बबई नदीमा डुबेका किशोरीको शव निकालियो

आइतबार, ६ कार्तिक, २०७९
डिजिटल संस्करण

दाङको बबई नदीबाट डुबेर बेपत्ता भएका दुई किशोरीको शव निकालिएको छ। उनीहरूकाे शव स्थानीयले आइतबार दिउँसो साढे ३ बजेतिर निकालेका हुन्। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गोताखोरको टोली पुग्नुअघि नै स्थानीयले पानीमुनि गएर शव निकालेका हुन्। शव पानीमुनि गाडिएको अवस्थामा थिए। 

नुहाउन गएका दंगीशरण गाउँपालिका–२ सिमलकुुनानिवासी अन्दाजी १५/१६ वर्षीया रमा शाह र सल्यान दमाचौर घर भई दंगीशरण–२ स्थित मामाघर आएकी अन्दाजी १४/१५ वर्षीया गोमा चन्द शनिबार दिउँसो पौने २ बजेतिर बेपत्ता भएका हुन्। 

तुलसीपुर उपमहानगरपालिका– ११ र दंगीशरण गाउँपालिका–२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीनजना किशोरी गएका थिए।

तीमध्ये दुईजना पौडी खेल्न बीचमा गएको र अर्की दंगीशरण–२ सिमलकुनानिवासी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन्। उनीहरू दुवैजना डुबेपछि निरुताले स्थानीयलाई खबर गरेपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए। 
 

सुझावित समाचार