संसदीय समितिले मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बुधबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिवलगायतसँग छलफल गरेर रकम सुनिश्चित गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।
‘युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू मूलपानी क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने,’ समितिको निर्णयमा भनिएको छ।
यसैगरी, समितिले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने गरी प्रभावकारी कार्यान्वयन गर्न खेलकुद मन्त्रालयलाई समेत निर्देशन दिएको छ।