प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति रुष्ट देउवानिकट नेताहरूले पार्टीको आन्तरिक कार्यक्रममा मात्र नभई सार्वजनिक रूपमै गर्न थाले सरकारको आलोचना
कांग्रेसका संस्थापन समूहकै नेताहरू सरकारको कामकारबाही र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । पार्टीको आन्तरिक कार्यक्रममा मात्र होइन, सभापति शेरबहादुर देउवानिकट नेताहरूले सार्वजनिक रूपमै सरकारको आलोचना गर्न थालेका छन् । डा. शेखर कोइरालालगायत इतर समूहका नेताहरूले अपेक्षाअनुसार काम नभएको भन्दै लगातार सरकारको आलोचना गरिरहेका छन् ।
मुलुकका दुई ठुला दल मिलेर सरकार बनाउँदा पनि सातबुँदे सहमति उद्देश्यअनुसार जनस्तरमा महसुस हुने गरी काम हुन नसकेको भन्दै नेताहरूले शृंखलाबद्ध प्रश्न उठाएका छन् । डा. कोइराला, महामन्त्री गगन थापा, डा. डिला संग्रौला र नैनसिंह महरलगायत नेताहरूले सरकारको कामप्रति सार्वजनिक रूपमै आलोचना गरेका छन् ।
डा. कोइरालाले सरकारको सय दिनको समयावधि पूरा गर्नु अगावैबाट सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । प्रतिशोध साधेर रवि लामिछानेको पक्राउ गरिएको, सहकारी समस्या समाधानमा सरकार उदासीन भएको, जिल्ला तहसम्म सत्तागठबन्धनको संयन्त्र बनाउनेलगायतका विषयमा उनको असन्तुष्टि छ ।
गत शनिबार धनगढीमा प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दे कोइरालाले सरकार उद्देश्यअनुसार चल्न नसकेकाले यसले आफूलाई निराशा भएको बताए । ‘छिटोछिटो सरकार परिवर्तन हुने कार्य रोकेर देशमा स्थिरता कायम गर्न दुई ठुला दलको सरकार बनाएका हौँ । तर, सरकारले उद्देश्यअनुसार परिणाम दिन सकेन,’ उनले भनेका थिए, ‘एमालेसँग कांग्रेसले सहकार्य र प्रतिस्पर्धा सँगसँगै गर्नुपर्नेछ । सरकारमा सहकार्य र राजनीतिमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेकाले कांग्रेस चनाखो हुनुपर्छ ।’
५ पुसमा महामन्त्री थापाले राजधानीमा सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै सरकारले गति लिन नसकेको, तर तत्काल सरकारमा हेरफेर नहुने बताएका थिए । ‘सरकार बनिसकेपछि जुन खालको आशा थियो त्योअनुसार डेलिभरी भइरहेको छैन,’ उनको भनाइ थियो, ‘सरकारको कामका विषयमा सबैभन्दा बढी सचेत प्रधानमन्त्री आफैँ रहनुपर्छ, उहाँ हुनुहुन्छ ।’
त्यस्तै, संस्थापननिकट कांग्रेस केन्द्रीय सदस्य तथा कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महर सरकार सातबुँदे सहमतिअनुसार चल्न नसकेको बताउँछन् । कांग्रेसको जारी सयदिने विशेष अभियानअन्तर्गत मंगलबार कांग्रेस सूर्योदय नगर कार्यसमिति इलामले आयोजना गरेको कार्यक्रममा महरले दुई ठुला शक्ति एक ठाउँमा आउँदा सुरुमा जनतामा ठुलो आशा रहे पनि निराशा देखिएको बताएका थिए । ‘सरकार गठन भएको पाँच महिना बित्दा पनि गठबन्धनको स्पिडअनुसार चल्न सकेको छैन । यसले