कञ्चनपुर निर्वाचन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका लागि विभिन्न ६ राजनीतिक दल सहित ६ स्वतन्त्रका उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जिल्लाकै सदरमुकाम महेन्द्रनगरमा पर्ने क्षेत्र ३(क)मा केही उम्मेदवार नयाँ छन् भने केही यस अघि जनप्रतिनिधी भईसकेका नेता चुनावी मैदानमा होमिएका छन् ।
बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट टेकेन्द्र प्रसाद भट्ट उम्मेदवार भएका छन् । उनी नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य हुन् । ०६४सालमा भएको पहिलो संविधानसभा सदस्यमा उनी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रकास बहादुर रावल उम्मेदवार भएका छन् । रावल समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज र हाल सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री हुन् ।
एमाले–राप्रपा गठबन्धनबाट तत्तकालिन महेन्द्रनगर नगर पञ्चायतका प्रधानपञ्च धर्मराज जोशी साझा उम्मेदवार भएका छन् । जोशी राप्रपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष हुन् ।
यस्तै साना राजनीतिक दल नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र दमाई, मौलिक जरोकिलोबाट मोहन धामी, नेकपा मार्क्सवादी लेलिनवादीबाट पदम सिंह खत्री उम्मेदवार भएका छन् ।
यस्तै ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका पिताम्बर जोशी, संघकै सदस्य गोपाल बुढापाल, लोक विक्रम थापा, दिवान सिंह आग्री, महादेव भट्ट र तेज बहादुर लुहार उम्मेदवार छन् । पिताम्बर जोशी र गोपाल बुढापाल काँगे्रेस कार्यकर्ता हुन् । उनीहरुले पार्टी बिरुद्धमा उम्मेदवारी दिएको भन्दै नेपाली काँग्रेसले कार्बाही गरिसकेको छ ।
पूर्वएमाले नेता लोकविक्रम थापा समाजवादीका नेता हुन् । उनले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजावादी निकट दिवान सिंह आग्री अघिल्लो निर्वाचनमा समेत चुनावमा होमिएका थिए । उतिबेला आग्रीले १६५मत ल्याएका थिए ।
महादेव भट्ट र तेज बहादुर लुहार स्वतन्त्रबाट पहिलो पटक उम्मेदवार भएर चुनावमा होमिएका छन् । जिल्लाका ६ प्रादेशिक निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढि क्षेत्र ३(क)मा उमेदवार रहेका छन् ।
क्षेत्र ३(क)मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं संविधानसभा सदस्य टेकेन्द्र प्रसाद भट्ट, समाजवादीका उम्मेदवार एवं प्रदेशका आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावल र राप्रपाका तर्फबाट पूर्वमहेन्द्रनगरका प्रधानपञ्च धर्मराज जोशीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
संविधान सभा सदस्य भट्टलाई काँग्रेसको साथ, प्रदेशका अर्थमन्त्री रावलले आफ्नो कार्यकालमा गरेका कामकाज र पूर्वप्रधानपञ्चलाई एमालेको साथ पाएकाले तीनै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने छ ।
यस प्रादेशिक निर्वाचन क्षेत्रमा भीमदत्त नगरका १२ वडा र बेदकोट नगरका १ वडा सहित १३ वडा रहेका छन् । गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिमाण अनुरुप यस निर्वाचन क्षेत्रमा रहेका एक पालिका भीमदत्त सहित काँग्रेसले ९ वडा, नेकपा एमालेले २, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवदीले एक÷एक वडा जितेका छन् ।
गत बैशाखमा सम्पन्न भएको स्थानीय तहमा वडामा पाएको निर्वाचन मत परिमाण अनुरुप काँग्रेसले ११ हजार ३९, नेकपा एमालेले ६ हजार ५३३, माओवादी केन्द्रले २ हजार ३२५, नेकपा एकीकृत समाजवादीले २ हजार ३७, राप्रपाले २ हजार ९७९ र अन्यले २सय ६५मत पाएका थिए । यद्यपी स्थानीय तह निर्वाचनमा माओवादी र समाजवदीबीच चुनावी तालमेल भएका कारण अधिकांस वडाहरुमा दुवैका उम्मेदवार उठाईएका थिएनन् ।
स्थानीय तह निर्वाचन चुनावी मत परिमाण अनुरुप सत्ता गठबन्धन पक्षमा १३ हजार २७, विपक्षी गठबन्धन ९ हजार ५ सय १२, समाजवादी २ हजार ३७ र अन्य २६५ मत नै रहेको छ । स्थानीय तह मत परिमाण अनुरुप गठबन्धन बलियो देखिएको छ ।
यस निर्वाचन क्षेत्रबाट एमाले पृष्टभूमिका समाजवादीबाट उम्मेदवार भएका प्रकास रावल, समाजवादीकै वागी एवं पूर्वएमाले उम्मेदवार लोकविक्रम थापाले एमालेका मत तान्ने अनु्मान गरिएको छ । काँग्रेसका पनि दुई नेता स्वतन्त्र÷बागी पिताम्बर जोशी र गोपाल बुढापाल उम्मेदवार छन् ।