योजना छैन, छ । बजेट छैन, छ । गरिदिने छैनन्, कति छन्, छन् । भनाइ धेरै छ, हातलागि थोरै छ । बुँदेबुँदेमा कुदेको छ नेपालको गुणस्तरीय शिक्षा । यस्तो परिणाम ल्याउन यस्तो कार्यक्रम आउँछ । अब त्यसो होइन, यसो गर्नुपर्छ । फेरि गराइ उही ‘हिँड्दै छ, पाइला मेट्दै छ’ जस्तो देखिन्छ । यसरी नै गिरिरहेछ शिक्षाको साख । शिक्षामा योजना छैन होइन, छ । प्रथम पञ्चवर्षीय योजनादेखि पन्ध्रौँ पञ्चवर्षीय योजना कालमा विद्यालय शिक्षासम्बन्धी धेरै योजना बने । सबै योजना, परियोजना र कार्यक्रमले प्रत्यक्ष वा परोक्ष रूपमा गुणस्तरीय शिक्षालाई नै केन्द्रबिन्दुमा राखे ।
नीति, नियम, योजना र कार्यक्रम शिक्षण सिकाइको बढावालाई केन्द्रमा राख्दाराख्दै शिक्षाको गुणस्तर खस्किँदै छ । यसको कारण आजै केलाइएन भने शैक्षिक गुणस्तर झन्–झन् खस्किँदै जान्छ । शिक्षा प्रणाली पूर्ण असफल भएको घोषणा हुन मात्र बाँकी छ भन्ने चिन्ता व्यक्त हुन थालिसकेका छन् । यस्तो अवस्थामा हाम्रो सामुदायिक शिक्षा विघटनको दिशातिर नजाला भन्न सकिन्न ।
शिक्षाले जीवन होइन, शब्द सिकायो । यसले धेरैलाई पछाडि राखेर एउटालाई अगाडि बढ्न सिकायो (ओसो, १९६८) । व्यवहार परिवर्तन अर्थात् कार्यक्षमता अभिवृद्धिको विषय त परै जाओस्, नेपालको शिक्षण सिकाइको दुरवस्था हेर्दा शिक्षाले सिकाएको शब्दमालाको ज्ञान पनि औसतभन्दा धेरै तल छ । परीक्षामा ३।२ र सोभन्दा माथि ल्याउने करिब नौ प्रतिशत मात्र विद्यार्थी छन् । फेरि उक्सेको नतिजाको पनि भर छैन । एसइईको २०१९ र २०२० मा लिइएको परीक्षाको नतिजाले विद्यार्थीबीचको नतिजाको खाडल त साँगुरो देखायो ।
उच्चतम जिपिए ल्याउने विद्यार्थीको संख्या पनि बढ्यो । तर, यस अवधिमा कोभिडका कारण न विद्यालयमा नियमित पढाइ भयो, न त व्यवस्थित परीक्षा नै । मात्र नतिजाको बढोत्तरी भयो । प्रोसेस केही नगरी प्रोडक्ट कसरी राम्रो भयो भन्ने ? के हो गुणस्तरीय शिक्षा ?गुणस्तरीय शिक्षालाई धेरै कोणबाट व्याख्या गर्न सकिन्छ । पाठ्यक्रमले तोकेको ‘नम्र्स’ पूरा गरी प्राप्त गरिने शिक्षा गुणस्तरीय शिक्षा हो भन्न सकिन्छ ।
पाठ्यक्रमले विषयवस्तु, शिक्षण घन्टा, शिक्षण पद्धति र मूल्यांकनका तौरतरिका तोकेको छ । ती सबै प्रक्रिया पूरा गरेर उच्चतम सिकाइ उपलब्धि हासिल गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । विद्यार्थी जे भन्न सक्छ, त्यो गर्न पनि सक्ने बन्यो भने त्यो शिक्षा गुणस्तरीय भयो । भन्न मात्रै सक्ने अर्थात् उत्तर मात्र लेख्न सिकाउने शिक्षाले स्कोर त उच्चतम ल्याउन सिकाउला, तर विद्यार्थीको जीवनमा आइपरेका समस्या समाधान गर्ने सक्षमता दिलाउन सक्दैन । उच्चतम अंक प्राप्ति र उत्कृष्ट व्यावहारिक समस्या समाधानको ‘फ्युजन’ नै गुणस्तरीय शिक्षा हो ।
यो पाठ्यक्रम, जुन सक्षमतामा आधारित पाठ्यक्रम हो, ले विद्यार्थीले के जान्नेछन् भन्दा पनि के गर्न सक्छ भन्नेमा जोड दिएको छ । पाठ्यक्रमले विद्यार्थीलाई प्रदत्त ज्ञान र सीपको तादाम्य खोजेको छ । ज्ञानले मात्रै पनि व्यक्तिको जीवन पूर्ण हुन सक्दैन । ज्ञानविनाको सीप केवल मौखिक मात्र हुन्छ । त्यसैले, जुन शिक्षामा विधिवत् बुझाइ र सामाजिक प्रयोगको तादाम्य हुन्छ, त्यो नै आजको गुणस्तरीय शिक्षा हो । यस्तो शिक्षाले अभिभावकलाई सन्तुष्टि, माथिल्लो अध्ययनमा सफलता, सामाजिक प्रयोग र स्वस्थकर जीवनयापनमा सहयोग पुर्याउन सक्छ । गुणस्तरीय शिक्षाको सबै चिन्तनको मूल आशय यही हो ।
गुणस्तरीय शिक्षाको अवरोध के हो ?