कांग्रेसको घोषणापत्रलाई पनि धेरै ध्यान दिएको देखिँदैन । जनतामाझ व्याप्त निराशा आशामा परिणत गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता थियो,’ उनले भने, ‘प्रतिबद्धताअनुसार काम नहुँदा पुनः जनतामा वितृष्णा फैलिने हो कि भन्ने डर बढ्न थालेको छ । सरकार कांग्रेसको तेजोबध हुने गरी अगाडि बढिरहेको आभाससमेत हुन थालेको छ । सरकार कांग्रेसको गरिमा घटाउने गरी अगाडि बढिरहे समीक्षा हुन सक्छ ।’
महर पार्टीको समूह विशेष फाइदा र बेफाइदाका लागि आफ्नो अभिव्यक्ति नभएको दाबी गर्छन् । उनले तल्लो तहसम्म पुगेर जनता र कांग्रेसजनको भावना अनुभूत गरेको तथ्यका आधारमा सरकारबारे आफ्नो व्यक्तिगत धारणा राखेको बताउँछन् ।
संस्थापननिकट केन्द्रीय सदस्य डा. डिला संग्रौलाको पनि सरकारको कार्यशैली सन्तोषजनक नरहेको टिप्पणी छ । मंगलबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा संग्रौलाले उद्देश्यअनुसार सरकार अगाडि बढ्न नसकेको बताएकी थिइन् । ‘गठबन्धन सरकारले जनस्तरमा सरकार भएको महसुस गराउन सकेको छैन । विकासको अनुभूति भएको देखिएन । एउटा उद्देश्यअनुसार सरकार बन्यो । तर, सरकार सञ्चालनमा भएकाहरू अलमलमा छन्,’ उनले भनिन् ।
विश्लेषक पुरञ्जन आचार्य सरकार दुई दलबिचको सातबुँदे सहमति पूरा गर्नेतर्फ नभई अन्य विषयमा अल्झँदा कांग्रेसमा बेचैनी सुरु भएको र यसको असर भावी राजनीतिमा देखिन सक्ने बताउँछन् । ‘सरकार बनाउँदा संविधान संशोधन गर्न राष्ट्रिय सहमति जुटाउन छलफल गर्ने, आर्थिक गतिविधि बढाउने र सुशासन कायम गर्ने भन्ने थियो । तर, यी कुनै पनि कामले गति नलिँदा कांग्रेसभित्र व्यापक छटपटी सुरु भएको छ,’ उनी भन्छन्, ‘सरकारको काम प्रभावकारी नभएपछि यसको अपजस कांग्रेसमा आएको छ । अन्तर्राष्ट्रिय राजनीतिको आयाममा पनि सरकार फितलो देखियो । सबैले आ–आफ्नो राजनीतिक भविष्य हेरेका छन् ।’
सरकारको काम प्रभावकारी बनाउने गृहकार्य
सरकारको काम अपेक्षाकृत नदेखिएपछि कांग्रेस र एमालेले कार्यदलमार्फत काम प्रभावकारी बनाउने गृहकार्य गरेका छन् । दुई दलले सरकारले सोचेअनुसार गति लिन नसकेको निष्कर्षसहित तीनवटा कार्यदल गठन गरेका छन् । संविधान संशोधन, संसद्मा विचाराधीन विधेयकलाई अघि बढाउन र सरकारको सेवाप्रवाहसँग सम्बन्धित रहेर सुझाव पेस गर्ने गरी छुट्टाछुट्टै कार्यदल बनाइएको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले सरकारले पाँच महिनाको अवधिमा महत्वपूर्ण काम अगाडि बढाएको भन्दै सन्तुष्टि व्यक्त गरे पनि थप सुधारको खाँचो रहेको औँल्लाएको छ । ‘पाँच महिनामा केही महत्वपूर्ण काम अगाडि बढेकोमा बैठकले सन्तुष्टि व्यक्त गरेको छ । सँगसँगै सरकारको कामलाई गति दिनुपर्ने र अझ धेरै सुधारको काम गर्नुपर्ने आवश्यकताबोध पनि गरेको छ,’ बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भनेका थिए ।