पराया प्रजाति र युरोपेली साम्राज्यवाद

आइतबार, १३ कार्तिक, २०७९
डिजिटल संस्करण

देश/विदेश

युरोपेली साम्राज्य पतनपछि पनि उपनिवेशवादको प्रभाव अझै पनि विदेशी बोटबिरुवाको वितरणमा देख्न सकिन्छ

यस आलेखका सहलेखक गुइल्यामी केही वर्षअघि दक्षिण अफ्रिकाको स्टेलेनबोस गएका थिए र उनले आफूलाई युरोपेली कटुसका रूखको छहारीमा पाएका थिए । यो क्षेत्र वाइनका लागि प्रख्यात छ र शताब्दियौँ पहिले युरोपेली उपनिवेशकले कटुसलाई वाइन भण्डारण गर्ने ब्यारेलको काठको रूपमा प्रयोग गर्न आयात गरेका थिए । यद्यपि, हावापानीको भिन्नताका कारण कटुसका रूखको तीव्र वृद्धि हुन थाल्यो जसले दक्षिण अफ्रिकाको कटुसको काठ अनुपयोगी बनायो । अनुपयोगी तर तीव्र वृद्धिका कारण छरपस्ट रहेका यी रूखले हजारौँ माइल टाढाको सहरको प्रतीक मात्रै झल्काउँछ ।

प्रकृतिप्रेमीले आफ्नो क्षेत्रका प्रजाति अन्यत्र विश्वमा खोज्नकै लागि घुम्न निस्किनु अस्वाभाविक लाग्न सक्छ । तर, यो प्रवृत्ति तपाईंले प्रायः युरोपेलीमै पाउन सक्नुहुन्छ । तर, यसो किन ? अन्य थुप्रै जिज्ञासाका उत्तर मानिसमा भेटिएझैँ माथिको प्रश्नको उत्तर पनि मानिसमै भेटिन्छ । विश्वभरिको हाम्रो यात्रा र हिँडडुलका कारण हामीले जहिले पनि तथाकथित ‘पराया प्रजाति’ (एलियन स्पेसिज) निर्माण गरेका छौँ जहाँ यी प्राकृतिक रूपमा विकसित भएका प्रजातिलाई हामी मूल थलोबाट अन्यत्र सार्छौँ । यीमध्ये केही पराया प्रजातिले आफूलाई राम्रैसँग स्थापित गरेका छन् उदाहरणका रूपमा दक्षिण अमेरिकामा उत्पत्ति भएका खुर्सानी, आलु र टमाटरलाई लिन सकिन्छ । १५औँ शताब्दीको अन्त्यमा युरोपेली औपनिवेशिक साम्राज्यले प्रजातिको पुनर्वितरणलाई विश्वव्यापी बनाएको हो ।

हामीले हालै चार युरोपेली साम्राज्य (बेलायती, स्पेनिस, पोर्चुगिज र डच)का पराया वनस्पतिको अनुसन्धान गरेका थियौँ । अनुसन्धानले औपनिवेशिक शक्तिले उपनिवेश बनाएका क्षेत्रका वनस्पति उपनिवेश नबनेका क्षेत्रमा समान छैनन् भन्ने देखाएको छ । औपनिवेशिक शासनको लम्बाइले उपनिवेश र उपनिवेशकबीचको वनस्पतीय समानता निर्धारण गर्छ । हालै नेचर इकोलोजी र इभोलुसन शोध पत्रिकाले हाम्रो काम प्रकाशित गरेको छ ।

किन हुन्छ वनस्पतिको सरुवा ? : युरोपेली विस्तारको प्रारम्भिक चरणमा आफू बसोवास गर्न जाने बस्तीमा पर्याप्त खाद्य व्यवस्थाको सुनिश्चितता गर्न अन्वेषक र उपनिवेशकले बोटबिरुवा आफैँसँग बोकेका थिए । पछि सौन्दर्य र भावनात्मक कारणले पनि प्रजातिको सरुवा हुन थाल्यो । समयक्रमसँगै ‘पुरानो’ र ‘नयाँ’ विश्वबीच वनस्पति प्रजातिको आदानप्रदान फस्टायो र उपनिवेश क्षेत्रमा मुख्यतया खाना, चारा र बगैँचाका लागि प्रजाति भित्र्याइयो जसले हामीले देख्ने ‘पराया प्रजाति’को आधार तयार पार्‍यो । १९औँ शताब्दीको उत्तरार्ध र २०औँ शताब्दीको प्रारम्भमा विश्वव्यापी प्रजाति आदानप्रदान विशेष ढंगले सक्रिय रह्यो । वनस्पति उद्यान र तथाकथित ‘अनुकूलन संस्था’ले विज्ञान, औषधि, बगैँचा वा आर्थिक शोषणका लागि साम्राज्यमा बोटबिरुवाको आदान–प्रदान गर्थे । बेलायती साम्राज्यको चरम सफलताको अवस्थामा सयभन्दा बढी वनस्पति उद्यान र ५० अनुकूलन संस्था अस्तित्वमा थिए तीमध्ये लन्डनको केउ गार्डेन सबैभन्दा प्रसिद्ध थियो । यी प्रवृत्तिले युरोपमा सजावटी बगैँचामा अत्यधिक बढोत्तरी ल्यायो र नयाँ पराया बोटबिरुवाको आकांक्षा थप बलियो बन्यो ।

