१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७९ मङ्सिर १ बिहीबार ११:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तनहुँ २ मा रोचक भिडन्त : दुई पूर्ववनमन्त्री भण्डारी र गुरुङबीच प्रतिस्पर्धा

कांग्रेसका उम्मेदवार भण्डारी गठबन्धनको भरमा, अघिल्लो हारको बदला लिने दाउमा रहेका उनलाई एमालेका गुरुङको चुनौती 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार ११:२o:oo

आगामी ४ मंसिरमा हुने निर्वाचनमा तनहुँ २ मा पूर्ववनमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा हुने भएको छ । वाम–लोकतान्त्रिक गठबन्धनमा आबद्ध पार्टीहरूको साथमा अघिल्लोपटक हारको बदला लिने दाउमा रहेका कांग्रेसका उम्मेदवार शंकर भण्डारीलाई एमालेका उम्मेदवार किरण गुरुङले चुनौती दिएका छन् । 

भण्डारी ०७० मा तनहुँ १ बाट विजयी भएपछि उनी वनमन्त्री भएका थिए । ०७४ मा तनहुँ २ बाट चुनाव लड्दा पराजित भएका थिए । गुरुङ ०४८ सालमा तनहुँ ३ बाट विजयी भएका थिए । ०५६ मा मालेबाट लडेका उनी पराजित भए । ०६४ सालमा तनहुँ ३ बाट विजयी भएपछि वनमन्त्री भएका थिए । ०७४ मा तनहुँको २ को प्रदेश सभा (ख)बाट विजयी भएका थिए  र गण्डकी प्रदेशको अर्थमन्त्रीसमेत भएका थिए । 

सत्तागठबन्धनका उम्मेदवार भण्डारीलाई जिताउन गठबन्धनका नेताहरू भोट माग्न व्यस्त छन् । एमाले पनि मतदाता रिझाएर आफ्नो पक्षमा नतिजा निकाल्ने दाउमा छ । मुख्य प्रतिस्पर्धी दुवै उम्मेदवार आफ्नो एजेन्डासहित गाउँगाउँमा पुगेका छन् । 

पूर्ववनमन्त्रीहरूबीचमा कडा टक्कर हुने देखिएको छ । भण्डारी कार्यकर्तामाझ लोकप्रिय मानिन्छन् । त्यसैगरी गुरुङको पनि संगठन र छवि राम्रो भएकाले यी दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने मतदाताको आकलन छ । पार्टीका कार्यकर्ताबाहेकका कतिपय मतदाता कसलाई भोट हाल्ने भन्नेमा अन्योलमा छन् । आफ्नाे मत तान्न सक्ने आशा भएका ठाउँमा दुवै नेता यतिखेर घरदैलो र कार्यस्थलमै गएर मत मागिरहेका छन् । अहिले धानबाली भित्र्याउने वेला भएकाले उम्मेदवारहरू खेतबारीमा पुगेर मतदाता रिझाउन धान झाँट्ने, बोक्नेलगायत गतिविधिमा समेत व्यस्त देखिन्छन् । कतिपय मतदाताले पाँच वर्षमा एकपटक मात्र भोट माग्न आउने र अरू वेला वास्ता नगरेको गुनासो गरिरहेका छन् । 

भण्डारीले आफ्नो जनमत राम्रो भएकाले चुनाव जित्नेमा ढुक्क भएको बताउँदै आएका छन् । गुरुङले पनि प्रदेश सरकारमा मन्त्री हुँदा धेरै काम गरेको र जित निश्चित भएको दाबी गरेका छन् । अंकगणितमा गठबन्धनका उम्मेदवार अगाडि देखिए पनि दुवै नेता लोकप्रिय भएकाले कसले जित हात पार्छ भन्ने आकलन गर्नसमेत कठिन छ । 