शिक्षाप्रति उदासीन नेतृत्व : शिक्षामा सरकारको लागानी दिनानुदिन बढिरहेको छ भने सिकाइ उपलब्धि खस्किँदै छ । ०६५ तिर प्रतिविद्यार्थी लागत २९०० रुपैयाँ हुँदा औसत सिकाइ उपलब्धि ५७ प्रतिशत थियो । हाल माध्यमिक तहमा राज्यले प्रतिविद्यार्थी २९ हजार दुई सय खर्च गरिरहेको छ भने विद्यार्थीको औसत सिकाइ उपलब्धिचाहिँ ४८ प्रतिशतभन्दा माथि जान सकेको छैन । यसले शिक्षाको स्रोत बाँडफाँडमा प्रश्न तेस्र्याएन र ?
हाम्रा सबै योजना, परियोजना र कार्यक्रमले प्रत्यक्ष वा परोक्ष रूपमा गुणस्तरीय शिक्षालाई नै केन्द्रबिन्दुमा राख्दाराख्दै पनि शिक्षाको गुणस्तर खस्किँदै छ
सक्नेले पढ्ने, सक्नेलाई पढाउने र सक्नेले पढाउने शिक्षाको चरण, जुन करिब ०४२ सम्म रह्यो । आधारभूत आवश्यकताभित्र शिक्षालाई राखेर आधारभूत विद्यालय खुलेपश्चात् सबैले पढ्ने, सबैलाई पढ्न प्रोत्साहित गर्ने कार्यक्रम सुरु भयो । सन् २००१ देखि सबैका लागि शिक्षा कार्यक्रम सुरुवातपश्चात् सबैलाई प्राथमिक शिक्षा दिने कार्य थालनी भयो । एसएसआरपी २००९ पश्चात् गुणस्तरीय शिक्षाको सोच आयो । एसएसडिपी २०१६ पश्चात् सबैका लागि गुणस्तरीय शिक्षाको सुरुवात भयो ।
यी कार्य नेतृत्वकै पहलमा भए भन्नुपर्छ । तथापि, गिर्दो शैक्षिक उपलब्धि देखिनुमा स्रोत बाँडफाँडमा देखिएको नैराश्य, हचुवापन, दोहोरोपना, गुणबोधी अनुगमनको अभाव र शिक्षासेवीप्रति देखाइने हेलत्वमा उच्च तहका नेतृत्वको रोमाञ्चकारिता मुख्य कारण हो । तसर्थ, गुणस्तरीय शिक्षाका लागि विद्यालय शासन पद्धति र सिकाइ पद्धतिलाई आत्मसात् गर्न सक्ने गुणस्तरीय नेतृत्वको खडेरी नै यसको कारण हो । लोकतान्त्रिक सरकारको बहालीपश्चात् सरुवा, पुरस्कार र शिक्षाको पद्धति निर्माणमा देखिएको चरित्र यसैका उदाहरण हुन् ।
शिक्षाको गलत चिन्तन : पढ्नु, परीक्षा दिनु र उत्तीर्ण हुनु नै शिक्षा हो भन्ने चिन्तन हाबी हुनु गुणस्तरीय शिक्षाको अर्को एउटा ठूलो अवरोध हो । माध्यमिक विद्यालयसम्मको अध्ययनपश्चात् माथिल्लो तहको अध्ययनमा जान नसक्ने झन्डै ६० प्रतिशत कुनै पेसा चलाएर जीवन निर्वाह गर्न सक्ने तागत प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीबाहेक अरूमा छैन । यो वर्ग पासको चिन्तन बोकेर यहाँसम्म आइपुग्यो ।
