देश संघीयतामा गएपश्चात् भोजपुरमा विकासले गति लिएको छ । थुप्रै ऐतिहासिक महत्त्व बोकेको र विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचेअनुसारको फड्को मार्न सकेको थिएन । देश संघीय संचरनामा गएसँगै दुई नगरपालिका र सातवटा गाउँपालिकाले विकासका गतिविधिलाई अघि बढाएका छन् ।
भोजपुर विभिन्न कारणले देशमा परिचित जिल्ला पनि हो । भोजपुरको चिनारी धेरै क्षेत्रबाट लिन सकिन्छ । पहिलो त यो जिल्ला खुकुरीका लागि प्रख्यात छ । त्योसँगै राणाकालमा नेपालभर चाहिने टक (डोली पैसा) छापिएको जिल्ला पनि हो । यहाँ वि.सं. १८७२ सालमा भोजपुर नगरपालिका १२ टक्सारमा तामाको टक अर्थात् मुद्रा छापिन्थ्यो । ती मुद्राहरू अहिले पनि भेट्न सकिन्छ । भोजपुर शिक्षाको क्षेत्रमा पनि अग्रस्थानमा रहेको जिल्ला हो । यहाँको दिङ्लामा आवाल ब्रह्मचारी षडानन्द अधिकारीले १९३२ सालमै नेपालकै पहिलो संस्कृत पाठशाला सञ्चालनमा ल्याएको थियो । त्यो समयमा देशका विभन्नि ठाउँ तथा भारतबाट समेत अध्ययनको लागि मानिसहरू आउने गरेका थिए ।
सतीप्रथाको अन्त्यका लागि लड्ने क्रान्तियोदा योगमाया न्यौपानेको जन्मभूमि रूपमा पनि यो जिल्ला परिचित छ । १९१७ सालमा भोजपुरको षडानन्द नगरपालिका– १, नेपालेडाँडामा जन्मिएकी न्यौपानेले सतीप्रथाविरुद्ध गरेको योगदान अतुलनीय छ । सतीप्रथा, छुवाछुत प्रथा अन्त्यका लागि आफ्नो अभियानको नारा लगाउँदै १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेर क्रान्तिको सुरुवात गरेका थिए । त्योसँगै राजनीति तथा निजामती सेवा पनि यहाँका मानिसहरूले उच्च तह प्राप्त गरिसकेका छन् । गणतन्त्र प्राप्तिपछि दुईपटक राष्ट्रपतिको जिम्मेवारी पनि भोजपुरकै विद्यादेवी भण्डारीले सम्हालिन् ।
भोजपुरमा सडक पूर्वाधारसँगै पर्यटकीय क्षेत्रमा समेत नमुनायोग्य कामहरू भइरहेका छन् । सीमित स्रोतको अधिकतम सदुयोग गर्दै स्थानीय तहहरूले प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा दीर्घकालीन महत्त्वका योजनाहरूको थालनी गरेका छन् । यहाँको पौवादुङमा गाउँपालिकाले आफ्नो स्राेत, प्रदेश तथा संघ सरकारसँगको सहकार्यमा तिवारीभञ्ज्याङ–अँधेरीघाट ३६ किलोमिटर सडक कालोपत्र थालेको छ । यो गाउँपालिकाले कृषि तथा पर्यटकीय क्षेत्रमा पनि योजनाबद्ध विकास थालेको अवस्था छ ।
सुक्खा क्षेत्रका रूपमा परिचित यो गाउँपालिकाले कृषि क्षेत्रमा गरेको लगानीले अकबरे खुर्सानीबाट मात्र वार्षिक आठ करोडसम्म आम्दानी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गाउँपालिकाले कृषकलाई दुग्ध उत्पादनसँग जोड्न चालू आर्थिक वर्षमा करिब दुई सयवटा उन्नत जातका गाईका बाछी वितरणको कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकालाई फुसको छानोमुक्त बनाउने लक्ष्यले धमाधम फुसको छानो हटाउने काम भइरहेको छ । ‘देश संघीय संरचनामा गएपछि स्थानीय सरकार सञ्चालनमा छन्,’ अध्यक्ष राईले भने, ‘स्थानीय सरकार सञ्चालन आएपछि केही नमुनायोग्य काम गर्न सफल भएका छौँ । जनताले स्थानीय सरकार भएको महसुस गर्न पाएका छन् ।’
