मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १८ बिहीबार
  • Friday, 22 November, 2024
रमेशप्रसाद गौतम
२o७८ कार्तिक १८ बिहीबार o७:५१:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आधुनिक शिक्षाका कारण प्रतिभा पलायन

गाउँको अविकसित र पिछडिएको अवस्थाबारे पढाउने, तर त्यहाँको प्रकृति र भूगोलको ममता सिकाउन नसक्ने शिक्षाले प्रतिभा पलायनमा सघाइरहेको छ

Read Time : > 4 मिनेट
रमेशप्रसाद गौतम
नयाँ पत्रिका
२o७८ कार्तिक १८ बिहीबार o७:५१:oo

आधुनिक शिक्षाले हाम्रोजस्तो विकासोन्मुख देशका नागरिकलाई विदेश पलायन गराउँदै आएको छ । आफ्नो अविकसित देशको भन्दा विकसित देशको सुख सुविधा र अवसर देखेर त्यतै आकर्षित हुनेको संख्या बढ्दो क्रममा छ । नेपालबाट वर्षमा हजारौँ विद्यार्थी विदेश पढ्न जान्छन् र अध्ययन पूरा गरिसकेपछि त्यहीँ अड्ने उपाय खोज्छन् । यसरी जानेको अत्यधिक संख्यामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, जर्मनी, जापान, इजरायल, डेनमार्क, लक्जेमवर्ग आदि मुलुक छन् । यसरी आफू जन्मेको भूमिलाई छाडेर अन्यत्र मुलुकमा रमाउनु राम्रो होइन । आफ्नो देश, आफ्नो जन्मस्थलोको माया नहुनु अत्यन्त दुःखद पक्षत हुँदै हो । तर, राज्यले यस सम्बन्धमा गम्भीरतापूर्वक सोच्न नसकेको र आफ्ना युवालाई आफ्नै देशमा आत्मसम्मानसाथ बाँच्न सक्ने अवसर दिन नसक्नु ठूलो कमजोरी हो । यदि राज्यले हरेक नागरिकलाई न्यूनतम आवश्यकता निष्पक्ष तरिकाले वितरण गर्ने र योग्यता र दक्षताका आधारमा काम र मामको व्यवस्था गर्ने हो भने यसरी कोही पनि विदेश पलायन हुने थिएनन् ।

दल र नेताको आडमा जिन्दावाद र मुर्दावादको नारा लगाउँदै, समाजमा धाक र धम्कीको भाषामा दलगत स्वार्थप्रेरित काम गर्ने र गराउनेहरूको जमातले मुलुक हाँक्ने प्रवृत्ति रहिरहेसम्म हाम्रा होनहार प्रतिभाहरू विदेश पलायन भइरहनेछन् । अध्ययनकालमै विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययनमा गम्भीरतपूर्वक लाग्नुभन्दा कुनै राजनीतिक पार्टीको भ्रातृ संगठनमा लागेर नेताका इसारामा बग्दै जाने जमात नै देशको नीति, निर्माण तहमा प्रशासन हाँक्ने पदमा, योजना तय गर्ने ठाउँमा पुगेका छन् । हाम्रा ठूला नेतालाई पनि राम्रा र योग्यभन्दा यस्तै लठैत ‘हाम्रा मान्छे’ भए पुग्ने देखिएकाले देशको भविष्य अझ अन्धकारमय भएको अनुभूत हुन्छ ।

आज देशमा एउटा गम्भीर समस्या देखापरेको छ । कुनै पनि व्यक्ति एउटा गाउँमा रहेर शिक्षित हुन्छ, तर ऊ त्यहाँ बस्न रुचाउँदैन । त्यहाँका सीधासाधा अपठितभन्दा आफूलाई बेग्लै महसुस गर्छ । आफू जन्मेको थातथलोमा रहँदा थप उन्नति र प्रगतिको सम्भावना देख्दैन । त्यही ठाउँलाई सुधारी आफूले जानेको ज्ञान र सीप छरछिमेकमा बाँडौँ र तिनको जीवनस्तर उकासौँ भन्ने हुँदैन । खाली अरूभन्दा म माथि उठिसकेको छु भन्ने अहंकारमा ऊ बाँच्न चाहन्छ । आफूले हासिल गरेको शैक्षिक उपलब्धिको अभिमानमा गाउँघरमा बस्न असहज ठान्छ । यसरी शिक्षाले एउटा सामान्य व्यक्तिमा पनि अहम् पैदा गराएर युवालााई आफू जन्मेको ठाउँबाट अलग गराइरहेको छ । यस किसिमको शिक्षालाई हामीले कसरी मूल्यांकन गर्ने ? यसको उत्तर खोजको विषय बन्नुपर्छ । 

