परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छिन्।
परराष्ट्रमन्त्री डा. राणासँग बुधबार मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपिनको अवस्थाबारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन्।
हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री डा. राणाले इजरायली राजदूतसँग जानकारी लिएकी हुन्। हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरणमुक्त गर्न लागेका भन्ने समाचार आएपछि जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा. राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी थिइन्।
भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासमेतकाे नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरूलाई नियन्त्रणमुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी गराएका थिए।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए। त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लगेकामा विपिन जोशी पनि रहेका छन्।