निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रूपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ।
यस्तै, प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न भएको मतपत्र र प्रदेश सभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ।
आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ।
यो मतपत्रमा इच्छाएको उम्मेदवारको चुनाव चिह्नमा मतदाताले मतसंकेत गरिसकेपछि त्यसलाई पट्याएर नजिकैको ‘एक’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्नेछ।
यो मतपत्र खसालिसकेपछि दोस्रो चरणमा मतदाताले पाउने प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा इच्छाएको राजनीतिक दलको चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘दुई’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ।
तेस्रो चरणमा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ।
यो मतपत्रमा इच्छाएको उम्मेदवारको चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘तीन’ लेखिएको नजिकैको मतपेटिकामा मत खसाल्नुपर्छ।
चौथो तथा अन्तिम चरणमा प्रदेश सभाको समानुपातिकतर्फको मतपत्र मतदातालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ। यो मतपत्रमा मतदाताले आफूले इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गरिसकेपछि त्यसलाई पट्याएर ‘चार’ लेखिएको नजिकैको मतपेटिकामा मत खासाल्नुपर्नेछ।
हरेक मतदान केन्द्रमा व्यवस्था गरिने गोप्य कक्षमा राखिएको स्वस्तिक छापले मतदाताले मतपत्रमा मतसंकेत गर्नुपर्ने व्यवस्था छ।
मतदाताले मतदान केन्द्रमा मास्क लगाएर आ–आफ्नो परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था आयोगले गरेको छ।
महिलाले तोकिएको महिलाको लाइनमा र पुरुषले तोकिएको पुरुषको लाइनमा लामबद्ध भई मतदान गर्न पाउने गरी मतदान केन्द्रको व्यवस्थापन गर्न लागिएको छ।
गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाता लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको छ।
दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मतसंकेत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मतसंकेत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था छ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले गएको स्थानीय तहको निर्वाचनमा मतपत्र ठूलो आकारको भएको र मतसंकेत सात ठाउँमा गर्नुपर्ने कारणले मत संकेत गर्दा कतिपयमा देखिएको अलमलले खसेको मतमा केही बदर हुने समस्या देखिएको हुन सक्ने बताए।
उनले भने, ‘आउने निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाहरूको मात्रै चुनाव चिह्नको व्यवस्था गरिएकाले बदर मत निकै घट्ने विश्वास गरेका छौँ।’