पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका– ८ चोहर्वामा बिहीबार दिउँसो ट्रकको ठक्करबाट बस पल्दिँदा बसमा सवार २६ यात्रु घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ख ४९८१ नम्बरको यात्रुबाहक बसलाई बिहीबार दिउँसो करिब १ बजेतिर सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०५००१ ख ००२९ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भई पछाडिबाट दिएकाे ठक्करले बस पल्टिँदा बसमा यात्रा गरिरहेका २६ जना घाइते भएका छन्।
घाइतेमध्ये १९ जनाको अवस्था सामान्य रहेकाले स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक राजु केसीका अनुसार दुर्घटनामा घाइते भएका मोरङका २१ वर्षीय संयोग ढकाल, नवलपुर गैँडाकोट ठेगाना रहेकी २९ वर्षीया सत्यवती पौडेल, झापा बुद्धशान्तिका ३४ वर्षीय सूर्य न्यौपाने, बिर्तामोडका ४० वर्षीय प्रेम खड्का र ५० वर्षीय रेणु खड्का सामान्य घाइते भए पनि आफ्नै घरपायकमा उपचार गराउने भनेपछि विरानगर रेफर गरिएको छ। दुर्घटनामा घाइते भएका धादिङका ६० वर्षीय शिवबहादुर थापा र ५५ वर्षीया श्याम खड्कालाई हेटौँडा रेफर गरिएको उनले बताए।