाका ४६ संवेदनशील र बाँकी पाँचवटा मतदानस्थल सामान्यअन्तर्गत राखेर सुरक्षा व्यवस्था मिलाइएको सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए । प्रजिअ कवारीका अनुसार निर्वाचनअन्तर्गत मतदानको दिन मतदानस्थलमा एक हजार चार सय नेपाल प्रहरी, सात सय सशस्त्र प्रहरी बल र दुई हजार आठ सय नौजना म्यादी प्रहरी सुरक्षाका लागि परिचालन गरिँदै छ । ‘त्यसबाहेक मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा आवश्यकताअनुसार बाहिरी सुरक्षा घेरा र मोबाइल गस्तीमा नेपाली सेनासमेत परिचालन गरिनेछ,’ उनले भने ।

निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न गर्न तीन तहमा सुरक्षा परिचालनको तयारी गरिएको जानकारी दिँदै उनले भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधिलगायतका आधारमा मतदानस्थल र मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरी सोहीअनुरूप सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

६ हजारभन्दा बढी कर्मचारी परिचालन
मतदानका लागि जिल्लाका पाँच सय पाँच मतदान केन्द्रमा स्वयंसेवकसहित ६ हजार ६० जना कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी इन्दिरा यादवले जानकारी दिइन् । उनका अनुसार हरेक केन्द्रमा चार–चारजना स्वयंसेवक परिचालन गरिँदै छ । 

‘हरेक मतदान केन्द्रमा एक–एकजना निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत, पाँचजना सहायक कर्मचारी र एकजना कार्यालय सहयोगीसहित आठजना कर्मचारी खटाइएको छ,’ उनले भनिन्, ‘निर्वाचनमा भाग लिएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका प्रतिनिधि, सुरक्षाकर्मी, मतदानमा खटाइएका कर्मचारीको समन्वयमा हरेक मतदातालाई भयरहित र स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने गरी आवश्यक सम्पूर्ण तयारी गरिएको छ ।’

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत सिराहाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहमा दुई लाख २४ हजार ९९ पुरुष र एक लाख ९८ हजार ६ सय ११ महिला तथा दुई तेस्रोलिंगी गरी चार लाख २२ हजार सात सय १२ मतदाता छन् ।