
कञ्चनपुर १ बाट निर्वाचित सांसद तारा लामा तामाङले सडक विस्तारको नाममा बेलडाँडी गाउँपालिकाको पचुईं र गौँडीमा सर्वसाधारणको घरमा डोजर चलाइएको भन्दै विरोध गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा एमाले सांसद लामाले भने नक्साको यकिन नगरी स्थानीय प्रशासनले ४०औँ वर्षदेखि बसेको बस्ती हटाउने नाममा ज्यादती गरेको बताए।
‘२०५४ र त्योभन्दा अगाडिका दुइटा नक्सा अलगअलग छन्। बाटो छुट्याउने नाममा त्यहाँ एकदम ज्यादती भएको छ र त्यहाँको स्थानीय जनप्रतिनिधि उपाध्यक्षसहित राजनीतिक दलका साथीहरूले हाम्रो नक्सा यकिन गरेर मात्र यो काम गर्छाैं, एकछिन रोक्नु भन्दाभन्दै स्थानीय जनप्रतिनिधि र स्थानीय राजनीतिक दल भाँडमा जाओस् भनेर त्यहाँको स्थानीय प्रशासनले त्यस्तो (घर भत्काएको) गरेको छ,’ उनले भने, ‘अहिले चारैतिरको दबाबपछि रोकेको छ।’
सडक विस्तार गर्ने भन्दै ८ र ९ फागुनमा डोजर चलाइएको थियो। बस्ती हटाउने नाममा बल प्रयोग गरेर हरुदेवी विष्ट, बलबहादुर बुढा, भारती बुढा, वीरमान बुढा, लक्ष्मी थापामगर, रामकली थापा, मीना खड्का, अमृता बुढालगायतलाई घाइते बनाएको उनले बताए।
सांसद लामाले स्थानीय प्रशासनले माथिको आदेश भन्दै सर्वसाधारणका घर भत्काएको बताउँदै गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न गरेका छन्। ‘माथिको आदेश भन्दै त्यस्तो गरेको छ, त्यसकारणले माथिको आदेश भनेको कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने गृहमन्त्रीज्यू हुनुहुन्छ, गृहमन्त्रीज्यूले सायद त्यस्तो आदेश दिनुभएन होला भन्ने हामीलाई लाग्छ, तर त्यहाँको स्थानीय प्रशासनले त्यसरी आदेश भनेर त्यहाँको बालबच्चा र घरबार सबको तहसनहस गर्ने?’ उनले भने।
कञ्चनपुरमा बाढीले समस्याग्रस्त बस्ती रहेको जंगली जनावरले आतंकित बनाएको उल्लेख गर्दै लामाले बाढी प्रभावित बस्ती सुरक्षित ठाउँमा बसाउनुपर्ने र जनतालाई राहत दिनुपर्ने वेलामा उल्टो ४०औँ वर्षदेखि बसेको बस्ती हटाउने नाममा ज्यादती भएको बताए।