मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौंको
२o८१ पौष २१ आइतबार १o:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि आज मुद्दा दायर हुँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंको
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार १o:३४:oo

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिनामा आइतबार जिल्ला अदालतमा मुद्दा दायरको तयारी भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गर्न लागेको हो। 

प्रहरीले सो सहकारीमा एक अर्ब १९ करोड हिनामिना भएको भन्दै ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ। पूर्वगृहमन्त्री रवि लामिछानेलाई समेत प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ ।  

ऋण उपसमिति सदस्य कमल लामा र लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । संगठित अपराध मुद्दामा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । सुनितालाई प्रहरीले गत २० कात्तिकमा पक्राउ गरेकाले २० पुसमा ६० दिन पुगेको छ। २० गते शनिबार भएपछि आइतबार मुद्दा दायर हुन लागेको हो । 

बचतकर्ताहरूले एक अर्ब १९ करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी दिएका छन् । प्रहरीले स्वर्णलक्ष्मी सहकारीको ठगीमा ४४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । जसमा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसमेत छन् । हाल कास्की प्रहरीको हिरासतमा रहेका उनीहरूविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर हुन लागेको हो । करिब एक महिनाअघि पोखराबाट ल्याएर उनीहरूको प्रहरीले काठमाडौंमा बयान लिएको थियो । 

स्वर्णलक्ष्मी सहकारीबाट पनि गोर्खा मिडियामा गैरकानुनी रूपमा पैसा गएको थियो । सो पैसा खर्च गर्ने भूमिकामा लामिछानेसमेत रहेको भन्दै उनलाई पनि प्रतिवादी बनाउन लागिएको छ । रास्वपाले भने सहकारी ठगीमा संलग्न नभए पनि गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा सहकारी ठगीको मुद्दा चलाउनु राजनीतिक प्रतिशोध भएको आरोप लगाउँदै आएको छ । 

काठमाडौंमा पनि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसमेत अनुसन्धान गरेकोमा कुन–कुन मुद्दा चल्ने निर्णय भएको छैन। स्रोतका अनुसार महान्यायाधिवक्ता कार्यालयमा यस विषयमा छलफल भइरहेको छ। जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले भने, ‘महान्यायाधिवक्ता कार्यालयमा छलफल जारी छ, मुद्दा दर्ताको विषयमा केही घण्टामै निर्णय हुन्छ।’

महान्यायाधिवक्ता रमेश बडाल आफैँले सो मुद्दामा चासो राखेका छन्।