म जहाँ छु त्यो ठीक छैन, यहाँ बस्दा मेरो थप व्यक्तिगत उन्नति हुन सक्दैन । माथि उठ्नका लागि पनि यो ठाउँ छाड्नैपर्छ । गाउँमा जो शिक्षित छ, ऊ यही सोच बोकेर सहर पस्न चाहन्छ र जो सहरमा शिक्षित हुन्छ ऊ विदेश जान चाहन्छ । यसरी अहिलेको शिक्षाले एउटा सुन्दर सपनाको घुम्टो ओडाएर आफू  जन्मेहुर्केको र बसेको ठाउँबाट टाढिने परिस्थिति बनाइरहेको छ । 

समाजमा कुनै व्यक्ति पढेलेखेर विदेश गएको छ भने ठूलो इज्जत देख्ने प्रवृत्ति अहिले पनि व्याप्त छ । यसरी गएकालाई सम्बोधन गर्दै भनिन्छ, फलानाको छोरो या छोरी त विदेश गएछ या गइछे । उनीहरू त साँच्चिकै भाग्यमानी रहेछन् । हाम्रा त घरमै बसी कुटो कोदालीमै रमाइरहेका छन् । यस्ता सन्तान भएर पो के गर्नु र ? यस्ता कुरा त कति सुनिन्छ, सुनिन्छ । यता गाउँबाट सहर गएको मानिस कुनै छुट्टीमा गाउँ आएपछि पनि त्यसको गुणगान नै सुनिन्छ । यस प्रकार हाम्रा प्रतिभालाई सहर र विदेश पलायन हुन घर, परिवार र समाजले नै गरिरहेका हुन्छन् । गाउँबाट सहरमा भन्दा पनि सहरबाट अझ उम्दा प्रतिभाहरू विदेश पलायन भइरहेका देखिन्छन् ।

हुन त पढेलेखेका मानिसले नपढेका मानिसभन्दा आफूलाई ठूलो ठान्ने हाम्रो परम्परागत सोच पनि हो । यसले गर्दा उच्च शिक्षा हासिल गरेका व्यक्ति गाउँलेसँग बस्न नरुचाउने र पढेलेखेर पनि शिक्षित व्यक्ति गाउँमा बसे आत्मग्लानि उत्पन्न गराउने विचार यदाकदा सुनिन्छ । यत्रो पढेलेखेर पनि खेतीकिसानी गरेर बसिरहेछ भन्ने गुनासो सुन्नुभन्दा पलायन हुनु नै राम्रो ठान्नेहरूको संख्या दिनदिनै बढिरहेछ । 

दल र नेताको आडमा जिन्दावाद र मुर्दावादको नारा लगाउँदै, समाजमा धाक र धम्कीको भाषामा दलगत स्वार्थप्रेरित काम गर्ने र गराउनेहरूको जमातले मुलुक हाँक्ने प्रवृत्ति रहिरहेसम्म हाम्रा होनहार प्रतिभाहरू विदेश पलायन भइरहनेछन्

हाम्रो प्राचीन सभ्यतादेखि नै भनिँदै आएको छ, ‘स्वदेशे पुज्यते राजा विद्वान् सर्वत्र पुज्यते ।’ विद्वान्का लागि विश्व नै आफ्नो हुन्छ भन्ने धारणाअनुसार राजा स्वदेशमा मात्र पुजिन्छन् भने विद्वान सबैतिर पुजिन्छन् । ज्ञानमा श्रेष्ठ व्यक्तिले संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो प्रतिष्ठा स्थापित गर्न सक्छ । एकै ठाउँमा बस्नेले खासै प्रगति गर्न सक्दैन भन्ने पनि गरिन्छ । तर, यो भनाइ सबैमा लागू हुँदैन । मानव स्रोतको सही परिचालन हुन नसक्दाको अवस्थामा एक ठाउँबाट अर्को ठाउँ वा एक देशबाट अर्को देश छाडेर हिँड्ने प्रवृत्तिको विकास हुने गर्छ । 

