स्वतन्त्र मनको समर्थन युग पाठकलाई

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

झापामा क्षेत्र नम्बर ५ मा स्थानीय तह निर्वाचनपछि सक्रिय रहेको स्वतन्त्र मन नामक संस्थाले झापा– ५ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार युग पाठकलाई समर्थन गर्ने भएको छ ।

उक्त संस्थाले एक विज्ञप्ति जारी गर्दै पाठकलाई समर्थन गर्ने भएको हो । ओलीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पाठकले भने नयाँ आन्दोलन ‘उत्स्रवण’ आन्दोलनको उद्घोष गर्दै उम्मेदवारी दर्ता गरेका छन् । उनी आफ्नो प्रतिस्पर्धा ओलीसँग हुने बताउँछन् । ‘म कसैको भोट काट्न हाेइन, जित्न आएको हुँ । ओलीसँग मुख्य प्रतिस्पर्धा युग पाठकको हुनेछ,’ उनले भने, ‘जनताको बीचमा जाँदै गर्दा  दलहरूप्रति वितृष्णा र असफलताको पछाडि उनीहरूको असफल विचारले काम गरेको छ । हाम्रो विचार र प्राथमिकता बदल्नुपर्छ भन्दै जाँदा जनतामा ठूलो स्वीकार्यताको माहोल बनेको छ ।’

स्वतन्त्र मनले झापा– ५ मा पाठकको विकल्पमा अन्य उम्मेदवार नभेटिएकाले पाठकलाई नै समर्थन गरेको जनाएको छ । ‘हामी पार्टी हेर्दैनौँ, सही उम्मेदवारलाई समर्थन गरेर जाने हो । यहाँ युग पाठकको विकल्प अरू भेटेनौँ,’ स्वतन्त्र मनका संयोजक अशोक थापाले भने, ‘हामीले पाठकको व्यक्तित्व हेर्यौँ । उहाँको क्षमता हेर्यौँ । उहाँसँग भोलि संसदमा पुगेर बहस चलाउन सक्ने क्षमता छ । त्यही भएर चुनेका हौँ ।’

यस्तै, स्वतन्त्र मनले झापा– २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपाल र झापा– ४ मा हाम्रो नेपाली पार्टीका युक्त भेटवाललाई समर्थन गरेको जनाएको छ । 

सुझावित समाचार