प्रदेश सरकारको लगानीमा भोजपुर सदरमुकाम–टक्सार विमानस्थलसम्मको करिब साढे चार किलोमिटर कालोपत्र भएको छ । कोशी प्रदेश सरकार सञ्चालनमा भएपछि आस्फाल्ड प्रविधिमा निर्माण गरिएको पहिलो सडक पनि हो । भोजपुरमा ०६५ सालमा कच्ची सडक विस्तारपछि हेलिकाेप्टरबाट जिप ल्याएर सवारीसाधनको सञ्चालन गरिएको थियो । त्यो वेलासम्म जिल्लामा कालोपत्र सडक देख्न पाउने अवस्था थिएन । धनकुटा जिल्लामा सडक पुगेको ३१ वर्षपछि भोजपुरमा सडकको विस्तार भएको स्थानीय समाजसेवी गणेश श्रेष्ठ बताउँछन् ।
स्थानीय सरकार सञ्चालनपछि धेरै दूरगामी महत्त्व बोकेका योजनाहरू सञ्चालन भइरहेका छन् । जिल्लामा अहिले सडक, पुल, खानेपानी, कृषि पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा स्थानीयवासीले महसुस गर्ने खालको विकास भएको श्रेष्ठले बताए । उनले भने, ‘ठुला कालोपत्र सडक, पुलसँगै भौतिक संरचनाहरू निर्माण भइरहेका छन् । यसले नागरिकको जनजीवनमा प्रत्यक्ष लाभ पुगेको छ ।’ जिल्लामा स्थानीय सरकार सञ्चालनमा आएपछि सबै ८१ वटै वडामा कच्ची नै भए पनि सडक विस्तार भएको छ । प्रदेश सरकार लगानी तथा पहलमा यहाँका १२ वटा खोलामा पक्की पुल निर्माण भएका छन् भने दुईवटा पुल निर्माणको चरण रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको लगानीमा भोजपुर सदरमुकामबाट उत्तरको व्यापारिक केन्द्र दिङ्ला जोडने भोजपुर–दिङ्ला सडक कालोपत्रको काम भइरहेको छ । करिब ४७ किलोमिटर लामो यो सडकलाई दुई भागमा विभाजन गरी कालोपत्र गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । उनका अनुसार भोजपुर–दिङ्ला पहिलो प्याकेजअन्तर्गत पानीट्यांकीबाट तीनतलेसम्म ५८ करोड ४० लाखमा ठेक्का सम्झौता भएर काम भइरहेको छ भने दोस्रो प्याकेजअन्तर्गत तीनतले–दिङ्ला सडक ६३ करोड ९२ लाख लागतमा ठेक्का सम्झौता भएर काम सुरु भएको छ । कालोपत्र गर्ने लक्ष्यका साथ षडानन्द १२–तुर्के–झ्याउपोखरी–फालिदोबाटो सडकमा पनि काम भइरहेको छ । त्यस्तै भोजपुर–टक्सार–मानेभञ्ज्याङ–आरी खोला–बालङ्खा रानीटार सडक पनि कालोपत्र गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।
जिल्लाको खेलकुद क्षेत्रका विकास लागि प्रदेश सरकारको लगानीमा भोजपुर नगरपालिका– ७ कोदारमा अन्तर्राष्ट्रियस्तरको भोजपुर रंगशाला निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । रंगशाला कोशी प्रदेश सरकारको करिब रु. १४ करोड लागतमा निर्माण सम्पन्न भएको हो । जिल्लामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले भोजपुरवासीमा उत्साह थपिएको जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताए । विगतमा खेलमैदानको अभावले ठुलो प्रतियोगिता सञ्चालनमा समस्या भए पनि रंगशाला निर्माणले त्यो समस्याको अन्त्य भएको उनको भनाइ छ ।