अहिलेको अवस्थालाई अवलोकन गर्दा एक प्रकारको प्रतिभाको व्यापारजस्तो अनुभूति देखिएको छ । अधिकांश अविकसित देशका राज्यका निकायबाटै प्रतिभाको छनोट गरी विदेश पलायन हुन हौस्याइँदै छ । यसले गर्दा हाम्रा राजनीतिक नेताहरूलाई पनि सहज महसुस हुन सक्छ । किनकि देशभित्रका प्रतिभावान् युवा विदेश पलायन भइसकेपछि राजनीतिक नेतृत्वलाई पनि हाइसन्चो हुने नै भयो । अर्कातर्फ बुद्धिमान् युवामाथि शासन गर्न धेरै बुद्धि नेताहरूले खर्च गर्नुपरे पनि कम पढेका कार्यकर्ता भए अनेक जालझेल र तिकडम गरी चुनाव जित्न र सत्तामा पुगेपछि पनि राजनीतिक निष्ठा र इमानजमानभन्दा पनि छलछाम, ठगठागबाट सत्ता चलाउन सजिलो हुन्छ । त्यसैले, उनीहरूले  विदेश पलायन भइरहेका प्रतिभाप्रति खासै चिन्ता लिएको देखिँदैन । शिक्षित प्रतिभावान् व्यक्ति देश छाडेर हिँडेने घटनाले राज्यले एउटा उत्कृष्ट नागरिक गुमायो भन्ने चिन्ता कतै हुँदैन । उल्टो अभिभावक, छरछिमेक र टोलले यस्ता घटनाको गर्व गरिरहेको देख्न पाइन्छ । यसमा हाम्रो शिक्षाको पनि दोष छ । जो शिक्षामा उत्कृष्ट सावित हुन्छ, उसलाई अन्यत्र कहीँ लगेर प्रयोग गर्ने गरिन्छ । उसलाई केही ‘इन्सेन्टिभ’ दिएर भुलाइन्छ । यो सामान्य मजुदुरदेखि लागू हुँदै आएको छ । गाउँका मजदुरले आएर सहरमा ठूला उद्योग र महल खडा गर्छन् । गाउँ भने जस्ताको तस्तै रहन्छ । उनकै कला र कौशलले सहर सजिन्छ ।

हुन त देशको प्रगतिको मापन त्यस देशको सहर र गाउँको मात्रा वा प्रतिशतका आधारमा गर्ने गरिन्छ । विकसित देशहरूको जनसंख्यामध्ये ग्रामीण क्षेत्रमा न्यून र शहरी इलाकामा अध्यधिक बढी हुन्छन् । तर, युरोप, अमेरिका, बेलायत आदिका तुलनामा नेपाल, भारत, बंगलादेशलगायत देशमा ६० प्रतिशतभन्दा बढी जनसंख्या गाउँमै बस्छन् । गाउँमा बस्नेहरूको अवस्था पिछडिएको नै हुन्छ । त्यहाँ अवसर र सुविधाको पनि कमी हुने हुँदा जहाँ अवसर र सुविधा हुन्छ त्यहीँ जान आकर्षित हुनु मानवीय स्वभाव नै हो । यसले गाउँको एउटा शिक्षित व्यक्ति गाउँ छाडेर हिँड्ने घटनाले त्यस गाउँलाई नोक्सान पुगिरहेको हुन्छ भन्ने सोच कहीँ आउँदैन । उल्टो गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने घटनालाई गाउँसमाजले इज्जतका रूपमा स्विकारिरहेको पाइन्छ । यसरी विद्यमान शिक्षाले गाउँप्रति हीनताबोध गराएको आभास मिल्छ । त्यही रोग अहिले सहरभित्र पसेको छ । यहाँका अधिकांश युवा विदेश पलायन हुन उत्सुक छन् । अनेक प्रयत्न गरेर पढ्ने केटाकेटीले इन्टरनेटका माध्यमबाट विदेशस्थित कलेजहरूमा निवेदन पठाएर ‘आई ट्वेन्टी’ लिएर शिक्षा मन्त्रालयको ‘नो अब्जेक्सन’ पत्र प्राप्त गर्छन् । अनि ठूलो धनराशि खर्चेर बाहिर पढ्न जानेको हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो ताँती लाग्ने गर्छ । यस्ता युवा जो बाहिरिइरहेका छन् ती अध्ययनपछि स्वदेश फर्कने कमै सम्भावना हुन्छ । 

यस्तो परिस्थिति बदल्न हाम्रो समग्र शिक्षा नीतिमै आमूल सुधारको खाँचो देखिन्छ । हामीकहाँ गाउँघरमै बसेर उच्च शिक्षासम्म पढ्ने अवसर कमै छ । हाम्रो शिक्षाले गाउँको अविकसित र पिछडिएको अवस्थाबारे पढाउँछ । तर, त्यहाँको प्रकृति र भूगोलको ममता सिकाउँदैन । पढ्न नसक्नेहरूजति गाउँघरमै खेतीपाती, कुटो कोदालो गरी बस्ने र राम्रो पढेलेखेकाजति सहरमा सुविधा र अवसर खोज्न जाने भन्ने मानसिकता हाम्रो शिक्षा केन्द्रित छ । यसरी जो गाउँमा शिक्षित हुन्छ ऊ सहर पुग्छ र सहरमा पुगेर अझ बढी बुझ्छ र विदेश पलायन हुन्छ । यसरी आधुनिक शिक्षाले आफ्नो थातथलो, आफ्ना सामाजिक मूल्य, मान्यता, परम्परा, संस्कार र संस्कृतिप्रतिको मोह छुटाएर एउटा फरक संसारमा पु¥याइदिन्छ परिणामतः हाम्रा प्रतिभाहरू विदेश पलायन हुन आतुर भइरहेका छन् । यसलाई रोक्न हाम्रो शिक्षा प्रणालीमै सुधारको खाँचो छ । 
(गौतम शिक्षाविद् हुन्)