मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पाकिस्तानविरुद्धको खेलअघि रणनीति बताउँदै नेपालका प्रशिक्षक प्रवेश कटवाल (बायाँ) ।
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक ३० बुधबार ०७:१९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल आज : दशरथ रंगशालामा नेपालको ५०औँ अन्तर्राष्ट्रिय खेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक ३० बुधबार ०७:१९:००

नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दै छ । दशरथ रंगशालामा हुने यो नेपालको ५०औँ अन्तर्राष्ट्रिय घरेलु खेल हो । नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीचको खेल बुधबार साँझ ५ बजे हुनेछ । दरशथ रंगशालामा नेपालले पहिलो घरेलु अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सन् १९८४ मा खेलेको थियो । नेपालले पहिलोपटक दक्षिण एसियाली खेलकुद प्रतियोगिता सेप्टेम्बर १८, १९८४ मा आयोजना गरेको थियो । 

घरेलु मैदानमा नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा माल्दिभ्सलाई ४–० ले हराएको थियो । पहिलो सागअन्तर्गत फुटबल स्पर्धामा नेपालका लागि गणेश थापाले दुई गोल गरेका थिए । रुपकराज शर्मा र कृष्ण थापाले एक–एक गोल गरे । सो सागमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो । नेपालले फाइनलमा बंगलादेशलाई ४–२ ले हराउँदै स्वर्ण हात पारेको थियो । फाइनलमा वाइबी घलेले दुई गोल गरेका थिए । दशरथ रंगशालामा नेपालले ४९औँ खेलमा ५७ गोल गरेको छ । रंगशालामा भरत खवास र अन्जन विष्टले एक–एक ह्याट्रिक गरेका छन् । गत महिना अन्जनले रंगशालामा बंगलादेशविरुद्ध ह्याट्रिक गर्न सफल भएका थिए । 

भौतिक पूर्वाधारको विकाससँगै नेपाली टोलीले काठमाडौं उपत्यकाभित्र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, महाराजगन्जस्थित प्रहरी प्रशिक्षण केन्द्र र हल्चोकस्थित एपिएफ मैदानमा अन्तर्राष्ट्रिय खेल खेलेको छ । यसैगरी, नेपालले काठमाडौंबाहिर पोखरा रंगशालामा मात्र अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छ । 

पाकिस्तानलाई हराउने लक्ष्य
सिनियर खेलाडी रोहित चन्दको कप्तानीमा नेपालले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दा जित निकाल्ने लक्ष्य राखेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाको निलम्बनबाट फुकुवा भएपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेल नेपालविरुद्ध खेल्न लागेको हो । मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले घरेलु मैदानमा जित निकाल्न खेलाडीहरूको मनोबल उच्च रहेको बताए । ‘हाम्रो पहिलो लक्ष्य नै जित हुनेछ, खेलाडी यसका लागि तयार छन्,’ प्रशिक्षक कटवालले भने ।

नेपाल र पाकिस्तानबीच अहिलेसम्म आधिकारिक रूपमा १७ अन्तर्राष्ट्रिय खेल भएको छ । तथ्यांकअनुसार पाकिस्तानले सात र नेपालले पाँच जित निकालेका छन् । नेपाल र पाकिस्तानबीच पाँच खेल बराबरी भएको छ । नेपालले अन्तिमपटक पाकिस्तानसँग दक्षिण एसियाली फुटबल प्रतियोतिगा (साफ)मा प्रतिस्पर्धा गरेको थियो । बंगलादेशको ढाकामा भएको साफमा नेपालले पाकिस्तानलाई २–१ ले पराजित गरेको थियो । 

तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानी फुटबल टोलीले नेपालविरुद्ध राम्रो खेल खेल्ने योजना बनाएको छ । पाकिस्तानका मुख्य प्रशिक्षक शहजात अनवरले दशरथ रंगशालामा राम्रो खेल खेल्ने पक्षमा आफू विश्वस्त भएको बताए ।