मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
नवीन अर्याल काठमाडाैं
२o८१ पौष १७ बुधबार o९:o१:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

सन् २०२४ मा भित्रिए साढे ११ लाख विदेशी पर्यटक, १३ प्रतिशतले वृद्धि

०२५–०३५ लाई पर्यटन दशकका रूपमा मनाइने

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार o९:o१:oo

सन् २०२४ नेपाली पर्यटनका लागि सुखद बनेको छ । २०२४ मा विभिन्न देशबाट करिब साढे ११ लाख पर्यटक नेपाल घुम्न आएका छन् । यो संख्या अघिल्लो वर्ष २०२३ को तुलनामा १३ प्रतिशतभन्दा बढी हो । 

सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ । वर्षको अन्तिम महिना डिसेम्बरमा ९३ हजार पर्यटक नेपाल भित्रिएका छन् । सोमबार रातिसम्म डिसेम्बरमा ८९ लाख सात सय ६५ पर्यटक भित्रिसकेका छन् । यो तथ्यांकमा मंगलबार प्रवेश गरेका पर्यटक गणना भएका छैनन् । डिसेम्बरमा सरदर दैनिक तीन हजार पर्यटक भित्रिएको पर्यटन बोर्डको भनाइ छ । डिसेम्बर २०२३ को तुलनामा डिसेम्बर २०२४ मा पर्यटक आगमन घटेका छन् । डिसेम्बर २०२३ मा ९६ हजार पाँच सय ७४ पर्यटक भित्रिएको तथ्यांक छ । 

पर्यटन बोर्डका सिइओ दीपकराज जोशी भन्छन्–
नेपालमा पर्यटक आगमन बिस्तारै लयमा फर्किँदै छ । जसले नेपाली पर्यटनमा आगामी दिन थप सुनौलो हुने देखिन्छ । कोभिड महामारीपछिको विश्व परिवेशमा ९७ प्रतिशत रिकभरी देखिएको छ । २०२४ मा नेपालमा पनि साढे एघार लाख पर्यटक घुम्न आएका छन् । यो संख्या कोभिडपछि ९६ प्रतिशतको रिकभरी हो । अब पर्यटक क्षेत्रले लय समात्दै अगाडि बढ्नेछ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपालमा पर्यटक आगमन बिस्तारै लयमा फर्किँदै गएको बताए । ‘कोभिडपछिको विश्व परिवेशमा ९७ प्रतिशत रिकभरी देखिएको छ, नेपालमा पनि सन् २०२४ मा साढे एघार लाख पर्यटक घुम्न आएका छन्, जुन कोभिडपछि ९६ प्रतिशतको रिकभरी हो,’ उनले भने, ‘अब पर्यटक आगमन बढ्दै जाने र पर्यटन क्षेत्रले लय समात्नेछ ।’ 

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि पर्यटक आगमन सकारात्मक दिशातर्फ अगाडि बढेको बताए । उनी भन्छन्, ‘यसमा पर्यटन बोर्डको मार्केटिङ पुनरागमन, नेपाल प्रिमियर लिग सञ्चालन, बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय बेलुन महोत्सव, चिनियाँ ड्रागन महोत्सवलगायत मुख्य कारण हुन् ।’ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा विभिन्न देशका आठ सयभन्दा धेरै बौद्धमार्गी चार्टर फ्लाइटमार्फत काठमाडौं र भैरहवा आएका थिए ।

सन् २०२४ मा पर्यटक आगमन बढे पनि अपेक्षित भने होइन । सो वर्ष १२ लाख (सन् २०१९ भन्दा धेरै) पर्यटक नेपाल भ्रमणमा आउने सरकार र पर्यटन क्षेत्रका व्यवसायीको आकलन थियो । कोभिडअघि सन् २०१९ मा हालसम्मकै उच्च ११ लाख ९७ हजार एक सय ९१ पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । अविरल वर्षा, बाढीपहिरो र भारतीय बस दुर्घटनालगायत कारणले भारतीय पर्यटक आगमन उल्लेख्य बढ्न नसकेको र चिनियाँ पर्यटक आगमन एक लाख पनि नपुगेपछि १२ लाख पर्यटकको तार्गेट पूरा हुन नसकेको हो । 

