पशुपति क्षेत्र विकास कोषले जागिरबाट निकाला गरेको भन्दै ३७ जना सरसफाइ कर्मचारी धर्नामा बसेका छन्। ०७५ सालदेखि कोषभित्र सरसफाइलगायतका काम गर्दै आइरहेका उनीहरूले आफूलाई निकालेर कोषले नयाँ कर्मचारी राख्न लागेको आरोप लगाएका छन्।
कोषले पुसदेखि उनीहरूसँग करार नवीकरण गरेको छैन। अस्थायी कर्मचारीहरूका रूपमा रहेका उनीहरू कोषले निकाला गरेपछि एक सातायता धर्नामा छन्। निष्कासित कर्मचारीहरू श्रम अदालत पुगेपछि ५ पुसमा अदालतले ‘स्टे अर्डर’ दिएको थियो। तर, त्यसको कार्यान्वयन नभएको धर्नामा बसेका रवि केसीले बताए।
यता कोषले भने बैंकले सामाजिक उत्तरदायित्वअन्तगर्त सफाइ कर्मचारी राख्न तलब दिँदै आए पनि यसपटकदेखि सम्झौता तोडेकाले कर्मचारीहरू निकाल्नुपरेको बताएको छ। कोषका प्रवक्ता रेवतीरमण अधिकारीले निजी बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत दिएको रकमबाट केही सफाइ कर्मचारी राखिएको र बैंकले नै सो सम्झौता हाललाई तोड्ने भनेपछि ती कर्मचारी स्वतः निस्किने बताए।
‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सामाजिक उत्तरदायित्वबापत केही सरसफाइ कर्मचारी राखिदिएको थियो, तर अब त्यसअन्तर्गतको रकम बैंकले नदिने भएपछि कर्मचारीहरू राख्न नसकिएको हो। कोषकै खर्चमा उहाँहरूलाई राखिएको होइन,’ उनले भने, ‘बैंकले फेरि उक्त सहयोगलाई निरन्तरता दियो भने ती कर्मचारीहरूले काम गर्न पाउँछन्, तर मंसिरदेखि बैंकले सो रकम नदिने भनेको छ।’
कोषमा यसबाहेक अन्य संघसंस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत केही सफाइ कर्मचारी राख्न सहयोग गर्दै आइरहेका छन्।