नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार भएका पल्टु राना क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार हुन् भने मदन दमाईं स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका छन् ।
कञ्चनपुरका दुई उम्मेदवारविरुद्धमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्यका एक–एक उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका पल्टु राना र मदन दमाईंविरुद्ध भ्रष्टाचार अभियोग मुद्दा दायर गरेको हो।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्कालीन अध्यक्ष पल्टु राना र बिचौलिया मदन दमाईंविरुद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट पल्टु राना क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार छन् भने मदन दमाईं स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका छन् । उम्मेदवारद्वय राना र दमाईंविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम बिगोसहित थप कैद सजायको मागदाबी गरेर विशेष आदालतमा मुद्दा दायर भएको छ ।
तत्कालिी अध्यक्ष रानालाई ३७ लाख ९२ हजार बिगोसहित कसुर तथा सजाय मागदाबी गरिएको छ भने बिचौलिया नै घोषित गरेर दमाईंलाई पनि ३७ लाख ४६ हजार आठ सय ८० रुपैयाँ बिगोसहित कसुर तथा सजाय मागदाबी गरिएको छ । राना र दमाईंविरुद्धभ्रष्टाचार निवार ऐन, २०५९ को दफा २४ बमोजिम ३७ लाखभन्दा बढी रुपैयाँँ बिगोसहित थप कैद सजायको मागदाबी गरेर विशेष आदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडाैंले केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा तीनजना अध्यक्षसहित ३७ जनाको नाममा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
चुनावी संघारमा भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर भएसँगै उनीलाई झट्का लागेको छ । नगर विकास समितिका तत्कालीन अध्यक्ष पल्टु रानाले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै कर्मचारीबाट आएको फाइलअनुरूप काम गरेको बताए । बिचौलियाको आरोपसमेत लागेका मदन दमाईंले चुनावको मुखमा बदनाम गर्ने मनसाय भएको बताए । ‘मैले त समितिको निर्णय गरेर जमिन किनेको हुँ,’ उनले भने, ‘कर्मचारी र समितिका पदाधिकारी जानून् ।’
उम्मेदवारद्वय राना र दमाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको उम्मेदवारीको विषयलाई लिएर नागरिक अन्याेलमा परेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय कञ्चनपुरका सहायक निर्वाचन अधिकृत ताराप्रसाद शर्माले कुनै उम्मेदवारविरुद्धमा भ्रष्टाचार वा अन्य मुद्दा लाग्दैमा उम्मेदवारी खारेजी नहुने बताए । ‘मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म उम्मेदवारी यथावत् रहन्छ,’ उनले भने, ‘दोषी प्रमाणित भए मात्रै उम्मेदवारी खारेजी हुन्छ ।’ उम्मेदवारद्वय राना र दमाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनीमाथि नागरिक एवं मतदाताले प्रश्न गरिरहेका छन् ।