काठमाडौं ३ मा माओवादीलाई उम्मेदवारी निष्क्रिय गर्न दबाब

सोमबार, ७ कार्तिक, २०७९
डिजिटल संस्करण
काठमाडौं ३ मा माओवादीलाई उम्मेदवारी निष्क्रिय गर्न दबाब

काठमाडौं ३ मा संघ र प्रदेससभामा कांग्रेसका उम्मेदवार

काठमाडौं ३ मा माओवादी केन्द्रलाई उम्मेदवारी  निष्क्रिय पार्न दबाब देखिएको छ। सत्तागठबन्धनको सहमतिअनुसार कांग्रेसले पाएको क्षेत्रमा माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईंको उम्मेदवारी कायम रहेपछि कांग्रेसले फिर्ताका लागि दबाब बढाएको हो। यस क्षेत्रमा कांग्रेसका उम्मेदवार सन्तोष चालिसे मैदानमा छन्।

काठमाडौं ३ मा कांग्रेसबाट प्रदेश सभातर्फ (क) मा कांग्रेसका छिरिङ दोर्जे लामा र विमल ठकुरी उम्मेदवार छन्। माओवादी केन्द्रले पनि प्रदेशतर्फ (क) मा कपिलमुनि उप्रेती र (ख) मा महेश्वर फुँयाललाई उम्मेदवार बनाएको छ। कांग्रेसले संघ र प्रदेशतर्फ दुईवटै निर्वाचन क्षेत्रको उम्मेदवारी निष्क्रिय गर्न दबाब दिँदै आएको छ। 

उम्मेदवारी फिर्ता नगरेपछि निर्वाचनमा सत्तागठबन्धनको उम्मेदवार जिताउन उम्मेदवारी निष्क्रिय पार्न प्रयास भइरहेको काठमाडौं ३ का चुनावी अभियान संयोजक हरिबोल भण्डारीले जानकारी दिए। कांग्रेस नेताहरू गठबन्धनमा समझदारीविपरीत माओवादीको बागी उम्मेदवारी परेको टिप्पणी गर्छन्। चुनावी अभियान संयोजक हरिबोल भण्डारी उम्मेदवारी निष्क्रिय गरेर कांग्रेस उम्मेदवारको पक्षमा माहोल बनाउने प्रयास सकारात्मक रुपमा अघि बढिरहेको दाबी गर्छन्। 

‘हामीले गठबन्धनलाई धर्मका रूपमा मानेका छौँ, यसको पालना माओवादीले पनि गर्नुपर्छ। काठमाडौं ३ मा गठबन्धनका उम्मेदवार  पराजित हुने अवस्था सिर्जना गर्नु गठबन्धनको हार हो,’ उनले भने, ‘उहाँहरू पनि शीर्ष तहमा छलफल गरेर फिर्ता लिन सकारात्मक हुनुहुन्छ। यसको पहल भइरहेको छ। यसलाई शीर्ष तहले पनि तत्काल ध्यान दिनुपर्छ।’

See More On

सुझावित समाचार