मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ११ आइतबार
  • Sunday, 23 February, 2025
२o८१ फाल्गुण ११ आइतबार o६:oo:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सक्रियता बढाउँदै सिटौला

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ११ आइतबार o६:oo:oo

केही दिनअघि संस्थापन समूहका नेताहरूको छलफल जुराएका सिटौलाले शनिबार गरे आफ्नै समूहका नेतासँग परामर्श, १५औँ महाधिवेशनमा देउवाको उत्तराधिकारी बन्ने कोसिस

१५औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन पक्का भएसँगै कांग्रेसमा तेस्रो धारको नेतृत्व गरिरहेका पूर्वमहामन्त्री तथा कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण सिटौलाले सक्रियता बढाएका छन् । सिटौलाले संस्थापन समूहका नेता एकीकृत गर्नेदेखि आफ्नो समूहको भेला राखेर परामर्श थालेका छन् । पार्टी विधानले शेरबहादुर देउवालाई तेस्रो कार्यकालका लागि सभापति बन्ने सुविधा नदिने भएसँगै सिटौलालाई पनि सभापतिको एक महत्वपूर्ण पात्रका रूपमा हेर्न थालिएको छ ।

नेता सिटौलाले शनिबार आफ्नो समूहका नेताहरूसँग छलफल गरेका छन् । सिटौलानिवासमा भएको उक्त छलफलमा केन्द्रीय सदस्यहरू शिवप्रसाद हुमागाईं र कुन्दन काफ्ले, कोशी प्रदेश मन्त्री भूपेन्द्र राई, पूर्वमन्त्री भीमसेनदास प्रधान, बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जित शेरचन र तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायत उपस्थित थिए ।

सहभागी नेताहरूका अनुसार छलफलले संस्थापन पक्षका राजनीतिक गतिविधि प्रभावकारी ढंगले अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । समूहका नेताहरूको छलफल भएको र यसलाई गुट भेला भन्न नमिल्ने केन्द्रीय सदस्य काफ्लेले बताए । उनका अनुसार नेताहरूबिच महाधिवेशनसहित समसामयिक विषयमा छलफल भएको छ । 

‘केही नेता जम्मा भएर समसामयिक विषयमा छलफल गरेका छौँ । १०–१५ जना जम्मा भएर छलफल गर्दैमा गुट भेला भन्न मिल्दैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘भेटमा महाधिवेशनलगायत सबै समसामयिक विषयमा कुराकानी भए ।’ 

यसअघि गत २ फागुनमा नेता सिटौलाले संस्थापन समूहको भेलाको अग्रसरता गरेका थिए । लामो समय मौन रहेका सिटौला पार्टीभित्र १५औँ महाधिवेशनको तयारी बढ्दै गर्दा नयाँ भूमिकासहित सक्रिय भएका हुन् । 

सिटौलाकै पहलमा दसौँ महाधिवेशनदेखि देउवालाई निरन्तर सहयोग गर्दै आइरहेका पूर्वपदाधिकारीदेखि वर्तमान पदाधिकारी र केन्द्रीय सदस्यको देउवानिवासमा जमघट भएको थियो । बुढानीलकण्ठको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू शशांक कोइराला र प्रकाशमान सिंह, सिटौला, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण र एनपी साउद, प्रवक्ता प्रकाशशरण महतलगायत सहभागी थिए । 

कांग्रेसमा डा. शेखर कोइराला र गगन थापाले सभापतिको उम्मेदवारी दिने बताइसकेका छन् । तर, देउवा समूहबाट सभापतिको उम्मेदवार टुंगो लागेको छैन । यस्तोमा संस्थापनपक्षीय नेताहरूले सिटौलाको अग्रसरतामा बुढानीलकण्ठस्थित सभापति देउवानिवासमा पुगेर छलफल गरेका थिए । नेता विमलेन्द्र निधिका अनुसार भेटमा सिटौलाले नै संस्थापन समूहको उत्तराधिकारीको टुंगो लगाउने समय आएको बताएका थिए । 

कांग्रेसमा देउवापछि योगदान र सबैलाई समेटेर लेजान सक्ने पात्रका रूपमा नेता सिटौलालाई हेरिन्छ । सिटौला कांग्रेसको आन्तरिक र अन्य दलसँग समेत समन्वय गर्न सक्ने स्वीकार्य पात्रका रूपमा हेरिन्छन् । नेपालको शान्ति प्रक्रियामा उनको महत्वपूर्ण भूमिका छ । 

१२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले सिटौलालाई कांग्रेसको महामन्त्री मनोनीत गरेका थिए । त्यसपछि भने उनी पार्टीको पदाधिकारीको जिम्मेवारीमा गएका छैनन् । तर, कांग्रेसमा तेस्रो धारका रूपमा सिटौलाले पार्टीमा पकड राख्दै आएका थिए । 

०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने खेल भए अस्वीकार्य : कोइराला 
कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले ०८४ को निर्वाचनपछि महाधिवेशनको खेल गरिए स्वीकार्य नहुने बताएका छन् । शनिबार विशालनगरस्थित सम्पर्क कार्यालयमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूको भेटमा उनले कुनै पनि बहानामा महाधिवेशन सारे पार्टीका लागि घातक हुने बताए । ‘कांग्रेस कमजोर भएको छ । अधिवेशनको पनि टुंगो छैन । निर्धारित समयमै महाधिवेशनका लागि हिँडिरहेको छु । अहिले बजारमा ०८४ को चुनावपछि मात्रै महाधिवेशन गर्ने भन्ने कुरा आइरहेको छ । त्यो चिन्ताजनक विषय हो । त्यो स्वीकार्य कुरा होइन, पार्टीको सबै तहबाट दबाब आवश्यक छ,’ उनले भने । शनिबार नै उनले यस विषयमा आफूनिकट नेताहरूसँग समेत छलफल गरेका थिए । 

विधि र परिस्थिति हेरेर महाधिवेशन : सिंह
उपप्रधानमन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहले पार्टी विधान र नेपालको संविधानअनुसार कांग्रेसको महाधिवेशन हुने बताएका छन् । शनिबार कांग्रेस धनुषाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेस राजनीतिक पार्टी हो । त्यसैले पार्टी विधान र देशको संविधानअनुसार महाधिवेशन हुन्छ । विधि र परिस्थिति हेरेर महाधिवेशन गर्छौँ ।’

महाधिवेशन तोकिएकै समयमा हुन्छ : थापा
कांग्रेस महामन्त्री गगन थापाले १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । शनिबार सल्यानमा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्न आउने क्रममा सल्लीबजारमा उनले कांग्रेसले देशलाई सम्हाल्ने जिम्मेवारी लिएको र पार्टीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘कांग्रेसको महाधिवेशन कहिले हुन्छ भन्ने बहस पनि छ । महाधिवेशन विधानअनुसार तोकिएकै समयमा हुन्छ,’ उनले भने ।