दमारगाउँ हत्या प्रकरण : फेला परेका मोबाइल र चप्पल फरेन्सिक परीक्षणका लागि काठमाडौं पठाउने

बुधबार, २ कार्तिक, २०७९
डिजिटल संस्करण

दाङको तुलसीपुर– १३ दमारगाउँमा हत्या गरेर गाडिएको अवस्थामा फेला परेका दुई किशोर–किशोरीले प्रयोग गर्ने मोबाइल र चप्पल फेला पारिएको छ । तालिमप्राप्त कुकुरको सहयोगमा मंगलबार दिउँसो दुवैजनाले प्रयोग गर्ने मोबाइल र केटीको चप्पल फेला पारिएको थियो । फेला पारिएका मोबाइल र चप्पललाई फरेन्सिक ल्याब परीक्षणका लागि काठमाडौं पठाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । 

ती मोबाइल र चप्पललाई काठमाडौं पठाएपछि एक–दुई दिनमै रिपोर्ट आउने र त्यसपछि त्यसका आधारमा अनुसन्धान गर्न थप सहज हुने प्रहरीले बताएको छ। ‘काठमाडौंबाट फरेन्सिक ल्याब रिपोर्ट आउँछ,’ प्रहरीले भनेको छ, ‘त्यसपछि कल डिटेल पनि हेर्छौँ, त्यसबाट थप तथ्य फेला पर्छ ।’ यो घटनामा प्रहरीले अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको छ । 

उनीहरू दुवैजनाको शवलाई मंगलबार तुलसीपुर– १२ स्थित बबई घाटमा एकैसाथ अन्त्येष्टि गरिएको छ । दुवैका परिवारले एकै स्थानमा फरक–फरक चिता बनाएर अन्त्येष्टि गरेका हुन् । असोज ३० गते दिउँसो १२ बजेतिर दमारगाउँको एक सामुदायिक वनको चिरामा गाडिएको अवस्थामा दंगीशरण गाउँपालिका– ६ थपगाउँ निवासी १५ वर्षीय शरद आचार्य र तुलसीपुर– १३ डाँडागाउँ निवासी १५ वर्षीया रोशनी महताराको शव भेटिएको थियो । उक्त घटनामा शंकास्पद देखिएपछि हेटौँडा निवासी एक टिपरचालकलाई पक्राउ गरी अनुसन्धान जारी राखिएको हो ।

ती चालककै बयानका आधारमा सल्यानबाट उनकै साथीलाई पक्राउ गरिएको हो । चालकले हत्यामा संलग्न चारजना रहेको बयान दिएका छन् । तीमध्ये एकजना सल्यानबाट पक्राउ परे भने अन्य दुईजना अझै फरार छन् । सल्यानबाट पक्राउ परेका व्यक्तिले भने आफूले उनीहरूको हत्या नगरेको र अन्य साथीहरूले हत्या गरेपछि शव ओसारेर खाल्डोमा हाल्न सहयोग गरेको बयान दिएको प्रहरीले बताएको छ ।  
 

सुझावित समाचार