‘बिसिडी’ मोडल कार्यान्वयन गर्न प्रदीपले थाले छलफल

डिजिटल संस्करण

कांग्रेसका नेता प्रदीप पौडेलले आगामी निर्वाचनको प्रचार-प्रसारसहित विज्ञहरूसँगको छलफललाई तीव्रता दिएका छन्। 

काठमाडौं- ५ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेता पौडेलले असोज २३ गते उम्मेदवारी दर्ता गराएसँगै आफ्नो निर्वाचन क्षेत्रमा नयाँ योजनासहित प्रचारप्रसारलाई तीव्रता दिएका हुन्। 

निर्वाचन क्षेत्रको समग्र विकासका लागि शनिबार ‘बिसिडी’ मोडल सार्वजनिक गरेका उनले त्यसलाई कार्यान्वयन गर्न आइतबार विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेका हुन्। 

सो क्रममा नेता पौडेलले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. अरबिन्दकुमार मिश्र, राजनीतिक विश्लेषकद्वय पुरञ्जन आचार्य तथा गेजा शर्मा वाग्लेलगायतसँग भेटघाट र छलफल गरेका हुन्। 

डा. वाग्ले र पोखरेल नेपाली कांग्रेसको घोषणापत्र निर्माण समितिको सदस्यको रूपमा समेत काम गरिसकेका छन्। 

भेटघाटका क्रममा आफ्नो क्षेत्रको समग्र विकास र बिसिडी मोडलको कार्यान्वयनका विषयमा छलफल गरेका हुन्। नेता पौडेलले ‘बी’ अर्थात् ब्रेन ड्रेनका समस्या समाधान, ‘सी’ अर्थात् भ्रष्ट्राचार नियन्त्रण र ‘डी’ अर्थात् डेभलपमेन्ट (विकास) को कुरालाई मुख्य एजेन्डा बनाएका छन्।

आफ्नो निर्वाचन क्षेत्रबाट देशकै लागि विकासको नमुना निर्वाचन क्षेत्र बनाउने योजनासहित निर्वाचनमा होमिएका नेता पौडेलले आगामी निर्वाचनबाट काठमाडौंको विकासको मोडल कस्तो बनाउने भन्ने विषयमा छलफल गरेका हुन्। 

उक्त योजनालाई सुरुमा काठमाडौं– ५, त्यसपछि काठमाडौं र देसैभरि लागू गर्ने योजनामा रहेका छन् पौडेल। भेटघाटका क्रममा समग्र निर्वाचनको विषयमा समेत छलफल भएको थियो। नेता पौडेलले अघि सारेको बिसिडी मोडलका नयाँ विकास मोडल हुन सक्ने विज्ञहरूले सुझाब दिएका थिए।

सुझावित समाचार