
सशस्त्र प्रहरी बलमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक(इन्स्पेक्टर) कार्यालयमै मृत भेटिएकी छिन्। पोखराको लामापाटनस्थित तालिम केन्द्रमा इन्स्पेक्टर सन्तोषी महत मृत भेटिएकी हुन्। डोरीले बाँसमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो।
सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी कुमार न्यौपानेका अनुसार शनिबार बेलुका साढे नौ बजे शौचालयसँगैको बाँसमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो। उनी सशस्त्र प्रहरीको सिंस १७ को आधारभूत तालिमको क्रममा थिइन्। ‘घटनाको नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ, शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजान लागिएको छ,’ डिआइजी न्यौपानेले भने, ‘हामीले पनि आन्तरिक छानबिन गरिरहेका छौँ।’
स्रोतका अनुसार सशस्त्र प्रहरीकै एक इन्स्पेक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ।
मृतक महतको घर सिन्धुपाल्चोकको लागार्चे हो। उनका भाइ र मामा नेपाल प्रहरीमा कार्यरत छन्।