अब सिक्न र बिक्न फेरि उसले शून्यबाट तालिम सुरु गर्नुपर्छ भने विद्यालयले उसलाई १०–१२ वर्ष बूढो बनाउनुबाहेक अरू के गर्यो ? यस वर्गका झन्डै ९० प्रतिशत व्यक्तिहरूको अवस्था यही छ । फेरि प्राविधिक विषय पढ्छु भन्ने करिब नौ प्रतिशत बालबालिकाका लागि पुनः ब्रिजकोर्स अध्ययन गर्नुपर्ने अवस्था छ । बल्ल यहाँ आइपुगेपछि यस वर्गलाई आफ्नो ‘पासे’ शिक्षाले झस्काउँछ– चाहिने विषयगत ज्ञान त सिकेनछु कि भनेर । उत्तर मिलाउन सक्नेले व्यवहार मिलाउन नसकेर गलपासो परेका धेरै उदाहरण छन् । लेखेर ठूलो हुने अरू भर्सेलै परोस् भन्ने शैक्षिक प्रशासनको कार्यकारण नै आजको परिणाम हो । पासको चिन्तनले काम गर्दैन भन्ने चिन्तन मै हुँ भन्ने सुधारवादीको सोचमा समेत पस्न सकेन । शिक्षाको नयाँ चिन्तनमा खोइ बहस रु खोइ चिन्तन ? यति धेरै नेतृत्व हुँदासमेत विद्यालय शिक्षाका यावत् ग्य्राजुयटहरूको यो दुरवस्था हुनुमा शिक्षाको आर्थिक स्रोत वितरणमा प्राथमिकताले भन्दा ‘ब्ल्याक बक्स’को मापदण्डले काम गर्दा नै यो अवस्था आएको भन्न सकिन्छ ।
गरिबी : शिक्षाको गुणस्तरका लागि त्यसको उद्देश्यको लगानी, समयको लगानी, विद्यार्थीको परिश्रमको लगानी, आर्थिक लगानी आदि आवश्यक पर्छन् । गुणस्तरीय शिक्षाका लागि अभिभावकको शिक्षण पद्धति महत्वपूर्ण हुन्छ । यो एक किसिमको उद्देश्यका लगानी हो । अभिभावक दुई वर्गका छन् । सम्पन्न अभिभावक शिक्षाप्रति सचेत छन् र शिक्षामा लगानी पनि गरेका छन् । गरिब पनि शिक्षाप्रति सचेत छन् । तर, उनीहरू सन्तानको शिक्षामा लगानी गर्न सक्दैनन् । माध्यमिक विद्यालयका २७.५ प्रतिशत विद्यार्थीले मात्र घरमा तालिका बनाएर पढ्ने गरेको पाइन्छ । तथापि, गरिबीका कारण धेरै बालबालिकाले अरूको घरमा काम गरेर सामुदायिक विद्यालयमा पढ्छन् भने कामदारका छोराछोरीको पढ्ने स्थल पनि सामुदायिक विद्यालय नै छ । यी वर्ग र विद्यालयबीच अन्तत्र्रिmयात्मक सम्बन्ध प्रायः छैन । यी वर्ग पढ्ने विद्यालयले स्रोत वितरणमा प्राथमिकता पाउँदैनन् । पासको आसमा विद्यार्थी झुन्डिन्छन् । पासले के काम गर्छ, थाहै नपाई विद्यार्थी विद्यालयीय शिक्षाबाट पार हुन्छन् ।
संरचनामा गैरपेसावादी हाबी : शिक्षण सिकाइको गुणस्तर सुनिश्चिततामा शासन पद्धति र सिकाइ पद्धतिको महत्वपूर्ण भूमिका हुन्छ भन्ने अध्ययनबाट देखिएको छ । पद्धति निर्माणमा थोरबहुत भए पनि विद्वत् समाज, अभिभावक, भूगोल र समसामयिकताको अन्तक्र्रियात्मक सम्बन्ध हुन्छ । पद्धति सर्वस्वीकार्य बनाउन यसको फेसभ्यालुमा बढी जोड दिइएको हुन्छ । जो ठूलो हुन्छ, यसले पहिले बनिबनाउ पद्धतिमाथि आक्रमण गर्छ । यो अहिलेको नियति नै भएको छ, जुन गुणस्तरीय शिक्षाको नियम होइन । सहभागितात्मक व्यवस्थापन भन्यो, बाहिरिया थुपार्छ । विद्यालय शिक्षामा १–१२ भन्यो ११–१२ को छुट्टै व्यवस्थापन गर्छ । संकायको कुरा गर्छ । प्रअ भन्यो तल्लो तहको माथि नियुक्ति गर्छ, सोपान मिच्छ ।
