काठमाडौं ३ मा गठबन्धन छैन : एमाले, कांग्रेस र माओवादीबीच त्रिपक्षीय भिडन्त

मंगलबार, १५ कार्तिक, २०७९
डिजिटल संस्करण

मतदाता संख्या : ५८ हजार 
- ०७४ सालको मतपरिणाम 
प्रतिनिधिसभातर्फ 
- कृष्णबहादुर राई (एमाले) : १९,१६९ (विजयी)
- अम्बिका बस्नेत (कांग्रेस) : १४,८८४
प्रदेश सभा (क)
- छिरिङ दोर्जे लामा (कांग्रेस) : ६,४४८ (विजयी)
- रुद्रबहादुर बराइली (माओवादी) : ५,३३५
प्रदेश सभा (ख)
- रामेश्वर फुँयाल (एमाले) : १०,९९६ (विजयी)
- विमल ठकुरी (कांग्रेस) : १०,८१९

...                                           ...

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ को चुनावी माहोल फरक र रोचक देखिँदै छ । सत्ता साझेदार कांग्रेस र माओवादीबीच देशैभरि चुनावी गठबन्धन छ । यस्तै गठबन्धन काठमाडौंका अन्य क्षेत्रमा पनि छ । तर, काठमाडौं ३ र १० मा भने गठबन्धनभित्रकै दलहरू पनि प्रतिस्पर्धामा उत्रिएका छन् । 

प्रतिनिधिसभातर्फ काठमाडौं ३ मा २३ जना उम्मेदवार छन् । त्यसमा विभिन्न दल र आठ स्वतन्त्र उम्मेदवार छन् । तर, प्रतिस्पर्धा भने मुख्य गरी प्रमुख दलहरूबीच नै हुने अवस्था छ । गत स्थानीय तह निर्वाचनको मत परिणामअनुसार पनि एमाले, कांग्रेस र माओवादीबीच नै प्रतिस्पर्धाा हुने देखिएको छ । 

गठबन्धन गरेर चुनावमा जाने निर्णय केन्द्रबाट भए पनि स्थानीय नेताहरूबीचको विवादका कारण कांग्रेस र माओवादीले छुट्टाछुट्टै उम्मेदवार घोषणा गरेर प्रतिस्पर्धामा होमिएका छन् । कांग्रेसबाट सन्तोष चालिसे उम्मेदवार छन् भने माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईं अघि सरेका छन् । एमालेका कृष्णबहादुर राईले उनीहरूलाई चुनौती दिइरहेका छन् । प्रमुख दलका तीनै उम्मेदवार त छँदै छन्, यिनका फरक विशेषताका कारण पनि यहाँ प्रतिस्पर्धा पेचिलो बनेको छ । 

पूर्वमेयरदेखि निवर्तमान सांसदसम्म प्रतिस्पर्धामा 
प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । माओवादीका बजगाईं मजदुर नेता हुन् । एमालेका राई निवर्तमान सांसद हुन् । यो क्षेत्रमा तीनै दलको आफ्नै पकड छ भने मत पनि मिश्रित खालको आउने देखिन्छ । ०७४ सालको निर्वाचनमा आफ्नै दलले पाएको सफलता र स्थानीय तह निर्वाचनमा पनि धेरै वडा आफ्नै पोल्टामा आएका आधारमा एमालेले त्यहाँको निर्वाचन आफूले जित्ने दाबी गरेको छ । 

कांग्रेसका उम्मेदवार चालिसेका पनि आफ्नै दाबी छन् । निर्वाचन क्षेत्र रहेको तीनमध्ये दुई स्थानीय तहको मेयर आफ्नो पार्टीको रहेको, आफू धेरै मतदाता रहेको पालिकाको पूर्वमेयर भएकोलगायत आधार जितका लागि काफी भएको उनी बताउँछन् । साथै, गठबन्धनको उम्मेदवार पनि आफू भएको उनको दाबी छ । यद्यपि, माओवादीले बजगाईंलाई टिकट दिएको छ । माओवादीका उम्मेदवार बजगाईंले आफूलाई एमाले र कांग्रेसको विकल्पका रूपमा प्रस्तुत गरेका छन् । 

७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीको गठबन्धन थियो । त्यसमा एमालेका राई साझा उम्मेदवार थिए । गत स्थानीय तहको निर्वाचनमा भने कांग्रेस र माओवादीको चुनावी तालमेल थियो । यस निर्वाचनमा भने तीनै दल तीनतिर एक्लाएक्लै चुनाव लड्ने भएकाले प्रतिस्पर्धा पेचिलो बनेको छ । 

स्थानीय निर्वाचनको परिदृश्य 
यस निर्वाचन क्षेत्रको ठूलो हिस्सा गोकर्णेश्वरले ओगट्छ । गोकर्णेश्वरको पूरै क्षेत्र यही निर्वाचन क्षेत्रमा पर्छ । अहिले पनि यहाँका मेयर कांग्रेसकै दीपककुमार रिसाल हुन् । तर, वडागत मतका हिसाबमा भने एमालेको बलियो उपस्थिति छ । उपमेयरसहित नौमध्ये पाँच वडामा विजयी भएको हिसाबमा एमाले यहाँ बलियो देखिन्छ । कांग्रेसले तीनवटा मात्र वडा जितेको छ भने एउटामा स्वतन्त्रले जितेको छ । 

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १, २ र ३ वडा पनि यस क्षेत्रमा पर्छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा १ र ३ मा एमाले र २ मा कांग्रेसले जितेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ पनि यस क्षेत्रमा पर्छ । उक्त वडामा नेपाली कांग्रेसले जितेको छ । 

स्थानीय तह निर्वाचनमा काठमाडौं वडा नम्बर ६ मा कांग्रेसका भुवन लामा विजयी भएका थिए । कागेश्वरी मनोहरा १ मा एमालेका मुकुन्दप्रसाद गजुरेल विजयी भएका थिए । यस्तै, वडा नं. २ मा कांग्रेसका सुरज खड्का विजयी र वडा नं. ३ मा एमालेका राममणि पुडासैनी विजयी भएका थिए ।

गोकर्णेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका दीपककुमार रिसाल ९,६९२ मतसहित मेयर विजयी भएका थिए । गोकर्णेश्वरका ९ वडामध्ये पाँच वडामा एमाले, ३ वडामा कांग्रेस र एउटा वडामा स्वतन्त्र विजयी भएका थिए । समग्रमा काठमाडौं ३ मा पर्ने १३ वडामध्ये एमालेले सात, कांग्रेसले पाँच र स्वतन्त्रले एक वडा जितेको छ । 

वडागत मत परिणामअनुसार गत स्थानीय तह निर्वाचनमा कुल मतका आधारमा कांग्रेस अगाडि छ । कांग्रेसले १५ हजार सात सय ९५ मत ल्याएको छ । यस्तै, एमालेले १४ हजार आठ सय ७६ मत ल्याएको छ । माओवादीको मत एक हजार सात सय ३० छ । 

प्रदेश सभामा एमाले र कांग्रेसका उम्मेदवार दोहोरिने दाउमा 
प्रदेश सभामा भने एमाले र कांग्रेसका दुई उम्मेदवार सांसदमा दोहोरिन खोजेका छन् । प्रदेशसभा (क)मा ०७४ मा निर्वाचित कांग्रेसका निवर्तमान सांसद छिरिङ दोर्जे लामाले दोहोर्‍याएर उम्मेदवारी दिएका छन् । उनका प्रमुख प्रतिस्पर्धी एमालेका चन्द्रमान लामा र माओवादीका कपिलमुनि उप्रेती छन् । प्रदेश सभा (ख)मा एमालेका रामेश्वर फुँयाल पनि दोहोरिन खोजेका छन् । उनका प्रमुख प्रतिस्पर्धीमा कांग्रेसका विमल ठकुरी र माओवादीका महेश्वर फुँयाल छन् । सत्ता गठबन्धनले यस क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा (क)मा कांग्रेसका उम्मेदवारलाई उठाउने सहमति गरेको थियो । प्रदेशसभा (ख) तर्फ भने माओवादी र कांग्रेसको मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो । 

यी हुन् प्रतिस्पर्धी उम्मेदवार 
काठमाडौं ३ मा प्रमुख तीन पार्टीबाहेक प्रतिनिधिसभातर्फ मोहनकुमार विश्वकर्मा (जनता समाजवादी), गणेश गिरी (राप्रपा), विशोक डंगोल (नेपकिपा), मोहनबहादुर बस्नेत (लोसपा नेपाल), गोविन्द नेपाल (जनमत पार्टी), समिना न्यौपाने (मौलिक जरोकिलो पार्टी), द्वारिका अधिकारी (हाम्रो नेपाल पार्टी), कृष्णकाजी श्रेष्ठ (मंगोल नेसनल अर्गनाइजेसन), नुर्पु गेन्जेन शेर्पा (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), रक्षकुमार राई (सामाजिक लोकतान्त्रिक पार्टी), नेत्रबहादुर तामाङ (आमूल परिवर्तन मसिहा पार्टी नेपाल) र दुर्गाविक्रम थापा क्षत्री (राष्ट्रिय स्वतन्त्र पार्टी)ले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रतर्फ : केदारनाथ मिश्र, दिनेश खनाल, कविता विष्ट सुनार, राजेश विष्ट, बिन्दु मगर, श्रीकृष्ण ज्योति, जगन्नाथ देवकोटा र निरञ्जन पुडासैनी छन् । 

सुझावित समाचार