वैदेशिक रोजगारीका लागि निःशुल्क विदेश पठाइदिन्छु भनी पाँच युवतीलाई बेच्न लगेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले ५ मंसिरमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १४ बस्ने ४४ वर्षीय राजु तामाङलाई नारायणगढबाट पक्राउ गरेको हो ।
चितवन प्रहरी प्रमुख गौतम मिश्रका अनुसार उनलाई विभिन्न स्थानका युवतीलाई नारायणगढमा भेला पारी सुनौली लैजाने क्रममा बसमा चढाउन लागेको वेला पक्राउ गरिएको हो ।
आफूहरूलाई बेच्न लैजान लागेको थाहा भएपछि युवतीहरूले आफन्तमार्फत प्रहरीमा खबर गरेका थिए । प्रहरीले नारायणगढको पुल्चोकबाट युवतीहरूको उद्धार गरी आरोपीलाई नियन्त्रणमा लिएको हो ।
युवतीहरूलाई संरक्षणका लागि माइती नेपालमा राखिएको छ । तामाङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा चितवन जिल्ला अदालतबाट आज चार दिनको म्याद लिइएको छ ।