चित्र : थोमस हेस्मर सेफर्ड 

लामो उपनिवेश अर्थात् अधिक पराया बोटबिरुवा : बिरुवाहरू र मालवस्तु उपनिवेश गरेकै क्षेत्रमा व्यापार भएको सुनिश्चित गर्न युरोपेली साम्राज्यले बारम्बार सख्त पक्षपाती व्यापार नियम लागू गरेका थिए । नतिजा, विशिष्ट बिरुवाको प्रत्येक साम्राज्यबीच पनि अत्यधिक ढंगले व्यापार हुन गयो । समयक्रमसँगै लामो समयदेखि उपनिवेश बनेका क्षेत्रमा धेरै हदसम्म समान पराया वनस्पति देखिए । 

प्रशासन, अर्थव्यवस्था वा समग्र रणनीतिका लागि महत्वपूर्ण हुने भएकाले केही क्षेत्र साम्राज्यको सञ्जालमा जोडिएका थिए । यी क्षेत्रमा सामान्यतया धेरै ढुवानी गतिविधि भएको हुनाले यहाँ धेरै बिरुवाले बढ्ने मौका पाउँथे । उदाहरणका लागि एजोरेस वा सेन्ट हेलेनाजस्ता टापु अन्तरसामुद्रिक यात्रामा महत्वपूर्ण रूपमा बिसौनी गन्तव्य बन्थे । दक्षिण अफ्रिकाको केप क्षेत्र र दक्षिण एवं दक्षिण–पूर्वी एसिया पनि अन्तर्राष्ट्रिय मसला व्यापारका लागि महत्वपूर्ण क्षेत्र थियो ।

पराया वनस्पतिमा चासो किन राख्ने त ? : मानव स्वामित्वमा रहेका र संसारभरि फैलिन जारी रहेका धेरै पराया प्रजातिले समस्या निम्त्याउन सक्छन । यी प्रजातिलाई सिकारी पराया प्रजाति भनिन्छ । केही चर्चित उदाहरणमा बगैँचेको दुःख भनेर चिनिने जापानी नटविड झार पर्छ जसले धेरै आदिवासी बोटबिरुवालाई विस्थापित गर्न सक्छ । त्यसैगरी, १७औँ शताब्दीको सुरुमा बेलायतमा सजावटी बोटको रूपमा ल्याइएको ब्ल्याक लोकस्टको रूखले वातावरणलाई क्षति हुने गरी प्रभाव पारिरहेको छ ।  

बेलायतमा मात्रै सिकारी पराया प्रजातिको प्रभाव कम गर्न सन् १९७६ देखि पाँच अरब ४० करोडदेखि १३ अर्ब ७० करोड बेलायती पाउन्डसम्मको खर्च हुनेछ । विज्ञानको सबैभन्दा ठूलो कमजोरी भनेको कुन पराया प्रजाति सिकारी हुन्छ भनेर सुरुमै पत्ता लगाउनु नसक्नु हो, किनभने प्रायः यी हानिकारक प्रभाव प्रजातिको सुरुवाती चरणमा थाहा हुँदैन अर्थात् वर्षौँसम्म देखापर्दैन ।

हाम्रो अध्ययनले युरोपेली साम्राज्यको पतनपछि पनि उपनिवेशवादको प्रभाव अझै पनि विदेशी बोटबिरुवाको वितरणमा देख्न सकिन्छ भन्ने देखाएको । यसबाहेक औपनिवेशिक युगको अन्त्यपछि पनि आप्रवासन र व्यापार उल्लेखनीय रूपमा बढेको छ । यसले प्रजातिको थप आदानप्रदान गरेको छ जसले जैविक विविधतामा दीर्घकालीन प्रभाव पार्नेछ ।

हामीले तुरुन्तै शिकारी प्रजातिको विस्तार रोक्न र तिनको प्रभाव कम गर्न यी प्रजातिमध्ये केहीले उत्पन्न गर्ने समस्यालाई निराकरण गर्न विश्वव्यापी नीति लागू गर्नुपर्छ ।

(लेज्नर जैविक विविधताका उत्तर–विद्यावारिधिका शोधकर्ता हुन्, ल्याटोम्बे वातावरण परिवर्तनका अध्यापक हुन्)  द कन्भर्सेसनबाट

सुझावित समाचार