मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
२o८१ पौष २३ मंगलबार o९:o८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ससुरालीको जग्गा विवादमा मोहीलाई तर्साउन पूर्वउपरथी पाण्डेले सेना र गाडीको दुरुपयोग गरेको आरोप

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार o९:o८:oo

पूर्वउपरथी विज्ञानदेव पाण्डेले ससुरालीको जग्गा विवादमा मोहीलाई तर्साउन सेना र गाडी दुरुपयोग गरेको आरोप लागेको छ । पश्चिम पृतनाको बा१झ ६६८९ नम्बरको गाडी र बर्दीधारी तीन सैनिकसहित पोखरा–३० पावरहाउसस्थित जग्गा रहेको स्थानमा आएका पाण्डेले आफूहरूलाई धम्काएको मोहीले बताएका छन् । 
पूर्वउपरथी पाण्डे गत ३ पुसमा साला सुमन रायमाझी र सैनिक जवानहरूसँगै ४५ रोपनी क्षेत्रफलमा फैलिएको विवादित जग्गामा पुगेका थिए । जग्गाको चार–पाँच फन्को लगाएपछि उनले मोहीले बनाएका अस्थायी घर डोजर लगाएर भत्काइदिने र जग्गा नदिने भन्दै धम्क्याएको पीडितहरूको भनाइ छ । पाण्डेका ससुरा ख्यामबहादुर रायमाझी भने जग्गामा नगई सेनाको गाडीमै बसेका थिए । सेनासहित आएर मोहीलाई धम्काउन थालेको थाहा पाएपछि जम्मा भएका स्थानीयले प्रतिवाद गरेका थिए । त्यसपछि पाण्डे दिउँसो करिब ४:३० बजेतिर त्यहाँबाट फर्किएका थिए ।

के हो जग्गा विवाद ?
मुक्तिबहादुर रायमाझीका नौ छोरा थिए । पाँचौँ नम्बरका छोरा ख्यामबहादुर रायमाझी पूर्वउपरथी पाण्डेका ससुरा हुन् । मुक्तिले ०२७ मा छोराहरूलाई अंशबन्डा गरिदिएका थिए । हाल विवादमा रहेको जग्गा गेहेन्द्रबहादुर, झपटबहादुर र हेमबहादुरको भागमा परेको थियो । अन्य दाजुभाइले अन्यत्रको जग्गा लिए । अंशबन्डा गर्दा जग्गा २७ रोपनी थियो । ०३२ को नापीमा समेत सो जग्गा उनीहरू तीनजनाको नाममा गएको थियो । पछि छुट रहेको १८ रोपनी जग्गा ०४१ मा त्यसमा गाभेर ४५ रोपनी पुगेको थियो । त्यसमध्ये २१ रोपनी जग्गा अर्को भाइ ध्रुवलाई दिने सहमति गेहेन्द्र, झपट र हेमबहादुरबिच भएको थियो । छुट जग्गाको लालपुर्जा भने ०६६ मा मात्र बन्यो । लालपुर्जा बनेसँगै पाण्डेका ससुरा ख्यामबहादुरले ०६६ मै १८ रोपनी जग्गा अंशबन्डाको भन्दै अदालतमा मुद्दा हाले ।०२७ मा अदालतले अंशबन्डा भएको २७ रोपनी र पछिको १८ रोपनी जग्गालाई एकै मेलोमा राखेर आठ भाइले भागबन्डा गर्ने फैसला गरिदिएको थियो । ०२७ मा अंशबन्डा भएर अर्को जग्गा लिइसकेको र आफ्नो हकभोग नलाग्ने जग्गामा मुद्दा हालेका ख्यामबहादुरको पक्षमा अदालतको फैसला आएपछि ससुरालीको जग्गामा शक्ति देखाउन पाण्डे मोहीलाई तर्साउन गएका हुन् । 

०२७ मा अंशबन्डा हुनुअघि नौ दाजुभाइमध्येका झपटबहादुरले ०२२ मा अम्मरबहादुर मल्ल ठकुरीलाई जग्गामा खेती र संरक्षणका लागि ल्याएर राखेका थिए । अम्बरबहादुरको ०५४ मा मृत्यु भएपछि उनका पाँच छोराहरूले हाल सो जग्गामा खेतीसँगै रेखदेख गर्दै आएका छन् । ०४८ मा जग्गाधनी रायमाझी दाजुभाइले उनीहरूलाई एक रोपनीका दरले जग्गा दिने भनेर कागजसमेत गरेका थिए । पछि उनीहरूको सहमतिमा अम्मरबहादुरका पाँचमध्ये चार छोराले टिनले छाएर घर बनाए ।

झपटबहादुरका छोरा भरतका अनुसार सुरुमा जग्गा खेती गर्नसमेत नमिल्ने अवस्थामा थियो । बुबाले अम्मरबहादुरलाई ल्याएर राखेपछि जग्गाको संरक्षणसँगै खेतीपाती गर्न सुरु भएको बताए । उनीहरूलाई पहिला भनेअनुसार जग्गा दिएर मात्र दाजुभाइले भागबन्डा गर्नुपर्ने भनाइ ख्यामबहादुरबाहेक अन्य दाजुभाइको छ । तीन वर्षअघि अदालतले आठजनाले भाग लगाएर खानू भन्ने निर्णय गरे पनि अंशबन्डा गर्दा सो जग्गा तीनजनाको मात्र रहेकाले काका ख्यामबहादुरले यो जग्गामा कतैबाट पनि दाबी गर्न नमिल्ने भरतको भनाइ छ । पाँच मोहीमध्येका एक कर्णबहादुर मल्लले आफूले यसअघि कहिल्यै नदेखेको र नचिनेको मान्छे एकैपटक सेना लिई आएर आफूहरूलाई तिमीहरूले जग्गा पाउँदैनौँ, घरमा डोजर लगाइदिन्छु, यहाँबाट छाड भन्दै धम्क्याउने काम गरेको बताए । 

पूर्वउपरथी पाण्डेले आफू ससुराली जग्गामा गएको बताए । ‘८२ वर्षीय ससुराले जाऊँ भनेपछि गएको हुँ । मैले ससुराको जग्गामा जान पनि नपाउने भन्ने छ ? ३७ वर्ष सेनामा जागिर खाएँ, निवृत्त भएपछि सेनाको गाडी चढ्न नपाउने भन्ने कहाँ लेखेको छ ?’ प्रतिप्रश्न गर्दै नयाँ पत्रिकासँग उनले भने । 

दुरुपयोग गरेको भए छानबिन हुन्छ : सहायक रथी गौरवकुमार केसी, सूचना अधिकारी, नेपाली सेना
पूर्वसैनिक अधिकृतहरूले गाडी सुविधा पाउँदैनन् । कसैले आफ्नो कामका लागि गाडी सहयोग मागे दिने चलन छ । त्यस दिन पाण्डेले पोखरास्थित पश्चिम पृतनाबाट गाडी सहयोग चाहियो भनी माग्नुभएको रहेछ ।

उहाँले आफूलाई गाडी सहयोग चाहियो भनी अनुरोध गरेपछि पृतनाले कार्यालय प्रयोजनका लागि प्रयोग गर्ने गाडी दिएको रहेछ । उहाँले गाडी कहाँ लिएर जानुभयो त्यो भने हामीलाई जानकारी छैन । यदि उहाँले गाडीसँगै सैनिक लगेर दुरुपयोग गरेको भए छानबिन हुन्छ ।

भिडियो: