अवैध मोबाइलले गुम्दै छ अर्बौँ राजस्व

आइतबार, २० कार्तिक, २०७९
डिजिटल संस्करण

नेपाल आउनेमध्ये १५ अर्ब रुपैयाँबराबरका मोबाइल अवैध माध्यमबाट अर्थात् विभिन्न नाकाबाट गैरकानुनी रूपमा भित्रिन्छन्

नेपाल दूरसञ्चार प्राधिकरणले गत असोज एक गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याएको हो । धेरै लामो समयको प्रयासपछि यो सिस्टम सञ्चालनमा आएको हो । यसले मोबाइल प्रयोगकर्ता, मोबाइल व्यवसायी र समग्र राष्ट्रका लागि नै हित गर्छ । 

हाम्रो तथ्यांकअनुसार नेपालमा भित्रिने मोबाइलमध्ये १५ अर्ब रुपैयाँबराबरको मोबाइल अवैध माध्यमबाट भित्रिन्छ, अर्थात् विभिन्न नाकाबाट गैरकानुनीमा रूपमा नेपालमा मोबाइल भित्रिन्छ । सरकारले व्यवसायीका लागि कुल १८ प्रतिशत कर लगाएको छ । तर, अवैध रूपमा भित्रिएको मोबाइलले सरकारलाई राजस्व भुक्तानी गरेका हुँदैनन् । तसर्थ, सरकारले बर्सेनि अर्बौं रुपैयाँ राजस्व गुमाइरहेको त छ नै, साथै अवैध रूपमा भित्रिएका मोबाइल आपराधिक गतिविधिमा प्रयोग भइरहेको पाइन्छ । एकातिर यसले आपराधिक गतिविधिलाई प्रोत्साहित गरिरहेको हुन्छ भने अर्कातिर व्यापारीलाई निरुत्साहित गर्दै आइरहेको छ । 

तर, एमडिएमएस सिस्टमको प्रयोगपछि यस्ता खालका गतिविधि बन्द हुन्छन् । यो सिस्टमको सञ्चालनपछि नेपाल भित्रिने प्रत्येक मोबाइलको आइएमइए नम्बर सिस्टममा दर्ता भएको हुनुपर्छ । अन्यथा, नेपालभित्र त्यस्ता मोबाइल चल्दैनन् । तसर्थ, यो सिस्टमको प्रयोगले अवैध मोबाइलको आयात रोकिनेछ । सबै मोबाइल औपचारिक रूपमा भित्रिएपछि सरकारको राजस्वसमेत वृद्धि हुनेछ । 

त्यस्तै, मोबाइल हराएमा ट्र्याक र ब्लक तत्काल गर्न सकिनेछ । आपराधिक गतिविधिमा चोरी भएका र हराएका मोबाइल प्रयोग हुने गरेको छ । तर, यो प्रणालीले मोबाइललाई तत्कालै ट्र्याक गर्न सकिने भएकाले यस्ता गतिविधिमा पनि न्यूनीकरण हुनेछ । 

यो प्रणालीलाई प्राधिकरणले अहिले सफ्ट लन्च मात्रै गरेको छ । आगामी दुई महिनाभित्रमा प्रणालीमा फुल फेजमा सञ्चालनमा हुनेछ । प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि अनौपचारिक माध्यमबाट भित्रिएका मोबाइल स्वतः ब्लक हुनेछन् । प्राधिकरणले यो सिस्टम सञ्चालनमा ल्याएपछि व्यवसायी साँच्चिकै उत्साहित भएका छन् । 

प्राधिकरणको अनुमतिपछि मात्रै व्यवसायीले मोबाइल आयात गर्न पाउँछन् : आयातकर्ताले नेपालमा मोबाइल भित्र्याउनुअघि नेपाल दूरसञ्चार प्राधिकरणसँग अनुमति लिनुपर्नेछ । व्यवसायीले मोबाइल भन्सारमा आइसकेपछि त्यसको आइएमइआइ नम्बर प्राधिकरणमा पठाउनुपर्छ । प्राधिकरणले उक्त नम्बरलाई टाइप अप्रुभ भए/नभएको प्रमाणित गर्छ । अर्थात्, मोबाइल आयातकर्ताले पठाएको मोबाइल बजारमा आउनका लागि प्रमाणित भएको छ वा छैन भनी प्राधिकरणले प्रमाणीकरण गर्छ । प्रमाणित भैइसकेपछि आयातकर्तालाई प्राधिकरणले नै ‘नो अब्जेक्सन लेटर’ जारी गर्छ । सोही लेटर भन्सारमा पेस गरेपछि आयातकर्ताले मोबाइल नेपाल भित्र्याउन पाउँछन् । यसरी औपचारिक रूपमा भित्र्याइएका मोबाइल स्वतः प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भइसकेका हुन्छन् । तसर्थ, बजारमा ल्याइएका मोबाइल एमडिएमएसमा दर्ता भइसकेको हुनाले व्यक्तिले पुनः दर्ता गर्नुपर्ने झन्झट हुँदैन ।

मोबाइल फोन प्रयोगले मानिसको जीवनशैलीलाई जति सहज बनाइदिएको छ, उति नै जोखिम पनि बढेको छ । मोबाइलको दुरुपयोगले युवापुस्ता यौनजन्य हिंसाको चपेटामा पर्न थालेका छन् भने बालबालिका विभिन्न गेमको लतमा परेका छन् ।

यद्यपि, कुनै पनि व्यक्तिले मोबाइल खरिद गर्दा सो मोबाइल प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए/नभएको हेरेर मात्रै खरिद गर्नु उचित हुन्छ । यसका लागि प्राधिकरणको एमडिएमएस वेबसाइटमा गएर मोबाइल आइएमइआई नम्बर राखेर हेर्न सकिन्छ ।

कोभिडपछि घट्न थाल्यो व्यापार : कोभिड संक्रमणको अवधिमा नेपालमा मोबाइलको व्यापार नाटकीय रूपमा नै बढ्यो । कोभिडअघि २४ अर्ब रुपैयाँको व्यापार भइरहेको अवस्थामा एक्कासि बढेर ३६ अर्ब रुपैयाँसम्म पुग्यो । आर्थिक वर्ष ०७८/७९ मा ३८ अर्ब रुपैयाँबराबरको व्यापार भयो । आव ०७७/७८ मा भने करिब ३७ अर्ब रुपैयाँबराबरको मोबाइल व्यापार भएको थियो । गत वर्ष १० अर्ब हाराहारीको अबैध मोबाइल नेपाल भित्रिए । यस्तै, अघिल्लो आवमा नौ अर्ब रुपैयाँबराबरको अवैध मोबाइल भित्रिए । तर, अहिले भने मोबाइल व्यापार बिस्तारै घट्न थालेको छ । त्यतिवेला मोबाइल व्यापार बढी भयो । सबैको हातहातमा पुग्यो । त्यसैले पनि अहिले मानिसलाई यसको कम आवश्यकता भएको हुन सक्छ । 

कोभिड संक्रमणको समयमा मोबाइलको व्यापार बढ्नुको मुख्य कारण मानिस घरबाट बाहिर निस्कन नपाउनु हो । संक्रमणका कारण पूरै विश्व ठप्प भयो । नेपाल सरकारले पनि लकडाउन गरिदियो । पहिलो लकडाउन त मानिसले रमाइलो गरेरै बिताए । तर, बिस्तारै घरभित्रै बन्धक हुँदा मान्छे आजित हुन थाले । उनीहरूसँग समय बिताउने काम भएन । परिवारभित्रै पनि कोही कोभिडले संक्रमित हुँदा फरक–फरक कोठामा बन्धक भए । त्यसपछि त मान्छे झन् एक्लो हुन थाल्यो । त्यसैले त्यो समयमा मोबाइल नै समय बिताउने उपयुक्त माध्यम बन्यो । पहिलोपटकको लकडाउनमा मानिससँग पैसा पनि थियो । जसकारण महँगा–महँगा मोबाइल खरिद गरे । 

लकडाउन बढ्दै गएपछि मोबाइल झनै अपरिहार्य बन्यो । पछि विद्यालय तथा कार्यालयले अनलाइनमार्फत नै अध्यापन र अन्य काम गर्न थाले । अनलाइन क्लासका लागि मोबाइल झनै आवश्यक बन्यो । परिवारमा जतिजना बच्चा छन्, त्यतिवटा नै मोबाइल आवश्यक पर्ने भयो । यसले पनि मोबाइलको व्यापार ह्वात्तै बढाइदियो । 

५० प्रतिशत मोबाइल चीनबाट भित्रिन्छन् : नेपालमा आयात हुने मोबाइलमध्ये ५० प्रतिशत मोबाइल चीनबाट भित्रिन्छन् । यस्तै, ३५ प्रतिशत मोबाइल भारतबाट र बाँकी १५ प्रतिशत कोरियाबाट भित्रिन्छन् । चिनले नेपालीलाई लक्षित गरी विभिन्न प्रकारका मोबाइल उत्पादन गर्छ । सामान्य व्यक्तिले बोक्न सक्नेदेखि लिएर धनाढ्य व्यक्तिले पनि लिने खालका स्मार्ट मोबाइल चिनले निर्यात गर्छ ।