यस्तो छ अंकगणित 
यसअघि सम्पन्न ०७४ को निर्वाचनमा भण्डारीलाई एमालेका उम्मेदवार केदार सिग्देलले करिब तीन हजार दुई सय मतले पराजित गरेका थिए । त्यतिवेला एमाले र माओवादी मिलेर चुनावमा होमिएका थिए । तर, अहिले ठूला पार्टी कांग्रेस, माओवादीलगायतका पार्टीको वाम–लोकतान्त्रिक गठबन्धन छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले पाएको मतको आधारमा सत्ता साझेदार गठबन्धन दल अगाडि छ । तनहुँ २ मा समेटिएका वडाहरूमा वडाध्यक्षमा एमालेले २८ हजार आठ सय २५ मत प्राप्त गरेको थियो । त्यसैगरी कांग्रेसले २८ हजार तीन सय ६४ मत प्राप्त गरेको थियो । त्यस्तै, माओवादीले पाँच हजार ६ सय ६७, एकीकृत समाजवादीले एक हजार दुई सय ३३, राप्रपाले सात सय १८ मत प्राप्त गरेका थिए । त्यस्तै, स्वतन्त्रले एक हजार तीन सय १३ मत ल्याएका थिए । यसलाई आधार मान्दा ६ हजार चार सय ३९ मतले एमालेभन्दा सत्तगठबन्धन अगाडि छ । 

शुक्लागण्डकी र भिमाद जोड्ने पुल निर्माण दुवै उम्मेदवारको प्राथमिकतामा
शुक्लागण्डकी र भिमादमा घरदैलो गर्दा कांग्रेस र एमालेका दुवै उम्मेदवारले पुल निर्माणलाई प्राथमिकता दिने बताएका छन् । दुवैले एउटै पुलमाथि राजनीति गरिरहेको स्थानीय बताउँछन् । ०७२ मा निर्माण सुरु गरी ०७५ मा सम्पन्न हुनुपर्ने पुल अहिलेसम्म अलपत्र छ । चितवनको एडभेन्चर कन्स्ट्रक्सनले जिम्मा निर्माणको जिम्मा पाएको थियो । डिजाइन परिवर्तन र कोभिडका कारणले निर्माणमा ढिलाइ भएको बताइएको छ ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका शंकर भण्डारीले भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार जोड्ने सेती दोभानको पुल निर्माण कार्य आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले मतदाता भेटघाटका क्रममा अलपत्र बनेको पुल विजयी बनेलगत्तै निर्माण अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘अलपत्र पुलको निर्माण कार्य तत्काल अगाडि बढ्छ तपाईंहरू ढुक्क हुनुहोस्,’ उम्मेदवार भण्डारीले भने, ‘के–कति कारणले निर्माण कार्य रोकिन पुगेको हो, यस विषयमा पूर्ण जानकारी लिनेछु र काम अगाडि बढाउनेछु ।’

भिमाद नगरपालिका– ८ र शुक्लागण्डकी नगरपालिका– ७ जोड्ने पुलको निर्माण कार्य अगाडि नबढ्दा स्थानीय चिन्तित छन् । पुल निर्माण नहुँदा स्थानीय बासिन्दाले सास्ती व्यहाेर्दै आएका छन् । दुई पालिका जोड्ने सो पुल लामो समयसम्म निर्माण नहुँदा समस्या भएको हो । एमालेका उम्मेदवार किरण गुरुङले पनि त्यही पुललाई देखाएर भोट मागिरहेका छन् । घरघर पुग्दा गुरुङले आफूलाई एकपटक चुनावमा भोट हालेर सहयोग गर्न अनुरोध गरेका छन् । ‘मलाई तपाईंहरूले भोट हालेर जिताउनुभयो भने यहाँको विकासमा पहल गर्छु । त्यति मात्र नभएर मेरो पहिलो प्राथमिकता नै पुल निर्माण अघि बढाउने हुनेछ, त्यसैले एकपटक मलाई सहयोग गर्नुस्,’ गुरुङले भने । 

ad
ad
ad
ad