निजामती कर्मचारी (सिभिल) अस्पतालमा स्थायी दरबन्दी पूर्ति गर्नुको सट्टा नियमविपरीत साढे चार सय कर्मचारी करार, ज्यालादारी र सेसन (पार्टटाइम)मा भर्ना गरिएको छ । अस्पतालको गठन आदेश र करार सेवा विनियमावलीअनुसार स्थायी दरबन्दी पूर्ति गरेपछि मात्र विशेषज्ञ आवश्यक पर्ने प्राविधिक पदमा आवश्यकताका आधारमा करारमा भर्ना गर्न सकिन्छ । तर, दरबन्दी रहेको पदभित्रै करार कर्मचारी राख्न नपाइने व्यवस्थाविपरीत सिभिलले विभिन्न सेवामा ४४८ करार र ज्यालादारीका कर्मचारी भर्ना गरेको हो ।
अस्पताल स्रोतबाट प्राप्त तथ्यांकअनुसार ३९७ जनालाई सेसन (पार्टटाइम) र ज्यालादारीमा तथा ५२ लाई करारमा भर्ना गरिएको छ । जब कि सरकारले अस्पतालमा ४६१ स्थायी दरबन्दी स्वीकृत गरेकोमा करिब आधा मात्रै पूर्ति भएका छन् । सिभिल प्रशासनका अनुसार हाल स्थायी पदमा २३५ र निजामतीतर्फ १५ कर्मचारी कार्यरत छन् । निजामती कर्मचारीको स्वास्थोपचारलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्दै आएको सिभिलमा स्थायी कर्मचारीको टड्कारो आवश्यकता छ । तर, नियुक्ति सुस्त छ । प्रशासनले आफूअनुकूल, निकटस्थ तथा सत्ता र शक्तिको आधारमा करार र ज्यालादारीमा कर्मचारी भर्ना गरेको छ ।
‘अस्पतालमा अहिले करार, ज्यालादारी र पार्ट टाइममा मनलाग्दी भर्ना गरेर भर्तीकेन्द्र नै बनाइएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘करार र ज्यालादारीमा भर्ना गरिएका ती कर्मचारीको तलबभत्तामै मासिक डेढ करोड रुपैयाँ भुक्तानी हुने गरेको छ ।’
सिभिलका कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेलको दाबी : स्थायी दरबन्दीमा क्रमशः पदपूर्ति हुँदै छ, विशेषज्ञ आवश्यक पर्ने प्राविधिक पदमा करार र ज्यालादारी भर्ना गरिएको हो
करारमा कर्मचारी राख्ने प्रावधान छैन, सरकारले पनि नराख्ने भनेको छ । विशेषज्ञ आवश्यक पर्ने प्राविधिक पदमा मात्रै करार र ज्यालादारी कर्मचारी भर्ना गरिएको हो । यस्तो संख्या करिब २०० जति होला । सुरक्षागार्ड र सरसफाइकर्मी करारमा गनिँदैनन् । म आएपछि स्थायी दरबन्दीमा धेरै पदपूर्ति भएको छ, क्रमशः हुँदै छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल करारमा कर्मचारी राख्ने प्रावधान नभएको र सरकारले पनि नराख्ने भनेको बताउँछन् । तर, विशेषज्ञ आवश्यक पर्ने प्राविधिक पदमा करार र ज्यालादारी भर्ना गरिएको उनको दाबी छ । ‘करारमा कर्मचारी राख्ने प्रावधान छैन, सरकारले पनि नराख्ने भनेको छ,’ उनले भने, ‘विशेषज्ञ आवश्यक पर्ने प्राविधिक पदमा करार र ज्यालादारी कर्मचारी भर्ना गरिएको हो । यस्तो संख्या करिब दुई सय जति होला ।’
तर, खाली स्थायी दरबन्दीमै करार र ज्यालादारी भर्ना गरिएको सम्बन्धमा भने उनी पदपूर्ति भइरहेको दाबी गर्छन् । ‘लोकसेवा आयोगले नै स्थायी पदपूर्ति गर्छ, म आएपछि धेरै स्थायी पदपूर्ति भएको छ । बाँकी रहेको स्थायी पदपूर्तिका लागि लोकसेवामा पठाइएको छ । एक सयजति नयाँ स्थायी नियुक्ति चाँडै नै हुन लागेको छ,’ उनले भने, ‘अब पद खाली रहँदैनन् ।’ उनले अस्पतालको कुल शय्या १३२ हुँदाकै दरबन्दी हाल कायम रहेकोमा अहिले ३०९ शय्या पुगिसकेकाले नयाँ ओएन्डएम पनि आवश्यक देखिएको बताए ।
कानुन के छ ? अस्पतालले के गर्यो ?
निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ ले कर्मचारी करारमा लिनसक्नेसम्बन्धी व्यवस्था गरेको छ । गठन आदेशको दफा ८ (क) मा ‘अस्पतालका लागि आवश्यक पर्ने कुनै पनि सेवा अवधि तोकी सेवा करारमा लिन सक्नेछ’ भन्ने व्यवस्था छ । यसैमा टेकेर तत्कालीन सामान्य प्रशासन मन्त्रालयले २७ मंसिर ०७० मा निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका सर्त र सुविधा) विनियमावली, ०७० जारी गरेको थियो । विनियमावलीको नियम २७ ले विशेषज्ञ पदसम्बन्धी व्यवस्था गरे पनि स्थायी दरबन्दीमा त्यस्तो नियुक्ति नगरिने व्यवस्था गरेको छ । तर, अस्पताल प्रशासनले स्थायी दरबन्दी पूर्ति नगरी त्यही पदमा करार र ज्यालादारीमा भर्ना गरिएको छ ।
त्यसो त विनियमावलीको नियम २७ (ख) मा करारसम्बन्धी व्यवस्था गरिएको छ । उक्त नियमले सामान्यतया अस्पतालमा कुनै पनि पदमा करारमा नियुक्ति नगरिने व्यवस्था गरेको छ । तर, अस्पतालमा अत्यावश्यक परेमा वा कुनै निश्चित कार्यक्रम कार्यान्वयनका लागि दरबन्दी नभएको वा आवश्यक योग्यता पुगेको व्यक्ति नभएको अवस्थामा वा अस्पतालमा रिक्त रहेको दरबन्दीमध्येबाट खुला प्रतियोगितातर्फ छुट्याइएको पदमा स्थायी पदपूर्ति प्रक्रिया अघि बढिसकेको भए स्थायी पूर्ति नभएसम्मका लागि अस्पताललाई तत्काल कर्मचारीको आवश्यकता परेमा एकपटकमा एक वर्षमा नबढाई समितिको स्वीकृति लिई कार्यकारी निर्देशकले करार सेवामा नियुक्ति गर्न सक्नेछ भन्ने व्यवस्था छ । निजामती कर्मचारी अस्पताल करार सेवा कार्यविधि, २०७८ ले पनि यो व्यवस्था गरेको छ । यद्यपि, अस्पताल निर्देशकले नै १०० मात्रै स्थायी पदपूर्तिको प्रक्रियामा रहेको बताएका छन् । जब कि करार र ज्यालादारीमा साढे चार सय भर्ना गरेका छन् । त्यस्तै, करार नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने विनियमावलीको व्यवस्थालाई पनि अस्पतालले उल्लंघन गरेको छ ।
अपेक्षित छैन आम्दानी, भद्रगोल व्यवस्थापन
सिभिल अस्पतालमा बिरामीको बाक्लो भिड लाग्छ । एकातिर बिरामीको ठुलो भिडभाड भइरहँदा अस्पतालको आम्दानी भने अपेक्षित छैन । कोरोनाअघि ०७५/७६ मा अस्पतालको आम्दानी ५२ करोड थियो । उक्त वर्ष अस्पतालमा १३२ शय्या थिए । त्यति नै शय्या हुँदा कोभिड भएको वर्ष ०७६/७७ मा आम्दानी ४० करोड ८७ लाख कायम भयो । कोरोना अवधिमा सेवा तीव्र प्रभावित हुँदा पनि आम्दानीमा ठुलो गिरावट नआएको सिभिल अस्पतालको हालको आम्दानी भने अनपेक्षित छ । अहिले १७७ थपिएर ३०९ शय्या पुग्दा र सेवा शुल्क ३० देखि ४० प्रतिशतसम्म वृद्धि हुँदा ०८०/८१ को आम्दानी ७१ करोड ३६ लाख ९६ हजार मात्रै रह्यो ।
अस्पताल प्रशासनले राम्रो स्वास्थ्योपचार र सेवासुविधा दिन नसकेको गुनासो बिरामीहरूले गर्दै आएका छन् । अस्पतालमा एकातिर राम्रो सेवा दिइएको छैन भने अर्कातिर लामो समय पालो कुर्नुपर्ने समस्या छ । अहिले सामान्य अपरेसनका लागि ६ देखि ८ महिना कुर्नुपर्छ । राम्रो सेवा नहुने र लामो समय कुर्नुपर्दा बिरामीहरू सिभिल अस्पताल जान प्रोत्साहित छैनन् जसकारण आम्दानी घटेको छ ।
सिभिल अस्पतालले किनेका महँगा मेडिकल उपकरणहरू पनि पूर्ण रूपमा सञ्चालन गरेको छैन । उपकरणहरूको अवस्था के छ भन्ने जिन्सी निरीक्षणसमेत नियमित रूपमा गरिएको छैन । करोडौँका मेसिन प्रयोग नै नगरी थन्क्याएर राखेको भन्दै महालेखाले समेत ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । अस्पतालले विभिन्न समयमा खरिद गरेको अक्सिजन प्लान्टलगायत पाँच करोड ३७ लाखका मेसिन तथा उपकरण जडान नभई प्रयोगविहीन अवस्थामा रहेको भन्दै महालेखाले प्रश्न उठाएको छ । त्यस्तै, १३ करोड १७ लाखका विभिन्न १० थान उपकरण मर्मतसम्भार नै नगरेको र अस्पतालका अक्सिजन प्लान्ट निष्क्रिय राखी ८२ लाख ४९ हजारमा नयाँ खरिद गरेको महालेखाले जनाएको छ ।