नेपालमा स्मार्ट र किप्याडवाला दुवै खालका मोबाइल बिक्री हुन्छन् । स्मार्ट मोबाइलको बजार हिस्सा ४० प्रतिशत छ भने किप्याडवाला मोबाइलको बजार हिस्सा ६० प्रतिशत छ । नेपालमा दूरसञ्चारको पहुँच बढ्दै गएपछि ग्रामीण भेगमा मोबाइलको माग बढ्दै गएको छ । ग्रामिण क्षेत्रका बासिन्दा प्रायजसो किप्याडवाला मोबाइल नै प्रयोग गर्छन् । त्यस्तै, अहिले स्मार्ट र आइफोन प्रयोग गर्ने व्यक्तिले पनि साथमा एउटा किप्याडवाला मोबाइल लिइरहेको देख्न सकिन्छ । यसर्थ, आज पनि किप्याडवाला मोबाइलको माग उत्तिकै छ । 

पाँच वर्षअगाडि मात्रै पनि मोबाइल एक–अर्का व्यक्तिलाई सम्पर्क गर्नका लागि मात्रै प्रयोग गरिन्थ्यो । बिस्तारै मानिसले युट्युब, फेसबुक, भाइबरजस्ता सञ्चारमाध्यम चलाउन मोबाइलको प्रयोग हुन थाल्यो । तर, अबका दिनमा मोबाइलको प्रयोग त्यसमा मात्रै सीमित छैन । आजका दिनमा मानिसले पठाओ, ई–सेवा, फोनपे, अनलाइन सपिङजस्ता कामका लागि पनि मोबाइल नै प्रयोग गर्न थालेका छन् । आगामी दिनमा माबोइलको प्रयोगमा विविधता आउनेछ । मानिसले मनोरञ्जन र सञ्चारका लागि मात्रै हैन, दैनिक जीवनयापनका लागि आवश्यक पर्ने हरेक गतिविधि मोबाइलबाट नै हुनेछ । जस्तै, तरकारी खरिद गर्न, औषधि खरिद गर्न, डाक्टरसँग समय लिन, विभिन्न उपभोग्य वस्तुको बिल भुक्तानी गर्न, विद्यालय, बिमालगायतको किस्ता र फी भुक्तानी गर्न, बैकिङ कारोबार गर्नसमेत मोबाइलको नै प्रयोग हुनेछ । त्यसैले आगामी दिनमा मोबाइलको प्रयोग झनै बढ्नेछ । 

मोबाइल प्रयोगमा चेतना बढाउनुपर्छ : मोबाइल फोनको प्रयोगले मानिसको जीवनशैलीलाई जति सहज बनाइदिएको छ, उति नै जोखिम पनि बढेको छ । मोबाइलको उचित प्रयोग गर्न नसक्दा विभिन्न जोखिम बढ्दै गएका छन् । युवापुस्ता यौनजन्य हिंसाको चपेटामा पर्न थालेका छन् भने बालबालिका विभिन्न गेमको लतमा परेका छन् । त्यस्तै, कतिपयले मोबाइल फोनको प्रयोग गरी विभिन्न अश्लील सामग्री निर्माण गर्ने र दुस्मनी भएका व्यक्तिको बेइज्जत गरिदिने जस्ता नकारात्मक काम पनि बढ्दै गएका छन् । 

अतः मोबाइल फोनको प्रयोगसँगै यसको उचित प्रयोगका लागि समय–समयमा विभिन्न खालका  जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्न जरुरी छ । घरमा बालबालिका छन् भने अभिभावक बढी जिम्मेवार हुुनुपर्छ । कुन उमेरमा छोराछोरीलाई मोबाइल प्रयोग गर्न दिने भन्ने विषयमा अभिभावक सचेत हुनुपर्छ । कुन समयमा बच्चालाई इन्टरनेट प्रयोग गर्न दिने भन्ने विषयमा पनि सचेत हुनुपर्छ, प्रयोग गर्न दिएर मात्रै हुँदैन । 

त्यस्तै, मोबाइल वितरक संघले पनि विभिन्न समयमा ११ र १२ कक्षाका विद्यार्थीका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा हामीले यसलाई झनै व्यवस्थित बनाएर आगाडि लैजाने सोच बनाएका छौँ । 

सुझावित समाचार