साढे तीन महिनादेखि ठप्प मधेश प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस भएको छ । मन्त्रिपरिषद्ले २३ पुसमा चौथो अधिवेशन बोलाउन प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई सिफारिस गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए । प्रदेश सभाको तेस्रो अधिवेशन ४ असोजमा अन्त्य भएको थियो ।
चौथो अधिवेशन बोलाउन ढिलाइ भएको भन्दै प्रतिपक्षी जसपा नेपालसहितका दलहरू आक्रोशित बनेका थिए । जसपाका नेताहरूले त प्रतिपक्षी दलसँग छलफल पनि गरेका थिए । जसपा नेपालको आइतबारको संसदीय दल बैठकले सभाको अधिवेशन अविलम्ब आह्वान गर्न माग गरेको थियो ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका जसपा नेपालका सांसद लालबाबु राउतले मधेश प्रदेश सरकारले जनताको आवाज दबाउन सभालाई बन्धक बनाइएको बताए । ‘त्यही भएर संसदीय दलको बैठकबाट निर्णय गरेरै सभा बोलाउन भनेका थियौँ,’ उनले भने ।
प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा वैठक बसेका छन् । कृषिसम्बन्धी विधेयक, बिउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संसोधनसहितका बिजनेस प्रदेश सभामा छन् । प्रदेश सभामुख रामचन्द्र मण्डलले पनि बिजनेस पर्याप्त रहेको बताए ।