पार्टीबाट राजीनामा दिएर पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग दुई सर्त राखेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार करिब एक घण्टा भएको भेटवार्तामा गौतमले आफ्नो सक्रिय भूमिका र संसदीय व्यवस्थाको विकल्प खोज्ने विषयमा छलफल चलाउनुपर्ने सर्त राखेका हुन् ।
नेपालसँग समय लिएर आलोकनगर पुगेका गौतमले सुरुमा एकीकृत समाजवादीमा सक्रिय भूमिकाको प्रस्ताव गरे । ‘मैले कसरी काम गर्न चाहन्छु भनेर उहाँसँग भनेँ । मान होइन, काम गर्ने पद चाहिन्छ भनेँ । मेरो अनुरोध पूरै सक्रिय भएर लाग्छु भन्ने हो । यत्रो ठुलो संरचना परिचालन गर्दा शक्ति आर्जन हुन्छ,’ गौतमले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रव्यापी संयत्र छ, केन्द्रीय सदस्यलाई होलटाइमर बनाएर देशव्यापी खटाउने हो भने ठुलो पार्टी बनाउन सकिन्छ ।’
जवाफमा नेपालले ‘तपाईंलाई वरिष्ठ नेता दिने कुरा छ’ भने । गौतमले ‘काम गर्ने वरिष्ठ चाहिन्छ, मान खाने होइन’ भने । नेपालले सम्मानित नेता बन्ने त ? भन्ने प्रश्नमा गौतमले भने, ‘त्यो चाहिँदैन ।’
त्यसपछि दोस्रो विषयमा प्रवेश गरेका गौतमले संसदीय व्यवस्था असफल भएको निष्कर्ष सुनाउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा पार्टी उभिनुपर्ने सुझाए । ‘सानातिना विषयले जनता आकर्षित हुँदैनन् । हामीले अन्तर्राष्ट्रिय विषय बन्ने गरी आन्दोलन अगाडि बढाउनुपर्छ,’ गौतमले भेटमा भने, ‘संसदीय व्यवस्था असफल भयो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाऔँ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाऔँ । र, सामूहिक उत्पादन प्रणालीमा जाऔँ ।’
नेपालले राष्ट्रपति प्रणाली पनि देखिएको भन्दै ‘राष्ट्रपति राष्ट्रघाती भयो भने के हुन्छ ? भन्ने प्रश्न गरेका थिए । गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय तत्काल एजेन्डा नबने पनि पार्टी बैठकमा विषय राख्न पाउनुपर्ने बताएका छन् । ‘मैले कुरा राख्न पाउनुपर्छ । केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीमा विषय राख्न पाउनुपर्छ भन्ने हो,’ गौतमले भने ।
गौतमसँग राम्रै कुराकानी भएको नेपालले बताए । ‘उहाँ आउनुभएको थियो, राम्रै कुराकानी भयो,’ नेपालले नयाँ पत्रिकासँग भने, ‘हामी फेरि थप छलफल गर्छौँ ।’
बैठकपछि पुराना संस्मरण पुनर्जीवित गरिएको बताए । ‘नयाँ आकाशतर्फ फेरि हिँड्नुपर्छ भन्ने पनि कुरा भयो । र, आजलाई स्थगित भयो । एकीकृत समाजवादीमा आउने सम्भावना छँदै छ,’ गौतमले भने ।
सचिवालयका नेतासहित गौतमसँग अर्को छलफल गर्ने नेपालको तयारी छ । एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजन भइसकेकाले गौतमसहितका ‘पार्टी एकता राष्ट्रिय अभियान’का नेताहरूको व्यवस्थापन चुनौतीपूर्ण छ ।
एमालेबाट राजीनामा दिएर गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् । अभियानमा अध्यक्ष एक, उपाध्यक्ष सात, महासचिव एक, उपमहासचिव एक, सचिव एक, कोषाध्यक्ष एकसहित ८९ सदस्यीय केन्द्रीय कमिटी छ ।