मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १६ मंगलबार
  • Friday, 03 January, 2025
२o८१ पौष १६ मंगलबार २१:४१:oo
Read Time : < 1 मिनेट
अर्थ

अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि थप काम गर्न आवश्यक छ : गभर्नर अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १६ मंगलबार २१:४१:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन्। सोमबार राष्ट्र बैंकमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधि केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको बताएका हुन्।

गभर्नर अधिकारीले भने, ‘मंसिरको रिपोर्टले पनि आर्थिक गतिविधि केही सन्तोषजनक रहेको देखाएको छ। सार्वजनिक र निजी क्षेत्रबाट भएका प्रयासहरूलाई राष्ट्र बैंकले आर्थिक सहयोग प्रदान गरेको छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्‍याएको छ।’

उक्त अवसरमा अधिकारीले पछिल्लो समय राज्यमा औद्योगिक क्षेत्रको विकास हुँदै गएको दाबी पनि गरे। ‘२०४८ सालदेखि अहिलेको अवस्था हेर्दा उद्योगहरूको आकार ठुलो भएको छ। सिमेन्ट, रडजस्ता उद्योग फस्टाइरहेका छन्, जसले बैंकहरूमा ऋणको माग बढाएको छ। यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्छ,’ उनले थपे।

गभर्नर अधिकारीले केही क्षेत्रमा संकटको चर्चा भए पनि नेपालले अन्तर्राष्ट्रियस्तरमा ‘कन्ट्री रेटिङ’लाई कायम राखेको उल्लेख गरे। ‘यो नेपालका लागि एउटा सफलता हो,’ उनले भने। गभर्नर अधिकारीले योजनाहरू समयमा सुरु गरेर सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए। मन्त्रालय र विभागहरूलाई थप सक्रिय भएर काम गर्नुपर्ने उनको सुझाव छ। उनले आर्थिक सुधारका लागि प्रयासहरू जारी रहेको र थप समय लाग्ने बताए। 

अधिकारीले पत्रकारहरूलाई तथ्यमा आधारित र अनुसन्धानमूलक समाचार लेख्न आग्रह गरेका छन्। उनले गलत सूचनाका कारण जनतामा नकारात्मक धारणा बनिरहेको भन्दै जिम्मेवारीपूर्वक लेख्नुपर्नेमा जोड दिए। गभर्नर अधिकारीले भने, ‘तपाईंहरूले लेख्ने समाचार जनताको लागि हो। सही कुरा लेख्नुभयो भने जनताको धारणा सकारात्मक बन्छ, तर गलत लेखे नकारात्मक धारणा बन्न पुग्छ।’ उनले केही युट्युब भिडियोहरूलाई उदाहरण दिँदै एकतर्फी सूचना प्रवाहले विकृति निम्त्याएको उल्लेख गरे।