मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
२o८१ पौष १७ बुधबार o६:१४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रविसहितको मुद्दामा थुनछेक बहस सुरु : महान्यायाधिवक्ताको कार्यालयबाट समेत सरकारले पोखरा पठायो दुई वकिल

जिल्लाका मुद्दामा प्रायः पठाइँदैनन् महान्यायाधिवक्ता कार्यालयका वकिल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार o६:१४:oo

हरेक जिल्ला अदालतमा हुने मुद्दा–मामिलामा सरकार पक्षबाट बहसका लागि जिल्ला सरकारी वकिलको कार्यालयमै वकिलहरू हुन्छन् । उनीहरूले नै बहस गर्छन् । प्रायः महान्यायाधिवक्ताको कार्यालयबाट जिल्लामा वकिल पठाउने गरिँदैन । रास्वपा सभापति रवि लामिछानेसहितको मुद्दामा बहस गर्न भने सरकारले महान्यायाधिवक्ताको कार्यालय काठमाडौंबाट समेत दुई वकिल पठाएको छ । जब कि, सरकारी वकिलको कार्यालय कास्कीमै पाँचजना वकिल छन् । 

प्रहरी अनुसन्धानदेखि मुद्दा दायर गर्नेसम्मका कार्यमा लामिछानेमाथि ‘राजनीतिक प्रतिशोध’ साँधिएको आरोप लागिरहेका वेला सरकारले महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र सहमहान्यायाधिवक्ता प्रकाश गौतमलाई  उनीविरुद्ध बहस गर्न पोखरा पठाएको हो । 

सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रहरी हिरासतमा रहेका लामिछानेसहित सातजनाको बयान सकिएसँगै मंगलबारबाट कास्की जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको थुनछेक बहस बुधबार पनि जारी रहनेछ । 

संविधानविद् एवं अधिवक्ता भीमार्जुन आचार्य प्रायः सम्बन्धित जिल्लामा जिल्लाकै सरकारी वकिलले बहस गर्ने बताए । ‘प्रायः सम्बन्धित जिल्लामा जिल्लाकै सरकारी वकिल जान्छन्,’ उनले भने, ‘महान्यायाधिवक्ता कार्यालयबाट जानैपर्ने होइन, तर जानै नहुने भन्ने पनि होइन ।’

जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार पहिलो दिनको थुनछेक बहसमा सरकारी वकिलको कार्यालयतर्फबाट अभियोगको विषयमा सामान्य जानकारी गराएपछि इजलास स्थगित भएको थियो । वकिलको कार्यालयतर्फबाट जिल्ला सहन्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र सुजाता पौडेलले न्यायाधीशलाई मुद्दाबारे सुरुवाती जानकारी गराएका थिए । सोही क्रममा कार्यालय समय सकिएपछि इजलास स्थगित गरी सातै अभियुक्तलाई हिरासत फर्काइएको छ । हिरासतमा रहेकाहरूलाई धरौटी, साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश थुनछेक बहसपछि न्यायाधीशले गर्नेछन् । 

प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल जोशी, जिबी राईका साझेदार लीला पछाई, नेचर हब्र्स इन्टरनेसनल प्रालिका सञ्चालक एवं सेयरधनी रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ, सहकारीकी कोषाध्यक्ष आरती गुरुङ र सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङसँग बयान लिइसकिएको छ । सातमध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण, पछाईलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन, २०५८ को अभियोग लगाइएको छ भने अन्य तीनजनालाई सहकारीको रकम ठगीको अभियोग मात्रै लगाइएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयले ७ पुुसमा सहकारी ठगीमा ४४ विरुद्ध मुद्दा चलाएको थियो । त्यसअघि ०८० मै मुद्दा चलाइएका १९ विरुद्ध भने ५ पुसमा पूरक मुद्दा चलेको थियो ।

लामिछानेका पक्षमा सातजनाले बहस गर्ने 
थुनछेक बहसका लागि रास्वपा सभापति लामिछानेको पक्षमा बहस गर्न ५० भन्दा धेरै कानुन व्यवसायीले वकालतनामा गरेका छन् । अधिवक्ता नारायण कँडेलका अनुसार लामिछानेको पक्षमा बहस गर्न ५० भन्दा धेरै कानुन व्यवसायीले वकालतनामा गरे पनि सातजनाले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी र डा. नारायण घिमिरे, अधिवक्ताहरू डा. नारायण कँडेल, रोहितराज बाँस्तोला, सुरज बस्नेत र सुविज्ञ पन्तले बहस गर्ने उनले बताए ।

