चीनको तिब्बतमा आज (मंगलबार) बिहान गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ। चिनियाँ सञ्चारमाध्यम सिजिटिएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिंग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ ।
मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिंग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उदगम विन्दु (गहिराइ) १० किलोमिटर रहेको छ ।
सिसिटिभीका अनुसार भूकम्पको केन्द्रविन्दुको पाँच किलोमिटर आसपासमा सातवटा गाउँ रहेका छन् । त्यस्तै, केन्द्रविन्दुको २० किलोमिटर आसपासमा भने दुईवटा सहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।
युएस जियोलोजिकल सर्भेले भने उक्त भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको समाचारहरू आएका छन्। यसअघि सन् २००८ मा चीनको सिचुवान प्रान्तमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ७० हजारजनाको मृत्यु भएको थियो । त्यस्तै, नेपालमा ०७२ साल वैशाख १२ गते ७.६ म्याग्निच्युडको गोरखा भूकम्पमा परी करिब नाै हजारको मृत्यु भएको थियो । एजेन्सी