पर्यटन व्यवसायी पनि पर्यटकको संख्या अझै वृद्धि हुनुपर्ने बताउँछन् । २०२४ मा युरोपियन र अमेरिकी पर्यटक आगमन बढ्यो । तर, भारतीय र चिनियाँ पर्यटक आगमन उत्साहप्रद देखिएन । कोभिडपछि नेपाल भ्रमणमा आउने चिनियाँ अपेक्षित रूपमा बढ्न सकेका छैनन् । कोभिडअघि भारतपछि सबैभन्दा धेरै पर्यटक घुम्न आउने देशमा चीन दोस्रो थियो । तर, अहिले अमेरिकन पर्यटकले पछाडि पारेपछि चिनियाँ तेस्रो नम्बरमा छन् । भारतीय सवार बस दुर्घटना, असोजमा अविरल वर्षपछि आएको बाढीपहिरोलगायत कारणले भारतीय पर्यटक आगमन पनि बढ्न नसकेको बोर्डका निर्देशक लामिछाने बताउँछन् ।

२०२४ मा दुई साताको अन्तरमा भएका दुईवटा वायुयान (एउटा जहाज र एउटा हेलिकोप्टर) दुर्घटना, दुईवटा भारतीय बस दुर्घटना, बाढी–पहिरो, पर्यटन बोर्ड अन्तर्राष्ट्रिय प्रवद्र्धनमा चुक्नु, ८ नोभेम्बरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कटौती हुनुलगायत कारणले पर्यटक आगमन अपेक्षित बढ्न नसकेको पर्यटन व्यवसायीको ठम्याइ छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) झन्–झन् कमजोर हुँदै जाँदा विदेशी वायुसेवा कम्पनीले अचाक्ली महँगो भाडा असुल्दा पनि पर्यटक आगमन खुम्चिएको छ ।

सन् २०२४ मा पहिलो महिना जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एक सय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय सय ३६, जुलाईमा ६४ हजार पाँच सय ९९, अगस्टमा ७२ हजार सात सय १७, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक र डिसेम्बरमा करिब ९३ हजार (अनुमानित) पर्यटक नेपाल घुम्न आएका छन् । 

०२५–०३५ लाई पर्यटन दशकका रूपमा मनाइने
बजेटमै घोषणा गरिएको ‘पर्यटन दशक २०२३–३२’ कार्यान्वयनमा नआउँदै असफल भएपछि फेरि २०२५–३५ लाई पर्यटन दशक घोषणा गर्ने सरकारले तयारी गरेको छ । मंगलबार पर्यटन बोर्डको २६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पर्यटनमन्त्री बद्री पाण्डेले सन् २०२५–३५ लाई पर्यटन दशकका रूपमा मनाउने उद्घोष गरेका हुन् ।

यसअघि कार्यविधि अभावले पर्यटन दशक कार्यान्वयनमा आउन नसकेको मन्त्री पाण्डेको भनाइ थियो । उनले भने, ‘अब २०२५ देखि २०३५ लाई पर्यटक दशकका रूपमा मनाउनेछौँ ।’ नेपालले पहिलोपटक सन् १९९८ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाएको थियो । ‘पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक छ, यसैले सरकारले नयाँ पर्यटन नीति तयार गरिरहेको छ, त्यो छिट्टै कार्यान्वयनमा ल्याउनेछौँ’ उनले भने, ‘पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ, डिजिटल मार्केटिङलाई जोड दिनुपर्छ ।’  

पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताए । बोर्डका अध्यक्ष एवं पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेले बोर्डले पूर्वाधारको विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताए ।