अमेरिकामा करिब ४२ लाख भारतीय मूलका नागरिक छन्, जुन अमेरिकाको दोस्रो ठूलो आप्रवासी समुदाय हो
इन्डिया डे परेड महोत्सवमा मनमोहक झाँकीहरू देखिए । बलिउड अभिनेत्री विद्युतीय बग्गीबाट आफ्ना फ्यानलाई हात हल्लाएर अभिवादन गर्दै थिइन् । भारतका झन्डा हावाले फरफराइरहेका थिए । परेडमा विचित्रका विज्ञापनसहितका आकर्षक कार गुडिरहेका थिए । त्यसपछि, लस्करको बीचमा एउटा सानो पहेंलो बुल्डोजर देखियो, जसमा भारतका प्रधानमन्त्री र एक अर्का कट्टरपन्थी नेताको तस्बिर लगाइएको थियो ।
न्यु जर्सीको सानो सहरी बस्ती एडिसनमा गत महिना परेडका वेला देखिएको सो बुल्डोजर केही दर्शकका लागि विचित्र परिघटनाभन्दा बेसी लागेन । तर, प्रतीकको अर्थ बुझ्ने जोकोहीले पनि यो दृश्यलाई अमेरिकी उग्र–दक्षिणपन्थी श्वेत–सर्वाेच्चतावादी आतंककारी समूह कु क्लुक्स क्लान (केकेके)ले निकाल्ने ¥यालीमा जलिरहेको क्रसलगायत अन्य घृणाजन्य संकेतको प्रदर्शनले गराउनेजस्तै अपमानबोध गरायो । हिन्दुज फर ह्युमन राइट्सका सहसंस्थापकसमेत रहेका ५० वर्षीय दीपककुमार भारत बेलायतबाट स्वतन्त्र भएको ७५औँ वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिएको परेड हेर्न आएका थिए । उनले बुल्डोजरको दृश्य देख्दा ‘दिगमिग’ लागेको बताए ।
भारतमा विभाजनकारी हिन्दू राष्ट्रवाद बढ्दै गइरहेका वेला बुल्डोजर उत्पीडनको प्रतीक बन्न पुगेको छ । अर्थात् बुल्डोजरलाई मूलतः मुसलमान अल्पसंख्यकका निजी घर एवं व्यापारिक स्थल भत्काउने औजार बनाइएको छ । बुल्डोजर सानो सहर एडिसनमा प्रदर्शन गरिए पनि यो क्षेत्र अमेरिकाको सबैभन्दा ठूलोमध्येको भारतीय अमेरिकी बसोवास हो । यसबाट क्रुद्ध भारतीय आप्रवासीले आफ्नो मुलुकको सहिष्णुताको आदर्श खतरामा परेको देखेका छन् । यो दृश्यले बस्तीका हिन्दू र मुसलमान समुदायबीचको मिहिन फाटोलाई सतहमा ल्याइदिएको छ ।
भारतबाट बसाइँ सरेर एडिसनमा ४५ वर्षदेखि बसोवास गर्दै आएका क्यान्सर चिकित्सक मोहम्मद निसारले बुल्डोजरलाई त्यति नै अपमानजनक ठाने, जति अफ्रिकी अमेरिकनका लागि सफेद मुकुन्डो लगाएका केकेके वा यहुदीका निम्ति स्वस्तिक प्रतीकले अपमानबोध गराउँछ । ‘यहाँ पहिलेदेखि नै घृणा फैलाउने समूह छन्, थप चाहिँदैनन्,’ चिकित्सक निसार भन्छन् ।
भारतको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा परेड आयोजना गरेको इन्डियन बिजनेस एसोसिएसनले सुरुमा बुल्डोजरलाई कानुन एवं सुशासनको प्रतीकका रूपमा प्रदर्शन गरिएको बताएका थियो । स्मरण रहोस्, भारत सरकारले डोजरको विध्वंसलाई कानुन लागू गर्न गरिएको कार्य भनेर पुष्टि गर्ने गर्छ । तर, इन्डियन बिजनेस एसोसिएसनसँग नजोडिएका अन्य मानिसले बुल्डोजर घृणाको प्रतीक र प्रधानमन्त्री मोदीप्रति अत्यधिक भक्तिभाव भएको आरोप लगाएका थिए । ‘कसैलाई पनि हाम्रो प्रधानमन्त्रीलाई अनादर गर्ने अधिकार छैन,’ ३० वर्षदेखि एडिसनमा बसिरहेका विमल जोशी भन्छन् ।
तर, दुई हप्ता नपुग्दै एसोसिएसनका अगुवा चन्द्रकान्त पटेलले माफी मागे र एक चिठीमा बुल्डोजरलाई ‘विभाजनको नांगो’ प्रतीक भन्ने संज्ञासमेत दिए । त्यति मात्र नभई चिठीमा पटेलले आफ्नो समूहले ‘भारतीय अमेरिकीका अल्पसंख्यक विशेषतः मुसलमानलाई’ जानीजानी चोट पु¥याएको र आइन्दा यसो नगर्ने व्यहोरासमेत लेखेका थिए । थुप्रै मानिसलाई सो माफीपत्र धेरै ढिला र अपुग लाग्यो ।

मुसलमान नेताहरूले एडिसन प्रहरी कार्यालयमा माफीपत्र आउनुभन्दा पहिल्यै नै हिंसा भड्काउने र विभेद निम्त्याउने कार्य भएको भन्दै उजुरी गरिसकेका थिए । उजुरीलगत्तै सुरक्षा एवं न्यायिक निकायका प्रतिनिधिले समुदायका सदस्यसँग वार्ता गरेका थिए । एडिसनको इलाकीय परिषद् बैठक झन्डै तीन घन्टा चल्यो । त्यसैगरी अर्काे बैठक चार घन्टा चल्यो, जहाँ मानिस बुल्डोजरबारे बोल्न चाहिरहेका थिए । एक उच्च–माध्यमिक विद्यालयकी मुसलमान छात्राले समुदायमा बढ्दो धार्मिक द्वेष कक्षाकोठामा पुगेको प्रतिक्रिया दिइन् । समुदायका वरिष्ठ पादरी एवं मानवअधिकार समूहका सदस्यले अहिलेसम्म एडिसनमा यति गम्भीर विभाजन कहिल्यै नदेखेको बताएका थिए । परेड भएको केही दिनमा इन्डियन अमेरिकन मुस्लिम काउन्सिल, न्यु जर्सीका अध्यक्ष मिन्हाज एम खान (जसले बुल्डोजरविरुद्धको प्रदर्शनको अगुवाइ गरेका थिए) ले आफ्नो हिजाब पहिरिने छोरीका लागि आइसक्रिम खरिद गर्न पनि डर लागेको बताए । बुल्डोजर प्रकरणलाई लिएर अमेरिकी संसद्को एसिया प्यासिफिक ककस र काउन्सिल अन अमेरिकन इस्लामिक रिलेसन्सको न्यु जर्सी शाखाले पनि यसलाई ‘घृणा एवं विभाजनको प्रतीक’ भन्दै निन्दा गरेका थिए ।
न्यु जर्सीको ठूलो संख्यामा रहेका भारतीय मूलका अमेरिकी समुदायबीचको विभाजन भारतमा वर्षाैंदेखि बढ्दै गएको विभाजनको नतिजा हो, जहाँ भारतलाई हिन्दू गणतन्त्र बनाउन गरिने उग्रवादी अभियान र आन्दोलनलाई प्रोत्साहन मिलिरहेको छ । केही महिनाअगाडि साधु–महन्तसमेतले अल्पसंख्यक मुसलमानविरुद्ध हिंसा गर्न आह्वान गरेका थिए । भारतमा हिन्दू धर्ममा पवित्र मानिने गाईको वध गरेको आरोपमा भिडले मुसलमानलाई पिटेर हत्या गरेको घटना सामान्य हुने गरेको छ । बुल्डोजरले घर एवं सम्पत्ति भत्काइँदै छन्, जसलाई एम्नेस्टी इन्टरनेसनल र राष्ट्र संघले धार्मिक अल्पसंख्यकलाई प्रताडित गर्ने कामका रूपमा हेरेका छन् ।
उच्च माध्यमिक विद्यालयकी एक मुसलमान छात्राले समुदायमा बढ्दो धार्मिक द्वेष कक्षाकोठामा पुगेको प्रतिक्रिया दिइन् । समुदायका वरिष्ठ पादरी एवं मानव अधिकार समूहका एक सदस्यचाहिँ अहिलेसम्म एडिसनमा यति गम्भीर विभाजन नदेखेको बताउँछन् ।
सफ्टवेयर इन्जिनियर दीपक कुमार जब २७ वर्षका थिए, तब उनी भारत धार्मिक घृणाको आगोमा डढ्ला कि भनेर चिन्तित हुन्थे । अहिले अमेरिका पनि त्यस्तै हुनेमा चिन्तित छन् । त्यसैले उनी विभाजनविरुद्ध बोल्छन् । उनी आफूले बोलेकै कारण थुप्रै हिन्दू साथीबाट टाढिएको बताउँछन् । कार्नेगी इन्डाउमेन्ट फर इन्टरनेसनल पिस दक्षिण एसियाली कार्यक्रमका निर्देशक मिलन वैष्णव विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रको ७५औँ स्वतन्त्रता दिवसका दिन बुल्डोजरको प्रदर्शन गरिनु ‘डग ह्विसल’ अर्थात् द्वेषयुक्त राजनीतिको वक्रोक्ति भएको बताउँछन् । प्रदर्शनले भारतमा व्याप्त सामाजिक विभाजनलाई प्रवासीमाझ फैलाएको भन्दै उनले यसलाई ‘चेतावनीको संकेत’ भनेका छन् । अमेरिकामा करिब ४२ लाख भारतीय मूलका अमेरिकी नागरिक छन्, जुन अमेरिकाको दोस्रो ठूलो आप्रवासी समुदाय हो । प्रधानमन्त्री मोदीले भारतीय प्रवासीलाई आफ्नो पार्टी भारतीय जनता पार्टी (भाजपा)को विदेश नीतिका रूपमा महत्व दिएको छ । सन् २०१४मा म्याडिसन स्क्वायर गार्डन र सन् २०१९ मा हौस्टन फुटबल मैदानमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको मौजुदगीमा ठूलो संख्याको भारतीय मूलका मानिसलाई सम्बोधन गर्नुले पनि यही अर्थ दिन्छ । कार्नेगी इन्डाउमेन्टका अनुसार आधाभन्दा बढी भारतीय मूलका अमेरिकीले मोदीलाई मन पराउँछन् र त्यसमा पनि अधिकांश हिन्दू र पचास वर्ष नाघेका मानिस बढी छन् ।
म्यानहटनबाट करिब ३५ माइल दक्षिण–पश्चिम अवस्थित एडिसनका एक लाख ८० हजार बासिन्दामध्ये झन्डै आधा एसियाली हुन् । परेड एडिसनको ओक ट्री रोडमा आयोजना गरिएको थियो । यो क्षेत्रमा थुप्रै पसल एवं सांस्कृतिक खान्की भएका होटेल छन्, जसले मुख्य रूपमा दक्षिण एसियाली आप्रवासीलाई सेवा दिन्छ । एकातिर विस्फोटक ढंगले विवाद बाहिर आयो भने अर्काेतिर एडिसनका केही बासिन्दाले बुल्डोजर घटनाबारे सामाजिक सञ्जालका कारण थोरबहुत जानकारी मात्रै रहेको बताएका थिए ।
भारतबाट स्नातकोत्तर तहमा अध्ययन गर्न अमेरिका आएका ३४ वर्षीय सफ्टवेयर डेभलपर राजशेखर चेसुकुले मेयर र अन्य धेरै स्थानीयले भन्ने गरेकै राय व्यक्त गरेका थिए । उनले एडिसनमा कुनै पनि किसिमको स्पष्ट धार्मिक द्वन्द्व नदेखेको र आफू सुरक्षित रहेको प्रतिक्रिया दिएका थिए ।
यता ५४ वर्षीय डोमिनिक सिक्वेराले भारतभन्दा बढी अमेरिकामा समय बिताएका छन् । अल्पसंख्यक धर्म रोमन क्याथोलिकको रूपमा हुर्केका भारतीय मूलका सिक्वेराले आफ्नो चिनजान धेरै हिन्दूसँग भएको बताउँछन् । उनी बुल्डोजर प्रकरण र बुल्डोजरको प्रतीकको नियतबारे भारतीयले जानकारी थिएन भन्नु झुट बोलेको दाबी गर्छन् । दुई महिनाअघि मुसलमान अभियन्ता अफ्रिन फातिमाको घर बुल्डोजरले धुलिसात बनाउँदा घटनाबारे सारा विश्वले समाचारबाट थाहा पाएको थियो भन्दै सिक्वेरा आफ्नो दाबीलाई पुष्टि गर्छन् ।
फातिमाले अमेरिकामा बुल्डोजरको परेड अवास्तविक लागेको बताएकी थिइन् । उनले बुल्डोजरलाई उत्सवका रूपमा प्रस्तुत गरिँदा आफूले पराजित महसुस गरेको बताएकी थिइन् । ‘अमेरिकामा बुल्डोजर परेडपछि हिन्दू समुदायलाई भारतबाहिर पनि तिमीलाई समर्थन छ भन्ने स्पष्ट सन्देश पुगेको छ,’ फातिमा थप्छिन् । र, यिनै कारणले सिक्वेराले बुल्डोजर प्रकरणविरुद्ध बोल्ने निर्णय गरेका थिए । ‘मैले भारत छोड्दा हालको सरकार थिएन र हालको जस्तो उत्पीडन पनि थिएन । हामीले उत्पीडनका बारेमा कहिल्यै कुरै गरेनौँ,’ सिक्वेरा सम्झिन्छन् । ‘तर, अहिले पानी टाउकोमाथि पुगिसक्यो’ भन्दै सिक्वेरा आफू धार्मिक घृणाविरुद्ध मुखर भएको बताउँछिन् ।
टुली न्युयोर्क टाइम्सकी पत्रकार हुन् ।