
जागिर अवधि करिब तीन साता बाँकी रहेका डिआइजी जनक भट्टराईलाई एआइजीमा बढुवा सिफारिस गरिएको छ। आइतबार बिहान बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको हो।
भट्टराईलाई बढुवा गर्नकै लागि एआइजी रवीन्द्र केसीलाई राजीनामा दिन लगाइएको थियो। गत २७ माघमा केसीले राजीनामा दिएका थिए। गृह मन्त्रालयले निरन्तर दबाब दिएर उनलाई राजीनामा दिन बाध्य बनाइएको थियो। बढुवा सिफारिस भएका भट्टराईले आगामी ५ चैतमा अवकाश पाउनेछन्।
आफूनिकटस्थलाई बढुवा गर्न यसरी जबर्जस्ती राजीनामा दिन लगाइएको घटना प्रहरीमा विरलै रहेको प्रहरी अधिकारी बताउँछन्।
यसरी अवकाशको मुखमा एआइजीमा बढुवा गर्न लागिएको यो पहिलो घटना होइन। पछिल्लो ६ महिनामा पटक–पटक यस्ता विकृति प्रहरी संगठनमा देखिएका छन्। अवकाशका जान लागेकाहरूलाई वरीयतामा अघि रहेकालाई छुटाएर बढुवा गरिँदै आएको छ।
गत ५ पुसमा भरतबहादुर बोहरालाई एआइजीमा बढुवा गरिएकोमा उनले १४ पुसमा अवकाश पाए। उनलाई नौ दिनका लागि एआइजी बढुवा गरियो।
गत ७ मंसिरमा एआइजी भएका केदार ढकाल २१ मंसिरमा अवकाशमा गएका थिए।
गत १३ कात्तिकमा एआइजी भएकी किरण राणाले दुई दिनपछि अवकाश पाएकी थिइन्।
डिआइजी र एआइजीमा पेन्सनको मात्र होइन, सुरक्षाकर्मीले पाउने सुविधा पनि फरक छ। डिआइजीबाट अवकाश हुँदा चालक र परिचर पाउँदैनन्। तर, एआइजीबाट अवकाश हुँदा चालक र परिचरको सुविधा पाउने भएकाले यसरी राज्यलाई आर्थिक भारसँगै सुरक्षाकर्मीको दुरुपयोगसमेत बढिरहेको छ। प्रहरीका तल्लो तहका कर्मचारीको सेवा-सुविधामा मतलब नगर्ने, तर उच्च तहको हकमा भने व्यक्तिलाई लक्षित गरी निर्णय हुने गरेका छन्।