मकवानपुरको मनहरीमा ७२ वर्षीया वृद्धा र सातवटा बाख्रा मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ। बाघ मंगलबार साँझ ७ बजे मनहरी-५ वसन्तपुरस्थित सुकौरा खोलामा राखेकाे एम्बुसमा परेकाे हाे।
बाघलाई डाट प्रविधिबाट नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। बाघले १४ पुस साँझ मनहरी गाउँपालिका-५, वसन्तपुरकी ७२ वर्षीया कान्छीमाया रुम्बालाई आक्रमण गरेर बाघले ज्यान लिएको थियो। यस्तै, साेही बाघले स्थानीय सूर्यबहादुर मोक्तानको खोरमा रहेका सातवटा बाख्रासमेत मारेको थियो।
उक्त बाघलाई पर्सा वन्यजन्तु आरक्षणबाट खटिएको कर्मचारी, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोली, निकुञ्ज सुरक्षार्थ मनहरी- ३ लामिटार बेँसीबाट खटिएको नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो। टोलीले बाघ नियन्त्रणका लागि चारवटा हात्ती प्रयोग गरेको थियो। नियन्त्रणमा लिएको बाघलाई पर्सा वन्यजन्तु आरक्ष लगिएको प्रहरीले जनाएको छ।