नीति निर्माणमा सहभागितात्मक संस्कृतिको संकुचन : ऐन, नियम, नीति, पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण एउटा म नेता भनेर गजक्क परेर अगाडि बस्ने चार–पाँचजनाले मनगढन्ते दलिल पेस गरेर उल्लिखित विषयको निर्माण हुने काम नै गुणस्तरीय शिक्षाको जड शत्रु हो । जो पढ्छ ऊ कसरी पढ्न रमाउँछ वा उसले शिक्षण सिकाइमा के समस्या अनुभूत गरेको छ, सोधिएको छ ? जसले पढ्न पठाउँछ, उसलाई के कारणले उसका बालबालिका तीक्ष्ण वा लोसे भए सोधिएको छ रु जसले पढाउँछ, उसलाई प्रभावकारी पठनपाठनमा के–के अवरोध आए सोधिएको छ रु खै यता ध्यान पुर्याएको ?
शिक्षाको लगानीमा आत्मकेन्द्रित सोचाइ : न पद्धति, न प्राथमिकता, न अनुसन्धानबाट गरिने लगानी गुणस्तरीय शिक्षाका लागि सहयोग होइन, बाधक हो । शिक्षाको गुणस्तर पद्धतिबाट मात्र सम्भव छ । गुणस्तर भन्नेबित्तिकै इनपुट गुणस्तर, प्रक्रिया गुणस्तर र आउटपुट गुणस्तरको सुनिश्चितता हो । पद्धतिबाट लगानी गर्ने र त्यसको शैक्षिक प्रयोग पद्धतिबाटै मूल्यांकन गर्ने जबसम्म गरिँदैन, तबसम्म शिक्षाको लगानीले शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग गरेको वा बाधा हालेको थाहा पाइँदैन । हाम्रा भौतिक लगानीहरू, जस्तै– विद्यालय आइसिटी कार्यक्रम, विज्ञान प्रयोगशाला निर्माण, पुस्तकालय इनपुटका उदाहरण हुन् । प्रत्येक अवयवको बढावा त्यतिखेर शम्भव छ, जतिखेर ती इनपुटहरू र सिकाइ सहयोगबीच तादाम्य हेरिन्छ ।
गुणस्तरीय शिक्षाका आयाम : गुणस्तरीय सिकाइ गुणस्तरीय विद्यालय वातावरण, गुणस्तरीय विषयवस्तु, गुणस्तरीय शिक्षण सिकाइ र गुणस्तरीय उपलब्धिको संयोजनबाट मात्र सम्भव हुन्छ । यी सबै अवयवले राम्रोसँग काम गर्नका लागि शैक्षिक शासन पद्धति स्थापना पहिलो सर्त हो भने सिकाइ पद्धति, जसअन्तर्गत सिकाइका यावत् सिद्धान्तको भूमिका महत्वपूर्ण हुन्छ । हामीकहाँ शैक्षिक शासन पद्धति नभएकै भने होइन, यसलाई लत्याएर ठूलो मान्छे बन्ने र सिकारुले पर्याप्त स्रोत र साधनको उपयोग गर्न नपाउने चलन गुणस्तरीय शिक्षाको बाधक हो । सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सके मात्र शिक्षाको लगानी घट्छ । गरिबका लागि विद्यालय शिक्षा सुनिश्चित गर्ने उपाय पनि यही हो ।
(लुइँटेल बागमती प्रदेश सरकारको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ प्रमुख हुन्)