भारी हिमपात र चिसो वर्षाका कारण आइतबार युरोपको जनजीवन प्रभावित बनेको छ । विशेषगरी बेलायत र जर्मनीका धेरै विमानस्थलले उडानहरू स्थगित गरेका छन् ।
बेलायतमा तीन सय मिटर (९८५ फिट) माथिको भू–भागमा ४० सेन्टिमिटर (१५ इन्च) सम्म हिउँ जम्ने भएकाले विशेषगरी इङ्ल्यान्डको उत्तरी भेगका धेरै ग्रामीण समुदाय अलग्गिन सक्ने चिन्ता छ ।
हिमपातका कारण विद्युत सेवामा समेत समस्या भएको छ । विद्युत सञ्जालको निरीक्षण गर्ने नेसनल ग्रिडले देशभर विद्युत आपूर्ति बन्द भएको र पुनःस्थापना गर्ने काम भइरहेको जनाएको छ । कम्पनीका अनुसार मध्य इङ्गल्यान्डको बर्मिङ्घम, पश्चिममा ब्रिस्टल र वेल्सको कार्डिफमा विद्युत् कटौती भएको छ ।
धेरै खेलकुद कार्यक्रम पहिले नै स्थगित भइसकेका छन् । लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्ग बन्द गर्नुपरेको थियो ।
क्रिसमस र नयाँ वर्षको बिदाबाट धेरै परिवारहरू घर फर्किने र विद्यार्थीहरू विश्वविद्यालयतर्फ फर्कने दिन भएकाले अत्यन्त व्यस्त हुने आइतबार सडक सञ्जाल पनि व्यापक रूपमा प्रभावित भएको थियो ।
स्थानीय अधिकारीहरूले धेरै सडक पहिले नै बन्द गरेका थिए तर अन्यत्र फसेका सवारीसाधन र दुर्घटनाहरूले अवरोध सिर्जना गरेका छन् । रेलमार्गमा धेरै सेवाहरू रद्द गरिए र राष्ट्रिय रेलले अवरोध सोमबारसम्म जारी रहने चेतावनी दिएको छ ।
बेलायतको मुख्य मौसम पूर्वानुमानकर्ता मेट अफिसले आइतबार हिमपात र असिना उत्तरतर्फ बढ्ने र उत्तरी इङ्गल्यान्ड र दक्षिणी स्कटल्याण्डमा सबैभन्दा बढी हुने बताएको छ ।
वातावरण एजेन्सीले दक्षिणी इङ्गल्यान्डमा टाव नदी र एभन नदीमा आठवटा बाढीको चेतावनी पनि जारी गरेको छ ।
हिउँ र बरफले जर्मनीमा पनि विनाश निम्त्याइरहेको छ । त्यहाँ दक्षिणपश्चिमबाट जाडो फैलिएको छ । अधिकारीहरूले चालक र पैदल यात्रीहरूका लागि ब्लाक स्नोको चेतावनी जारी गरेका छन् । मानिसहरूलाई सम्भव भएसम्म घरमै बस्न सल्लाह दिएका छन् ।
फ्रेङ्कफर्ट विमानस्थलले आइतबार योजना गरिएका एक हजार ९० उडान र अवतरणमध्ये १२० रद्द गरेको फ्रापोर्ट प्रेस कार्यालयले जनायो । म्युनिख विमानस्थलमा एउटा धावनमार्ग खुला थियो भने अर्को सफा गरिँदै थियो ।
बाडेन–वुर्टेमबर्गमा हेमिङ्गेन सहर नजिकै एउटा बस चिप्लेर सडकबाट बाहिर जाँदा आठ जना घाइते भए । फ्रेङ्कफर्ट क्षेत्रमा लामो दूरीका रेल सम्पर्कहरूमा पनि अनियमितता देखियो ।