‘एमाले नै ज्येष्ठ नागरिकको सहारा हो’

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले ज्येष्ठ नागरिकको बुढेसकालमा एमाले नै सहारा भएको बताएका छन् । झापा ५ को दमकमा बुधबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेको ज्येष्ठ नागरिक भत्ता नै बुढेसकालको सहारा भएको बताएका हुन् । उनले भत्तालाई समयअनुकूल र महँगीको अनुपातमा वृद्धि गरिने आश्वासन दिए । 

‘वैंशमा जति फुर्ती गरे पनि बुढेसकालमा एमालेको लौरो टेकेर हिँड्नुपर्छ,’ ओलीले भने, ‘एमालेको ज्येष्ठ नागरिक भत्ता नै सहारा हो । हामी भत्ता समायअनुकूल र महँगीको अनुपातमा बढाउँदै जानेछौँ ।’ ओलीले देशभर एमाले प्रवेशको लहर चलिरहेको दाबी गरे । अन्य पार्टीमा पहिरो गइरहेको भन्दै उनले अहिले एमालेसँग प्रतिस्पर्धा गर्नेहरू पछि एमालेमै आउने जिकिर गरे । 

‘एमालेसँग लडे पनि पछि एमालेमा नआएर धर छैन । देश बनाउने भए एमाले नआए उपाय नै छैन । एमालेविरुद्धमा उम्मेदवार भएका व्यक्तिहरू एमालेमै प्रवेश गर्नुहुनेछ,’ ओलीले भने, ‘यो लहर यहाँ मात्र होइन देशभर छ । अरू पार्टीमा थाम्नै नसक्ने पहिरो गएको छ । अरू पार्टी डिलमाथि भएजस्तो खुत्रुक्क हुनेबित्तिकै लडिहाल्ने भएका छन् ।’ उनले एमालेले चुनावमा अत्यधिक बहुमतले नल्याए देश बर्बादीतर्फ जाने बताए ।

सुझावित समाचार