भोजपुरमा पर्यटन क्षेत्रमा पनि उल्लेख्य काम भइरहेका छन् । स्थानीय तहहरूले आफ्नो ठाउँका पर्यटकीय क्षेत्रको पहिचान गरेर संरक्षण तथा विकासका लागि काम गरिरहेका छन् । नेपाल सरकारको सय घुम्नैपर्ने पर्यटकीय गन्तव्यमा पर्न सफल मुन्दुम पदमार्गको विकासमा टेम्केमैयुङ गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको छ । भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्लाका स्थानीय तहहरूलाई छोएको यो पदमार्गको विकासमा प्रदेश सरकार, संघीय सरकार, स्विस सरकार र भोजपुरका स्थानीय तहसँगै अन्य जिल्लाका स्थानीय तहहरूले पनि आवश्यक भूमिका खेलिरहेका छन् ।
यस पदमार्गलाई पूर्वको स्थापित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ विकास तथा विस्तारमा योजनाबद्ध रूपमा काम भइरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । ‘मुन्दुम पदमार्गलाई पूर्वको एक स्थापित गन्तव्य रूपमा विकास गरिरहेका छौँ,’ अध्यक्ष बस्नेतले भने, ‘यो पदमार्गलाई स्थानीयवासीको दिगो आम्दानीको स्राेतको रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’
रामप्रसाद राई गाउँपालिकाले डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिएको हो । यो क्षेत्रमा रहेको नेपालको राष्ट्रिय फूल लालीगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्ग निर्माण थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताए । पदमार्ग निर्माणमा करिब रु. ५४ लाख खर्च भएको उनको भनाइ छ ।
रामप्रसाद राई गाउँपालिका– १ ओख्रेमा निर्माण भइरहेको यो स्थानलाई आधार बनाएर आन्तरिक पर्यटन परिपथ निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । हाल आख्रे बजारबाट करिब ६ किलोमिटर पदमार्ग निर्माण भएको अध्यक्ष राईले बताए । यस पदमार्गलाई वडा ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना रहेको छ । पर्यटकलाई लक्षित गरेर यहाँ करिब एक सय रोपनी क्षेत्रमा चिया खेती विस्तार थालिएको अध्यक्ष राईले बताए । यहाँ आउने पर्यटकलाई लक्षित गरेर घरवास (होमस्टे) निर्माण गरिने अध्यक्ष राईले जानकारी दिए । यसलाई बृहत् मुन्दुम ट्रेलसँग जोड्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।
हतुवागढी गाउँपालिकाले पनि जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएको हो । विभिन्न आर्थिक वर्षमा यो पदमार्ग निर्माण लागि प्रदेश सरकारसँगको सहकार्यमा करिब तीन करोड लगानी भइसकेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रूपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको उनको भनाइ छ ।
यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमा सिद्धकाली देवी मन्दिर, नागछाँगा, पशुपति मन्दिर तिम्मा, रामजानकी मन्दिर दिङ्ला, ट्याम्केडाँडा, नेपालको पहिलोबौद्ध बिहार टक्सार, च्याङ्ग्रेपोखरी, सन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी, कालिकादेवी, सेल्मेडाँडा, सुन्तलेडाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगायत पर्दछन् । त्यस्तै बेहेश्वर मन्दिर, हतुवागढी, हाँसपोखरी, चार हजार १५३ मिटर उचाइ रहेको भोजपुरको सबैभन्दा अग्लो स्थान सिलिचुङ चुचुरो र १५३ मिटर उचाइ रहेको जिल्लाको सबैभन्दा होचो धार्मिक क्षेत्र माईबेनी यहाँका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रहरू हुन् । रासस