मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २४ बुधबार १५:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्याकेज ल्याउने मन्त्री शाहीको प्रतिबद्धता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार १५:३५:oo

वन तथा वातावरणमन्‍त्री ऐनबहादुर शाही ठकुरीले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सरकारले विशेष प्याकेज ल्याउने प्रतिबद्धता जनाएका छन्। झापाको मेचीनगर नगरपालिकामा मानव–हात्ती सहअस्तित्वका लागि भन्दै प्रतिनिधिसभा सदस्य झापा क्षेत्र नम्बर १ सचिवालयले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहीले यस्तो बताएका हुन्।

उनले भने, ‘झापामा यो समस्या धेरै वर्षदेखिको हो। समस्या समाधानका लागि आगामी आर्थिक वर्षभित्र विशेष प्याकेज नै ल्याइन्छ। उनले मानव–वन्यजन्तु द्वन्द्वका कारण दिइने राहत प्रक्रियालाई पनि छिटो र सहज बनाउने प्रतिबद्धता व्यक्त गरे।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्‍त्री सदानन्द मण्डलले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय र प्रदेश सरकारको मात्रै नभएर संघीय सरकारको पनि सहयोग अपरिहार्य रहेको बताए। कोशी प्रदेशका वनसचिव विशाल घिमिरेले द्वन्द्व कम गर्न विभिन्न उपायहरू अवलम्बन गरिएको उल्लेख गर्दै कृषि बालीको बिमा गर्न देखिएको समस्या समाधान गर्न मन्त्रीहरूलाई आग्रह गरेका थिए।

पछिल्लो समय झापाको मेचीनगर नगरपालिका– ४ मा हात्ती–मानव द्वन्द्व कम गर्न गरिएका प्रयासहरूलाई अन्यत्र पनि लैजान सरोकारवालाहरूले जोड दिएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव नरेश सुवेदीले द्वन्द्व न्यूनीकरणका लागि सुरु गरिएको सोलार विद्युतीय तारबार, वैकल्पिक खेती प्रणाली, द्रुत प्रतिकार्य टोली परिचालनलगायतका अभ्यासहरूलाई निरन्तरता दिइनुपर्ने बताए।

कोषले कोशीका विभिन्न ठाउँहरूमा जनचेतना अभिवृद्धि गर्दै द्रुत प्रतिकार्य टोली गठन गरिरहेको कोषका कोशी संरक्षण केन्द्र प्रमुख वीरेन्द्र गौतमले बताए। डिभिजन वन कार्यालय झापासँगको समन्वयमा विभिन्न पालिकाहरूमा गठन भएका ६ वटा द्रुत प्रतिकार्य टोलीलाई क्षमता अभिवृद्धि गर्ने काम भइरहेको कार्यालय प्रमुख गौतमले जानकारी दिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले हात्ती द्वन्द्व नियन्त्रणका लागि संरक्षण कार्ययोजना बनाइरहेको सन्दर्भ उल्लेख गर्दै सबैको सहयोग आवश्यक रहेको बताए।

मेचीनगरका मेयर गोपाल बुढाथोकीले राहत वितरणमा हुने ढिलाइ अविलम्ब समाधान गर्न प्रदेश र संघीय सरकारका मन्त्रीहरूलाई आग्रह गरे। उनले हात्तीबाट सिर्जित समस्या समाधानका लागि संघीय र प्रदेश वन मन्त्रीहरूलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका थिए। 

झापा क्षेत्र नम्बर १ का सांसद समेत रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले द्वन्द्व समाधानका लागि सबै सरोकारवालाहरूको उपस्थितिमा बनाइएको साझा धारणालाई मेयर बुढाथोकीले संघीय र प्रदेश वनमन्त्रीहरूलाई बुझाएकाे जानकारी दिए।

छलफलपछि सो टोलीले झापाका हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्दै अन्तर्क्रियासमेत गरेकाे थियाे। उनीहरूले भारतबाट नेपाल प्रवेश गर्ने हात्तीको नाकासमेत अवलोकन गरे। स्थानीयवासीले विद्युतीय तारबार निर्माण र मेची खोलामा तटबन्धन निर्माण गरे हात्ती प्रवेशलाई रोक्न सकिने धारणा राखेका थिए।

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक वर्ष ०७१/७२ देखि झापा जिल्लाका विभिन्न हात्ती प्रभावित क्षेत्रहरूमा करिब ९१ किलोमिटर सोलार विद्युतीय तारबार जडान गरिसकेको संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले जानकारी दिए। यो अवधिमा करिब ११ करोडभन्दा बढी लगानी गरिएको उनको भनाइ छ।

कोषको कोशी संरक्षण केन्द्रका अनुसार झापा जिल्लामा २०६९ सालयता द्वन्द्वका कारण २१ वटा हात्तीको मृत्यु भएको छ। यस्तै ७२ जना मानिसको हात्ती आक्रमणमा परी ज्यान गइसकेको छ।