इजलासमा भक्कानिँदै कृष्णबहादुरले भने, ‘यहीँ मरिदिन्छु !’
थुनछेक बहसका क्रममा आफूलाई लागेको आरोप सुनेर सूर्यदर्शन सहकारीका सञ्चालक सदस्य कृष्णबहादुर गुरुङ रोएका थिए । उनीमाथि लागेको अभियोगबारे वकिलको कार्यायलका तर्फबाट इजलासलाई जानकारी गराउने क्रममा ७८ वर्षीय गुरुङ रोएका हुन् । 

जिल्ला सहन्यायाधिवक्ता शान्तिदेवी शर्माले प्रतिवादीहरूलाई लगाइएको अभियोगबारे इजलासमा जानकारी दिँदै भनेकी थिइन्, ‘प्रतिवादी कृष्णबहादुर गुरुङले इन्कारी बयान दिए पनि विगतमा सूर्यदर्शन सहकारीको सञ्चालक समितिको सदस्य देखिएकाले बचत अपचलनमा उहाँलाई पनि कारबाही हुनुपर्छ भनेरै अभियोग लगाइएको हो ।’ शर्माले कसुरदार रहेको बताइरहँदा असहजिलो गरी इजलासको दायाँपट्टि कुनामा बसिरहेका गुरुङ रुँदै बसेको ठाउँबाट उठ्न खोजे । आफैँ उठ्न नसकेपछि सँगै रहेका एकजनाले बल दिएर उठे । राम्रोसँग उभिन पनि नसकेका उनले न्यायाधीशतर्फ हेर्दै भने, ‘मैले केही गरेको छैन । म यहीँ मरिदिन्छु ।’ 

गुरुङले यसो भनिरहँदा अन्तिम लहरको बिचमा बसेकी मीना गुरुङ पनि रोएकी थिइन् । गण्डकी प्रदेश सभाकी पूर्वसदस्य मीना कृष्णबहादुरकी छोरी हुन् । एमाले नेता मीना सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । कृष्णबहादुर र मीना दुवैलाई सूर्यदर्शन सहकारी ठगीको मुद्दामा प्रतिवादी बनाइएको छ । 

कृष्णबहादुरले मरिदिने चेतावनी दिएपछि न्यायाधीश नीतिज राईले सुन्न गाह्रो भएको भए उनलाई बाहिर लैजान आदेश दिए । बाहिर लैजाने प्रयास सुरु नहुँदै न्यायाधीश राईले ४ पनि बज्न लागेको भन्दै भोलि निरन्तर रहने गरी आजको बहस अन्त्य भएको घोषणा गरेका थिए । 

इजलासबाट बोकेर अदालतको चौरमा ल्याएपछि पनि रोइरहेका गुरुङले भने, ‘हुँदै नभएको कुरामा म फौजीलाई वचन लगाए, सहन गाह्रो भयो ।’ गुरुङलाई कानुन व्यवसायीले अदालतमा हुने वादी–प्रतिवादीको बहसबारे जानकारी गराउँदै पालो आएपछि वचन फिर्ता हुने गरी दह्रो बहस हुने बताएपछि मात्रै गुरुङले केही सहज महसुस गरेका थिए । 

अधिकांश समय बेलायतमै बस्ने कृष्णबहादुर पूर्वगोर्खा सैनिक हुन् । कृष्णबहादुरका अनुसार सन् २०११ नेपाल आउँदा सहकारीको सेयर सदस्य बनाइदिने भन्दै एक व्यक्तिले उनीसँग २५ हजार रुपैयाँ लिएका रहेछन् । ती व्यक्तिले २५ मध्ये २० हजार आफैँले राखेर पाँच हजारको सेयर सदस्यसहित कृष्णबहादुरलाई सूर्यदर्शन सहकारीको सञ्चालक समितिको सदस्य बनाइदिएका रहेछन् । आफू सहकारीको सेयर सदस्य बनेकोसमेत थाहा नपाएको बताउने गुरुङ नेपालबाट बेलायत फर्किने क्रममा विमानस्थलबाट पक्राउ परेका थिए । बुढ्यौली उमेरमा मुटुका दीर्घरोगी गुरुङ पक्राउ परेयता फिस्टेल अस्पतालमा उपचारकै क्रममा छन् । उनलाई अदालत लैजान पनि गाह्रो हुने गरेको प्रहरी अधिकारी बताउँछन् ।