एउटै कार्यकालका पूर्वराष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ बिहीबार फेरि राजनीतिक चर्चामा आएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भण्डारीसँग भेटवार्ता गरेका छन् भने पुन माओवादी स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । भण्डारीको सक्रिय राजनीतिमा फर्कने गृहकार्य छ भने पुनले पार्टी राजनीति सुरु गरिसकेका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकको सँघारमा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । बुढानीलकण्ठ चपलीस्थित पूर्वराष्ट्रपति निवासमा पुगेर प्रधानमन्त्री ओलीले दुई घण्टा भेटवार्ता गरेको उनको सचिवालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । भेटमा पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
पूर्वराष्ट्रपति भण्डारी एमालेमा नेतृत्व लिने गरी राजनीतिमा फर्किने कसरतमा रहेको र त्यसका लागि नेताहरूसँग निरन्तर संवादमा रहेको समाचार आइरहेको वेला प्रधानमन्त्री ओलीको पछिल्लो भेटलाई अर्थपूर्ण मानिएको छ । एमालेमा एउटा समूह भण्डारीलाई पार्टी राजनीतिमा भित्र्याएर अध्यक्ष बनाउने रणनीतिमा छ ।
ओलीले पनि राजनीतिमा सक्रिय हुने कि नहुने उनीसँगै सम्बन्धित विषय भएकाले कसैले हल्ला चलाएको वा सक्रियताका लागि आग्रह गरेकै भरमा भण्डारी राजनीतिमा सक्रिय नहुने बताउँदै आएका छन् । यद्यपि, भण्डारी राजनीतिमा आउन चाहे एमालेले सोच्न सक्ने पनि ओलीले बताउँदै आएका छन् । महासचिव शंकर पोखरेलले भण्डारी राजनीतिमा आए स्वागत गरिने बताएका छन् ।
बिहीबार नै पूर्वउपराष्ट्रपति पुन माओवादीको स्थायी समिति बैठकमा पनि उपस्थित भए । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा पुन पनि सहभागी थिए । यसअघि उनी माओवादी अध्यक्ष प्रचण्डनिवासमा बस्ने पदाधिकारी बैठकमा उपस्थित हुँदै आएका थिए ।
पुन आमन्त्रितको रूपमा बैठकमा उपस्थित हुँदै आएका छन् । आगामी केन्द्रीय कमिटी बैठकबाट पुनलाई उपाध्यक्ष बनाउने तयारी छ । पुनले सार्वजनिक कार्यक्रममै रातो झन्डा बोक्न तयार रहेको भन्दै राजनीतिमा सक्रिय हुने संकेत गरिसकेका छन् ।